आज थारू समुदायको नयाँबर्ष माघी हर्षोल्लासका साथ मनाइँदै

Read Time = 11 mins

दाङ । थारू समुदायका मानिसले आज माघ १ गतेलाई नयाँ वर्षका अमा धुमधामका साथ माघी पर्व मनाउँदै छन् । यस अवसरमा थारू समुदायका मानिसले स्नान, दान, एवं खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ ।

यसलाई थारू समुदायका युवाहरूले उन्मुक्ति दिवसका रूपमा पनि लिने गरेका छन । विसं २०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो । यो कार्य वर्जति भएसँगै यस पर्वलाई थारू युवाहरूले उन्मुक्तिको पर्व भनेर अथ्र्याएका हुन् ।

माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिएको पत्रकार लक्ष्मीमान चौधरीले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । उहाँ भन्नु हुन्छ, ‘यस अवसरमा आफूभन्दा ठूलासँग आशीर्वादलिई सानालाई आशीर्वाद दिने गरिन्छ, बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारू समुदायमा छ ।’ बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरू चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवस श्राद्ध कर्म रोकिएकाहरूले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता पनि यस समसुदायमा छ ।

गाउँका मुखिया, महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि अगुवा छनोट गर्छन् । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ ।

तिलले स्नान गनु’, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मतसमेत छ । विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई तराई क्षेत्रमा खिचडी भन्ने चलन पनि छ । थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइँका लागि माघीका समयमा साइत हेर्न नपर्ने विश्वास पनि थारू समुदायमा छ ।

बस्तीमा माघीको रौनक
थारू समुदायको बाहुल्यता रहेका दाङका विभिन्न बस्तीमा माघीको रौनक वढेको छ । थारू समुदायको ठूलो पर्व तथा नयाँ वर्षका रूपमा रहेको माघे संक्रान्तिको अवसरमा दाङका विभिन्न स्थानमा विभिन्न कार्यक्रम भइरहेका छन् । माघी पर्वमा कामको सिलसिला तथा पढाइका लागि घरबाहिर रहेकाहरूसमेत घर फर्किएका छन् । जसले गर्दा अहिले थारूका बस्ती–बस्तीमा माघीको रौनकता बढेको छ । माघीकै लागि थारू समुदायमा घरहरू लिपपोत गरी सिंगारिएका छन् । थारू समुदायमा माघी पर्वमा बुंगुर र सुँगुरको मासु, जाँडको झोल र ढिक्री अनिवार्यजस्तै हुन्छ । त्यसका लागि माघीको अघिल्लो दिन बुंगुर काट्ने, ढिक्री बनाउनका लागि पिठो तयार गर्ने, तरुल लगायतका वस्तुहरू जुटाउने गरिन्छ । थारू समुदायले नयाँ वर्षका रूपमासमेत लिने माघीमा घरदेखि टाढा रहेका घरमा भेला हुने र खुसीयालीका साथ माघे संक्रान्ति पर्व मनाउने प्रचलन छ । माघी पर्वलाई पहिले–पहिले पाँच दिनसम्म मनाउने गरिए पनि पछिल्लो समय पर्व छोटिँदै गएको छ ।

‘महतवा’ परिवर्तन
थारू समुदायले नयाँ वर्षका रूपमा रहेको माघीमा गाउँको अगुवा (महतवा)समेत परिवर्तन गर्ने गर्दछन् । पत्रकार लक्ष्मीमान चौधरीका अनुसार ‘माघीको दिन घरमा सबैजना भेला भएर मीठो परिकारसँगै सुख दुःखका कुरा गर्ने, परिवारलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर आयआर्जनका लागि योजना बनाउने गरिन्छ,’ चौधरीले भन्नुभयो, ‘घरको योजना बनाइसकेपछि दिउँसो महतवाका घरमा सम्पूर्ण गाउँले भेला हुने र विगतको समिक्षा गर्दै नयाँ योजना बनाउने प्रचलन छ ।’ उक्त भेलाले थारू समुदायको गाउँलाई सञ्चालन गर्नका लागि पुराना महतवाले काम गर्न नसके नयाँ महतवासमेत चयन गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार माघीका दिन थारू बस्तीहरूमा नयाँ महतवा चयन गर्ने प्रचलन रहेको छ । महतवाले गाउँमा रहेको भूर्या र थानमा पूजाआज गर्ने, गाउँमा सिँचाइका लागि बनाइएका कुला नालाको रेखदेख गर्ने, गाउँमा हुने झै झगडा मिलाउनेदेखि गाउँमा भइपरी आउने समस्या समाधानका लागि काम गर्नुपर्ने चौधरी बताउँछन् ।

