अवैध तथा मापदण्ड विपरीतका क्रसर उद्योग बन्द

हिमालय टाइम्स
Read Time = 4 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । जिल्लामा सञ्चालित अवैध तथा मापदण्डविपरीतका क्रसर र बालुवा प्रशोधन उद्योगहरू बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले अवैध तथा मापदण्डविपरीतका उक्त उद्योगहरू बन्द गर्न निर्देशन दिएपछि जिल्लाका सबै त्यस्ता उद्योग बन्द भएका हुन् । बाँके जिल्लामा जम्मा २२ वटा क्रसर उद्योगहरू थिए ।

यसभन्दा अघि पाँचवटा बन्द अवस्थामा थिए भने पछि १७ वटा मापदण्ड नपुगेका क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालन भइरहेका थिए । अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको अगुवाइमा थप उद्योगहरू बन्द गरिएको हो । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएपछि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले प्रहरीलाई अवैध तथा मापदण्डविपरीतका उद्योगहरू बन्द गर्न निर्देशन दिनुभएको थियो । प्रजिअ खत्रीले जिल्लामा सञ्चालित अवैध तथा मापदण्डविपरीतका क्रसर बन्द गरिएको बताउनुभयो । उहाँका अनुसार गृहको पत्राचारपछि जिल्लामा रहेका उद्योगहरूको अनुगमन गरेर बन्द गरिएको हो ।

उहाँले भन्नुभयो, ‘एउटा सिडिओ कति ठाउँ भ्याउने । जता पनि जान सकिँदैन । जिल्लामा सञ्चालित अवैध तथा मापदण्डविपरीतका क्रसर बन्द गर्न मैले प्रहरीलाई निर्देशन दिएको थिएँ ।’ सोहीबमोजिम विकास निर्माणका काममा प्रयोग गरिएका बाहेक अन्य अवैध तथा मापदण्डविपरीतका क्रसर बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले बताउनुभएको छ । ‘जिल्लाका सबै क्रसर बन्द गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘सिडिओ सापको निर्देशनपछि हामीले अवैध तथा मापदण्डविपरीतका क्रसर र बालुवा प्रशोधन उद्योग बन्द गरेका हौँ ।’

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार मापदण्डविपरीतका क्रसर बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यता, क्रसर व्यवसायीहरूले यसको विरोध जनाएका छन् । राज्यले चाहेको बेला बन्द र खुला गर्ने नीतिले विकास निर्माणमा असहजता भएको उनीहरू बताउँछन् ।

नवीकरण छुटेकालाई नवीकरण गर्ने मौका दिनुपर्ने एकजना क्रसर व्यवसायीले बताउनुभयो । ‘पहिला उद्योग दर्ता गर्दा एक किलोमिटरको मापदण्ड थियो,’ उहाँले भन्नुभयो, ‘पछि सरकारले दुई किलोमिटर बनायो ।’ राज्यले क्रसर व्यवसायीको समस्यामा गम्भीर नभई एकलौटीरूपमा नीति बनाउँदा समस्या भएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?