नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न छिमेकी देशलाई ओलीको सुझाव

सरकारलाई सहयोग गरेर अघि बढ्न आग्रह

नारायण भण्डारी
Read Time = 10 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले छिमेकी देशलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ । शनिबारबादेखि काठमाडौंको नयाँ बानेश्वरमा एमालेका नवनिर्वाचित सांसदहरूका लागि गरिएको दुईदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको सरकार निर्माणको काममा हात नहाल्न आग्रह गर्नुभएको हो ।

उहाँले संगठित ढंगले नेपालमा अस्थिरतालाई अगाडि बढाइरहेका बेला असाधारण ढंगले त्यो कोर्सलाई परिवर्तन गरेको उल्लेख गर्नुभयो । ओलीले कुनै पनि छिमेकी देशको नाम नलिई नेपालमा जुन सरकार बन्छ त्यो सरकारलाई सहयोग गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । ‘सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हामी नेपालीले नेपालको सरकार बनाएका छौँ । नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँजो थियो । हामीले बनाएका छौँ सरकार । यो ज्यादै महत्वपूर्ण उपलब्धि हो र राष्ट्रिय रूपमा हामीले गरेको ज्यादै ठूलो प्रतिरोध हो ।

तपाईंहरूलाई थाहा छ अहिले पनि हाम्रा साथीहरू ढोकाबाट छिर्न नसकेर कम्पाउण्ड माथिबाट आएर यसरी सरकार बनाउन कहाँ पाइन्छ भनिरहेका छन् । मैले यो किन भनिरहेको छु भने हाम्रा छिमेकीहरूबाट हामी यस्तो खालको कुनै पनि क्रियाकलाप अपेक्षा गर्दैनौँ । हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउँछौँ तपाईंहरू जे सहयोग गर्न सक्नुहुन्छ गर्नुहोस् । तर, आन्तरिक मामिलामा हात हाल्ने चलाउने काम नगर्नुस् । हामी हाम्रा छिमेकीहरूलाई जुन सरकार बन्छ सहयोग गरेर काम गर्न आग्रह गर्छौँ । मित्रको हिसाबले चलौँ । सार्वभौम समानताको सिद्धान्तअनुसार चलौँ’, ओलीले भन्नुभयो ।

‘अहिलेको सरकारलाई सफल र प्रभावकारी बनाउनुपर्छ’
अध्यक्ष ओलीले वर्तमान सरकारलाई सफल र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले यो सरकारलाई असफल पार्ने प्रयासमा कांग्रेस लागिरहेको भन्दै पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशनसमेत दिनुभयो । ‘पुस २६ गते सबै साथीहरू कुनै इफ बट हुँदैन । भनेको समयमा संसद्मा एकमिनेट ढिला नगर्नुहोला’, ओलीको भनाइ छ । उहाँले सरकारलाई विश्वासको मत दिएर सफल पार्नुपर्ने भन्दै वर्तमान सरकार नेपालीले बनाएको बताउनुभयो । ‘सरकारलाई विश्वासको मत दिने काम गर्नुपर्छ । यो नेपालीहरूले बनाएको सरकार हो । यसलाई सफल सरकार बनाउन चाहन्छौँ हामी । यसले सही नीति लिओस्, भ्रष्टाचार नसहोस्, सक्रियतापूर्वक अघि बढोस् । हामी यो चाहन्छाँै । त्यसैले यसलाई बहुमत दिएर हामीले पुष्टि गर्नुपर्छ’, ओलीको भनाइ छ । उहाँले यो सरकारलाई पुस २६ अघि नै ढाल्न कांग्रेस लागिपरेको पनि बताउनुभयो ।

‘यो सरकार असफल पार्ने प्रयास बेस्सरी भएका छन् । कांग्रेस सभापति माननीय शेरबहादुर देउवाले उई वील कमब्याक भनिरहरनु भएको छ’, ओलीले थप भन्नुभयो, ‘संकेत उहाँले २६ गते नै ढाल्छौँ अनि आउँछौँ भनेको हो ।’ ओलीले कांग्रेसले खुद्रा खेल खेलिरहेको भन्दै एउटा पार्टीको अध्यक्षलाई बोलाएर प्रधानमन्त्री बाँड्ने काम गरिरहेको बताउनुभयो । उहाँले कांग्रेसले यो सरकारले विश्वासको मत पाएन भने संविधानको धारा ७६ को ३ अनुसार ठुलो दलको नेताले प्रधानमन्त्री पाउने भए पनि उनीहरूको धन्दा यो सरकार ढाल्न नै केन्द्रित हुने बताउनुभयो

