पहिचानको सकसमा तेस्रो लिङ्गी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 10 mins

पाल्पा । पाइन्ट ज्याकेटको पहिरनमा झट्ट हेर्दा पुुरुष झै देखिने रेशम न्यौपानेलेलाई महिला हो भनेर कमैले चिनेका छन् । उहाँले आफ्नो वास्तविकता बताउँदै भन्नुभयो, ‘जन्मले म छोरी मान्छे तर म आत्माले पुरुष हुँ । मलाइ गर्व छ मेरो पहिचानमा ।’ उहाँको यो भनाइले कार्यक्रममा उपस्थित सबै अचम्ममा परे । ‘मैले समाजलाई आफ्नो पहिचानलाई प्रमाणित गर्ने प्रयासमा छु । छोरीबाट छोरा बन्ने मेरो रहर होइन । यो मेरो आत्माको पहिचान हो । जसको मुल्य चुकाउन उहाँले घर छाडनुपर्यो । आफन्तलाई छोडनुपर्याे । समाजमा आफ्नो पहिचानसहितको आत्मसम्मान पाउन गाह्रो छ । अनेक थरीका आरोप घृणा बीच हामी बाँच्नु पर्छ । कहिले सम्म ?,’

उहाँले यो प्रश्न गरिरहँदा उत्तर कोहीसँग थिएन । एक्लोलाई साहारा दिने वृक्ष समूह रुपन्देही र ओपन सोसाइटी फाउन्डेशनले तानसेनमा आयोजना गरेको स्थानीय सरकार र पत्रकारहरुसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै समूहकी लुम्बिनी प्रदेश संयोजक समेत रहनुुभएकी न्यौपानेले यस्तो बताउनुभएको हो । समूहका सदस्य तथा मानवअधिकारकर्मी विनोद बिसीले पनि भित्री मनले महिला बन्ने रहर दबाएर बस्नुु भएको छ । ‘सामाजिक बाध्यताले त्यो इच्छा दबाएरै बसें तर कतिन्जेल बस्ने ? हाल म विनोद बिसी भनेर चिनिन थालेको छु,।’ हेर्दा महिला जस्तो तर स्वभाव सबै पुुरुषको उहाँमा छ । सुरु सुरुमा त उहाँ खुलेरसम्म बोल्न सक्नुहुन्थेन । तेस्रोलिंगीहरूको हकहितमा काम गर्ने संघसंस्थाको सहयोग पाएपछि भने उहाँ अहिले खुल्न सहज भएको बताउनुहुन्छ ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक पहिचानका विषयमा बोल्दै काम गरेर पनि स्वतन्त्र रुपमा आफ्नो पहिचानसहित जीवन जिउन नपाएको तेस्रो लिगीहरुले गुनासो गरेका छन् ।यौनिक तथा लैङ्गिक अल्पसख्यांक समुदाय (तेस्रो लिङ्गी) का अगुवा अधिकारकर्मीहरूले समाजमा आत्मसम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने बताएका छन् । परिवार र समाजले गर्ने नकारात्मक व्यवहारका कारण तेस्रो लिङ्गीहरु अपमानित हुनु परेको भन्दैं उनीहरुले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने बताए ।

समूहका लुम्बिनी प्रदेश संयोजक रेशम न्यौपानेले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुको वर्तमान अवस्था, ऐन कानुन, चुनौती र समाधानका विषयमा जानकारी गराउदै समाजमा मर्यादित जीवन जिउन पाउनु सबैको अधिकार भएको बताउनुभयो । तेस्रो लिङ्गी समेत रहनुभएकी उहाँले आफ्नो समुदाय माथि हुने सबैखाले विभेद अन्त्य गरी सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

न्यौपानेले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका समस्या सम्बोधनमा तीनै तहका सरकार र राजनीतिक दल उदासीन भएको गुनासो गर्नुभयो । उहाँले आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिताको भएको बताउनुभयो । न्यौपानेले महिला, पुरुषसरह तेस्रो लिङ्गीलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गर्न तीनै तहका सरकारलाई आग्रह गर्नुभयो । नागरिकता लिन जाँदा ‘मेडिकल जाँच गरेर पहिचानसहितको रिपाेर्ट लिएर आउनु भनेर फर्काइने गरेको र अनावश्यक प्रश्नको सामना गर्नुपरेको गुनासो गर्नुभयो ।’ राजनीतिक दल र तीनै तहका सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका समस्यालाई सम्बोधन गरिदिन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