फेरिँदै माघी संस्कृति
आधुनिकतासँगै माघी फेरिँदै गएको छ । आधुनिकताले थारू समुदायको संस्कृतिमासमेत परिवर्तन ल्याएको छ । दासता उन्मुक्तिको पर्व अहिले अधिकारको पर्वका रूपमा रूपान्तरित हुँदै आएको स्थानीय वीरवहादुर चौधरी बताउनुहुन्छ । ‘समयसापेक्ष थारू संस्कृति परिमार्जित भएको हो, तर सांस्कृतिक विशेषता भने सकेसम्म जोगाउन खोजिरहेका छौं’, उहाँले भन्नुभयोे, ‘तर संस्कृतिको पहिचान तल्लो पुस्तामा जस्ताको तस्तै हस्तान्तरणमा समस्या देखिएको छ ।’ थारूको मौलिक संस्कृति परिवर्तन हुँदै गएको छ ।

यद्यपि, पछिल्लो समय थारूहरूले उठाएका मुद्दालाई पनि राज्यले क्रमिक रूपमा सम्बोधन गर्नेतर्फ उन्मुख देखिएको छ । ‘त्यसैको फलस्वरूप कमैया मुक्ति आन्दोलनले एउटा समस्याको समाधान भएको छ, कमलरीहरूले मुक्ति पाएका छन्, त्यसैले माघीलाई पछिल्लो दशकदेखि मुक्ति पर्वका रूपमा मनाइँदै आएको छ’, वीरबहादुर भन्नु हुन्छ, ‘अहिले मुक्त भएका कमैया-कमलरीहरूले माघीलाई हर्षको पर्वका रूपमा मनाउने गर्दछन् ।’

विभिन्न स्थानमा मेला
माघे संक्रान्तिको अबसर दाङका विभिन्न स्थानमा मेला लाग्न गर्छ । आज थारू समुदायको भूमिको रूपमा परिचित दाङमा माघे संक्रान्तिको अबसरमा विभिन्न स्थानमा मेला लाग्ने गर्छ । खासगरी घोराही उपमहानगरपालिका १३ स्थित बाह्रकुने दह, सतबरिया स्थित रिहारलगायतका स्थानमा भव्य मेला लाग्ने गर्छ । जिल्लाको पर्यटकीय र धार्मिक क्षेत्रको विकास गर्ने उद्देश्यका साथ माघे संक्रान्तिको अवसरमा बाह्रकुने दहमा बृहत् मेलाको समेत आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गिरबहादुर घर्तीले जानकारी दिनुभयो ।
प्रत्येक बर्ष जस्तै यस वर्ष बाह्रकुनेमा विविध सांस्कृतिक कार्यक्रम, भक्तजनका लागि ढुंगाको व्यवस्था, बालबालिकाका लागि बाल उद्यान, काठको चर्खे पीङको व्यवस्थापन गरिएको घर्तीले जानकारी गराउनुभयो । मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनका लागि लाइनको व्यवस्थापनसमेत मिलाइएको छ । मेलाको सुरक्षाका लागि प्रहरी र स्वययम सेवक परिचालित छन ।

प्रदेशमा एक दिन र स्थानीयमा दुई दिन सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा माघे संक्रान्तिका लागि एक दिन सार्वजनिक बिदा भएको छ । भने घोराही उपमहानरपालिकाले दुई दिन सार्वनिक बिदा दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?