‘नेकपा एसले अब जुरो हल्लाएर काम छैन’
एमाले अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भइरहेको टिप्पणी गर्नुभयो । ओलीले एमालेसँग छुट्टिएर गएका र आफूहरूलाई चुनावमा टर्च बालेर खोज्नुपर्छ भन्नेहरू राष्ट्रिय पार्टी पनि बन्न नसकेको भन्दै नयाँ समीकरणलाई साथ नदिएको भन्दै आलोचना गर्नुभएको थियो । ‘अब जुरो हल्लाएर काम छैन । त्यस कारण जुरो हल्लाउने, सिँगौरी खेल्ने होइन, सुरुसुरु देश र जनताको निम्ति काम गरौँ । हाम्रो आग्रह सबैसँग छ । देशका लागि काम गरौँ न । हिजो अस्ति नेकपा एस भन्नेको स्थायी कमिटी र पोलिटब्युरो बैठक बसेर नयाँ सरकार बन्ने परिवर्तन ठिक छ भन्नसमेत सकेको छैन,’ उहाँले भन्नुभयो ।

पार्टी एकताबारे ओलीको भनाइ थियो, ‘जसपासँग पनि पार्टी एकता गर्छु भनेको छ । एमाले र माओवादीसँग पनि एकता गर्छु भनेको छ । एमाले र जसपालाई एकै ठान्छ ।’ बरु नेमकिपाले एक सांसद हुँदा पनि आफ्नो अडान नछाड्ने पार्टी रहेको उहाँको तर्क थियो । तर, एकीकृत समाजवादीले स्पष्ट अडान नराखेको तथा कांग्रेसलाई समेत बोकिराखेको ओलीको टिप्पणी थियो । उहाँले चुनावपछि अहिले नयाँ परिस्थिति सिर्जना भएको बताउनुभयो । ‘अहिलेको स्थिति चुनावपछि जुन परिस्थिति आयो । नयाँ च्याप्टर सुरु भएको छ । मैले विश्वास लिएको छु हिजो कमी कमजोरी गरेका साथीहरूले पनि दोहो¥याउने छैनन् । माओवादीले कांग्रेस बोकेर के भयो । ३६ जितेको थियो १८ मा पुग्यो,’ उहाँले भन्नुभयो । ओलीले नेकपा विभाजन नभएको भए आमनिर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने दाबी गर्नुभयो । आफ्नो नेतृत्वको सरकारले असाधारण काम गरेको दाबी गर्दै पार्टी विभाजन नभएको भए दुईतिहाइ ल्याउने जिकिर गर्नुभयो ।

गलत दिशामा जान लागेको राजनीतिलाई हस्तक्षेप गरेर सही दिशामा ल्यायौँ : नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीति गलत दिशामा जान थालेका बेला समयमै हस्तक्षेप गरेर सही दिशामा ल्याउन सफल भएको बताउनुभएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टी बनेका बेला व्यक्तिवाद देखापरेको, पार्टीभित्र जटिलता देखापरेको, दक्षिणपन्थी अवसरवाद देखापरेको, निरंकुश प्रवृत्ति देखापरेको, सामूहिकताको भावना समाप्त भएको र आफूखुसी संविधानको व्याख्या गर्ने प्रवृत्ति पनि देखापरेको उल्लेख गर्नुभयो । उहाँले ती विषय कति ठिक छ कति बेठिक थियो त्यसको समीक्षा गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले नेपालको राजनीति गलत दिशामा जान थालेकोमा त्यसलाई सहि दिशामा लैजानका लागि समयमा हस्तक्षेप गरेको, ती प्रवृत्तिका विरुद्धमा आवाज बुलन्द गरेको र जनताको साथ पाएको बताउनभयो । आम नागरिक समाजको समर्थनमा पार्टीभित्रको गलत प्रवृत्तिमा अंकुश लागेको उल्लेख गर्नुभयो । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट खुसी रहेको बताउँदै अध्यक्ष नेपालले चुनावमा उठाएका उम्मेदवारमध्ये ५० प्रतिशतले सफलता हासिल गरेको बताउनुभयो । समानुपातिक तर्फबाट प्राप्त भएको मतमा एकीकृत समाजवादी सन्तुष्ट नभएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?