पेरूमा एक महिनादेखि निरन्तर प्रदर्शन

Read Time = 3 mins

लिमा । एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरूमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकले बताएका छन् । पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका झडपमा एकजना प्रहरीसहित ४२ जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।

राष्ट्रव्यापी रूपमा भइरहेका विरोध प्रदर्शनका क्रममा भएका दोहोरो झडपमा ५३१ जना घाइते भएका तथा ३२९ जनालाई पक्राउ गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । गत मंसिर २१ गते वामपन्थी राष्ट्रपति कास्टिलोका महाभियोगसँगै गिरफ्तारीमा परेपछि उपराष्ट्रपति डिना बोलुअर्टेले राष्ट्रपतिका रूपमा शपथ लिनुभएको थियो । सोही दिनदेखि देशभर हिंसात्मक प्रदर्शन प्रारम्भ भएको हो ।
पूर्वराष्ट्रपति कास्टिलोका समर्थकहरूले बोलुअर्टेलाई राजीनामा तथा आफ्ना नेताको रिहाइसँगै आम निर्वाचनको घोषणा हुनुपर्ने माग गरेका छन् । आफू राष्ट्रपति बनेको एक सातापछि देशमा भड्किएको हिंसा रोक्ने प्रयासस्वरूप एक महिनासम्म देशमा आपत्काल लागू गरिएको घोषणा गर्नुभयो तर आन्दोलन मत्थर भएन ।

आन्दोलनबाट सबैभन्दा बढी प्रभावित क्षेत्र अयाकुचोमा राजनीतिक प्रभाव भएको अयाकुचो पिपल्स डिफेन्स फ्रन्टका अध्यक्ष रोसियो लिआन्ड्रो मेलगरलाई पक्राउ गरिएपछि हिंसात्मक गतिविधि बढेका छन् । हिंसा भड्किन नदिन सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने त्यसको अनुसन्धान पनि भइरहेको महान्यायाधीवक्ताको कार्यालयले बताएको छ । उक्त कार्यालयले मानव हताहतीका जिम्मेवारी निर्धारण गर्न आठ वटा शिराबाट अनुसन्धान सुरु गरेको जनाएको छ ।

यसैबीच, राष्ट्रपति बोलुअर्टेले पदबाट राजीनामा नगर्ने बताउनुभएको छ । राज्य सञ्चालित टेलिभिजन प्रसारणमा शुक्रबार उहाँले देशका निम्ति आफ्नो दायित्व भएकाले राजीनामा नगर्ने दृढता व्यक्त गर्नुभयो । देशमा बढिरहेका हिंसात्मक गतिविधिप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । देशको पछिल्लो स्थिति तथा आन्दोलनकारीले एक जना प्रहरी अधिकारीलाई ज्युँदै जलाएर मारेका राष्ट्रपतिले पेरूका जनतासँग क्षमा याचना पनि गर्नुभएको छ । सिन्हृवा/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?