मौरीपालनबाट लाखौँ आम्दानी

डम्मर बुढा मगर बागलुङ, संवाददाता

फाईल तस्बिर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । वि.स.२०४५ सालमा बागलुङको जैमिनी नगरपालिका-७ जैदि धुल्लुका मोहराज शर्माले तीन सय रुपैयाँ तिरेर काठमाडौंमा मौरीपालन तालिम लिँदा सोच्नु भएको थिएन मौलीपालनमै जिवन बित्छ भनेर । वैदेशिक रोजगारीमा पुगेर मनग्य पैसा कमाउने सोचेर काठमाडौं पुग्नुभएका शर्माले विदेश जाने सपना त पूरा भएन तर मनग्य आम्दानी गर्ने सपना भने पूरा भयो । वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौंमा बस्ने क्रममा मौरीपालन तालिम सिक्नुभएका शर्माले २५ वर्षदेखि गाउँमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

उहाँले मौरीपालन व्यवसायबाट वार्षिक १० लाख आम्दानी गर्दै आउनुभएको छ । मोहराज शर्माको नाम मौरीपालन व्यवसायकै कारण परिवर्तन भइसकेको छ अचेल । मोहराजलाई गाउँलेहरूले ‘महराज’ अर्थात् महको राजा भनेर बोलाउने गरेका छन् । मोहराजको घर र आगन मौरीका आधुनिक घारले ढपक्कै ढाकेको छ । झट्ट हेर्दा मौरीका घारको संग्रहालय देखिने मौरीका घरबाट मोहराज शर्माले वार्षिक १० लाख कमाउँदै आउनुभएको छ । मोहराज अहिले मौरीपालनबाट जिल्ला स्तरमा निकै चर्चितसमेत बन्नुभएको मात्रै छैन मौरीपालन किसानहरूको लागि अगुवासमेत बन्दै आउनुभएको छ ।

२०४५ सालमा मुढेघारबाट मौरीपालन गर्दै आउनुभएको मोहराज शर्माले २०५२ सालयता आधुनिक घारमा मौरीपालन गर्दै आउनुभएको छ । मोहराजको घरमा अहिले १५० मौरीका घार रहेका छन् भने बागलुङ बजारको क्याम्पस रोडमा ५० घार रहेका छन् । ‘मौरीपालनमै जीवन व्यतित गरियो अहिले ७० वर्ष काटियो, धेरैलाई मौरीपालनमा अग्रसर बनाइयो, अहिले धुल्लु र क्याम्पस गेटमा गरी २०० मौरीका घारमा मह उत्पादन भइरहेको छ, मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक १० लाख आम्दानी हुँदै आएको छ । शर्माले भन्नुभयो, ‘वार्षिक १० क्विन्टल मह बिक्री मह उत्पादन भइरहेको छ, राम्रो मौसम परे अझै धेरै उत्पादन हुन्छ, मह बिक्रीका लागि आफूले बजार व्यवस्थापन गर्नै पर्दैन, अहिलेसम्म मागअनुसार मह पुर्‍याउनै सकिएको छैन ।’

मौरीसहितको घारलाई नौ हजारमा बिक्री गरिँदै आएको शर्माको भनाइ छ । यहाँ प्रतिकिलो महको मूल्य एक हजार २०० पर्ने गर्छ । मह उत्पादनभन्दा पनि घारसहितको मौरी बिक्रीबाट बढी आम्दानी गर्न सकिने शर्माको अनुभव रहेको छ । ‘कहिले एक वर्षमा मौरीसहितका १०० घारसम्म बिक्री हुन्छ, अहिले त्यति राम्रोसँग घार बिक्री भइनसकेको छ, विभिन्न जिल्लामा अनुदानमा घारसहितको मौरी बिक्रीका लागि यहाँबाट कृषि ज्ञान केन्द्रले खरिद गरेर लैजान्छ । उहाँले भन्नुभयो, ‘आफ्नो घरमा उत्पादन भएको घारसहितको मौरी गुल्मी, स्याङ्जा, काठमाडांै, चितवन लगायतको स्थानमा बिक्री हुने गरेको छ, मह भने बागलुङ बजारमा बिक्री हुन्छ । राम्रो मौसम परेको बेला एउटा घारबाट एक पटकमा ७ देखि ८ केजी मह काढ्न सकिने बताउँदै शर्माले महको सिजन कात्तिक, मंसिर, फागुन र जेठमा राम्रो भएको जानकारी दिनुभयो ।

स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह केही घरबाटै र केही बागलुङ बजारबाट बिक्री हुने गरेको छ । बागलुङ बजारमा शर्माको बुहारी राधा र धुल्लुमा शर्मिलाले मौरीपालनमा सहयोग गरिराख्नु भएको छ । उत्पादन गरेको मह उपहारस्वरूप जापान, अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका मुलुकमा समेत पुग्ने गरेको उहाँको भनाइ छ । यहाँ रहेका विभिन्न वनस्पति र फलफूलका रसबाट बनेको अर्गानिक मह भएकाले धेरैले रुचाउने गरेको बुहारी शर्मिला शर्माले जानकारी दिनुभयो ।

विदेश जाने ध्याउन्नमा २०४५ सालमा काठमाडौं भौतारिनुभएका शर्माले तीन सय तिरेर मौरीपालन तालिम लिएर विदेश नजाने गरी घर फर्कनुभएको थियो । ‘विदेश जानका लागि २०४५ सालमा २०/२५ हजार सके सफल हुन नसक्दा अन्त्यमा निजी संस्थाले मौरीपालन तालिम सिकाएको पत्तो पाएपछि काठमाडौंमा तीन सयमा तालिम सिकेर घर फर्केपछि मौरीपालन थाले’ मह किसान शर्माले भन्नुभयो ।

धुल्लु गाउँमा मोहराजको मौरीपालन देखेर अन्य स्थानीयले समेत घरमै खानका लागि भए पनि मौरीपालन गर्न थालेका छन् । शर्माको मौरीपालनमा २५ लाख लगानी भइसकेको छ । शर्माले मौरीपालन व्यवसायको सुरक्षाका लागि घर वरपरको जग्गालाई पर्खालसहित तारबारसमेत गर्नुभएको छ । उहाँको मौरीपालन व्यवसाय बागलुङका अन्य मौरीपालन व्यवसायलाई समेत प्रेरणाको स्रोत बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?