प्रतिनिधिसभाको पहिलो बैठक सुरु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डाैं । प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । मंसीर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो ।

बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु भएको भयो । राष्ट्रपति भण्डारीले पठाउनु भएको पत्र पढेर सुनाउँदै उहाँले भन्नु भयो, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत २०७९ साल पुस २५ गते सोमबारको दिन १३ः०० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’

त्यसैगरी राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ती र मन्त्रीपरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ ।

नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको छ । सबै दलका संसदीय दलका नेताहरुले दलीय प्रतिनिधित्वको आधारमा सम्बोधन गर्ने कार्यसूचि रहेको छ । एमालेसहितका राजनीतिक दलहरुको समर्थनमा प्रतिनिधिसभामा तेस्रो ठूलो दलको रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो भने पुस ११ गते ८ सदस्यीय मन्त्रीपरिषद गठन भएको थियो ।

प्रधानमन्त्री दाहालले भोली मंगलबार संसदमा विश्वासको मत लिनु हुनेछ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस भने प्रमुख प्रतिपक्षको रुपमा रहेको छ । प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा नेपाली काँग्रेसले दावी गरेपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेलगायतका दलहरुसँग गठबन्धन गरी आफ्नो नेतृत्वमा सरकार गठन गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?