एक्लोलाई साहारा दिने वृक्ष समूहकी अध्यक्ष अस्मिता रानाले आफु तेस्रो लिङ्गी हुनुपर्दा भोगेका समस्याका बारेमा जानकारी गराउँदै यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू समुदाय घरपरिवार, विद्यालय, सार्वजनिक ठाउँलगायत सबै क्षेत्रमा अपमानित र विभेदको शिकार हुनुपरेको बताउनुभयो । तेस्रो लिङ्गीलाई ‘हिँजडा, छक्का’ जस्ता अपमानित शब्द प्रयोग गरी भावनामा चोट पुर्याउने र विभेद गर्ने गरिएको उहाँले गुनासो गर्नुभयो ।

अहिले रुपन्देहीमा एक्लोलाई साहारा दिने वृक्ष समूहमार्फ तेस्रो लिङ्गीहरुको व्यवस्था गरिदै आएको अध्यक्ष रानाले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी कसैको छोराको विवाह, व्रतवन्धन हुँदा सांस्कृतिक कार्यक्रम गछौं त्यहाँबाट पाइने दक्षिणाबाट हाम्रो जीवन चलेको छ ।’ सन्तान रुदाँ आमा बुबाको मन पनि रुनुपर्ने भन्दै अध्यक्ष रानाले भन्नुभयो ‘हाम्रो अभिभावक तथा बुबा आमा भनेकै स्थानीय सरकार हो, त्यसैले हामी स्थानीय सरकार भएको ठाउँमा रुँदै आएका हौं ।’ स्थानीय सरकारले बजेटमार्फत हाम्रो समस्या र सम्मानको सम्बोधन गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा समूहका सदस्य तथा मानवअधिकारकर्मी विनोद बिसीले स्थानीय तहले नीति कार्यक्रम बनाउँदा आफ्नो समुदायलाई समेट्न नसकेको गुनासो गर्नुभयो । तेस्रो लिङ्गी समेत रहनुभएको उहाँले नेपालमा समलिङ्गी विवाहलाई कानुनी मान्यता नहुँदा एक्लै जीवनयापन गर्नुपर्ने भएकाले यो समुदायका नागरिकमा मानसिक समस्यासमेत देखिने गरेको बताउनुभयो । ‘तेस्रो लिङ्गी पनि यही समाजका मान्छे हुन्,’ उहाँले भन्नुुभयो, ‘त्यसैले उनीहरूलाई तिरस्कार होइन आत्मसम्मानका साथ बाच्न दिनुपर्छ ।’ अधिकारकर्मी बिसीले आफूहरूले हरेक क्षेत्रमा अपमान र विभेद झेल्नुपरेको पीडा सुनाउँदै भन्नुभयो, ‘समाजमा अरूले जस्तै सम्मानजनक रूपमा बाँच्न पाउनुपर्दछ ।’स्थानीय तहले नीति कार्यक्रम बनाउँदा आफ्नो समुदायलाई समेट्न पनि उहाँले स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

तेस्रो लिङ्गी तथा अधिकारकर्मी अवन्ती घर्ती मगरले तेस्रो लिङ्गीहरु समाजमा अपमानित भएर बस्न नपरोस् र उनीहरु खुलेरै आफ्नो अधिकारका विषयमा बोल्न सकुन् भनेर नै सरोकारवाला निकायसँग छलफल र अन्तक्रिया गर्दै आइएको बताउनुभयो । उहाँले अझै पनि समाजमा तेस्रो लिङ्गीहरु खुलेर आउन नसकेको भन्दै उनीहरुलाई समाजमा सम्मानजनक रुपमा हेर्ने दृष्टिकोणको वातावरण सिर्जना गरिदिन स्थानीय सरकार र पत्रकारहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र उपप्रमुख प्रतिक्षा सिंजालीले तेस्रो लिङ्गीहरुको समस्याप्रति आफु अनविज्ञ रहेकाले छलफलबाट धेरै कुराहरु सिक्न पाइएको भन्दै आगामी दिनमा अल्पसंख्याहरुको लागि पनि स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँहरुले तेस्रो लिङ्गीहरुले खोजेको सम्मान र अपेक्षालाई सम्बोधन गर्ने दिशामा आफुहरु गम्भीर बन्ने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, तानसेन नगरपालिका १ का वडा अध्यक्ष सुनिल बस्याल, नेपाल परिवार नियोजन संघ पाल्पाका सहायक क्लिनिक लेखनाथ ढकाललगायतले तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?