काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको मूर्तिमा पुष्पगुच्छा गर्नुभयो । बुधबार राष्ट्रपतिले मुलुकको शासन/प्रशासन सञ्चालन हुने मुख्य कार्यालय सिंहदरबार पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा पुगेर पृथ्वीनारायण शाहलाई सम्झिइरहँदा सरकार प्रमुख पुष्पकमल दाहाल प्रचण्ड भने दलबलसहित एकीकरणका नायक शाहको जन्मथलो गोरखा पुग्नुभयो ।
गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलोपटक गोरखा जानुभएको हो । पृथ्वी जयन्तीको अवसरमा गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको गोरखा महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जानुभएको हो । महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पृथ्वीजयन्ती ऐतिहासिक र दूरगामी महत्वका दिन भएकाले क्याबिनेटबाट सार्वजनिक बिदा दिने निर्णय गरिएको बताउनुभयो । यसले सिंगो राष्ट्र र नेपाली जनतासँगै गोरखा र गोर्खाली जनताको पनि सम्मान भएको उहाँको भनाइ थियो । ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सांसद राजेन्द्र बजगाईं लगायतका नेताहरू पनि गोरखा पुग्नुभएको थियो ।
‘चुनावी प्रतिबद्धता पूरा गर्छु’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेतृत्व गरेको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिनुभएको छ । मंगलबार संसद्बाट ९९ प्रतिशत सांसदको विश्वास प्राप्त गर्नुभएका प्रधानमन्त्री प्रचण्डले पृथ्वीनारायण शाहको ३०१औँ जयन्तीका अवसरमा गोरखामा आयोजित महोत्सवको उद्घाटन गर्दै भन्नुभयो, ‘मैले यसपटक केही गर्नुछ भनेको छु । संसद्मा नेपाली कांग्रेससहित दलहरूले विश्वासको मत दिएपछि यसले राष्ट्रिय सहमतिको सरकारको स्वरूप लिएको छ । सबै मिलेर देश बनाउनुपर्छ भन्ने भावना व्यक्त भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले सिंगो सदनको विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले संसद्मा प्राप्त विश्वासले नेपाल राष्ट्रको नेपाली जनताको र गोर्खाली जनताको समेत सम्मान भएको जिकिरसमेत गर्नुभयो ।
गोरखाका जनताले दिएको मतले प्रधानमन्त्री बन्न सफल भएकोमा आभार व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘चुनावी प्रतिबद्धताअनुरूप जिल्लाको विकासका लागि प्रतिबद्ध छु । कृषिको आधुनिकीकरण, भौतिक पूर्वाधारको विकास, पर्यटन, कला संस्कृतिको संरक्षण, साना घरेलु उद्योगको प्रवद्र्धन र ठूला उद्योग निर्माण र बूढीगण्डकी जलविद्युत् आयोजना, बेनीघाट-आरुघाट-लार्के सडक, पालुङटार विमानस्थल लगायतका ठूला आयोजना अघि बढाउँदै रोजगारी सिर्जनामार्फत गोरखा जिल्लालाई सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने प्रतिबद्धता पूरा गर्न लागिपर्नेछु ।’
साझा प्रधानमन्त्रीको रूपमा ऐतिहासिक अवसर प्राप्त
प्रधानमन्त्री प्रचण्डले सबै राजनीतिक दलको साझा प्रधानमन्त्रीको रूपमा काम गर्ने ऐतिहासिक अवसर आफूलाई प्राप्त भएको बताउनुभयो । बुधबार गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा सुरु भएको गोरखा महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भन्नुभयो, ‘यो निकै ठूलो गर्वको कुरा पनि हो, निकै ठूलो चुनौतीको कुरा पनि हो । सबै राजनीतिक दलको सहमतिबाट प्रधानमन्त्रीको रूपमा विश्वासको मत प्राप्त गरेँ, खुसी र गर्व महसुस भयो, यो ऐतिहासिक अवसरलाई पूरा गर्न तपाईंहरूको साथमा हुनेछु ।’
प्रतिक्रियावादीको घेराबन्दी चिरेर सरकारको नेतृत्व गर्न सफल भएको दाबी
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूलाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा अधिकतम प्राथमिकता दिने दाबी गर्नुभएको छ । बुधबार काठमाडौंमा योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले युवाहरूलाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा उच्च प्राथमिकता दिने बताउनुभएको हो । उहाँले सरकार र नेकपा माओवादी केन्द्रलाई युवाहरूको धेरै मद्दत चाहिएको बताउनुभयो । प्रतिक्रियावादीहरूको घेराबन्दीलाई चिरेर सरकारको नेतृत्व गर्न पुगेको कारण यो सफलतालाई कम आँक्नु नहुने जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यतिबेला चाहिएको छ । सरकारलाई र पार्टी नेतृत्वलाई । तपाईंहरूको धेरै मद्दत चाहिएको छ । प्रतिक्रियावादीहरूका धेरै घेराबन्दीहरूलाई चिरेर यहाँ आइपुगियो । सजिलै आएको होइन । हामीले हिजो जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउँथ्यौँ अहिले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रिया भित्रबाट यो सफलता, पार्टी, आन्दोलन, नेपाल, नेपाली, हामी सबैलाई प्राप्त भएको हो । यसलाई हामी कसैले पनि कम आँक्नु हुँदैन ।’
‘हिजोसम्म चिन्ता थियो, अब ढुक्क भएँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएपछि ढुक्क भएको बताउनुभएको छ । बुधबार गोरखा महोत्सवको उद्घाटन गर्दै उहाँले आफूले सोचेजस्तै विश्वासको मत पाएको जिकिर गर्दै भन्नुभयो, ‘कतै राजनीतिक दलबीच विभाजन भयो, उनीहरूबीच प्रतिबद्धता र विश्वासमा एकरूपता आएन भने अप्ठ्यारो पो हुने हो कि भनेर हिजोसम्म मलाई अलिकति चिन्ता थियो ।’
अर्थतन्त्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महŒवपूर्ण हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेको गोरखा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको बताउनुभएको हो । प्रधानमन्त्री भएपछि क्याबिनेटको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायका बारेमा गम्भीर छलफल भएको जानकारी दिँदै उहाँले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताउनुभयो । आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभूति, सुशासन र समृद्धि हासिल गर्न सम्मानित संसद्मा समेत प्रतिबद्धता व्यक्त गरेको पनि प्रधानमन्त्रीले स्मरण गर्नुभयो ।
ऐतिहासिक यथार्थलाई कसैले नकार्न सक्दैन : डा.भट्टराई
पूर्व-प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पृथ्वीनारायण शाहले गरेको राज्य विस्तारले नै वर्तमान नेपाल बन्न पुगेको ऐतिहासिक यथार्थलाई कसैले नकार्न नसक्ने बताउनुभएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा डा.भट्टराईले पृथ्वीजयन्तीलाई राजनीतिक लात्ते भकुण्डो बनाउन नहुनेसमेत बताउनुभएको छ । बुधबार सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता भट्टराईले लेख्नुभएको छ, ‘बहुजातीय, बहुभाषिक राज्यमा एउटा जातिले उनको देवत्वकरण गर्ने र अरूले दानवीकरण गर्दा राष्ट्रिय एकता बलियो हुन्न ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच