एपीएफको लगातार दोस्रो जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । एपीएफले आइतबार बागमतीमाथि ५३ रनको जित हात पार्‍यो । एपीएफले दिएको १३७ रनको लक्ष्य पछ्याएको बागमती २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो । बागमतीका लागि ओपनर हेलिशा गुरुङले २२, सोनी पाख्रिनले १३, कन्चन श्रेष्ठले ११ रन बनाउनुभयो ।

एपीएफका लागि निशा भट्टले ३ तथा कप्तान सिता राना मगरले ३ विकेट लिनुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ४ विकेटको क्षतिमा १३६ रन बनाउनुभयो । पहिलो विकेटका लागि ज्योती पाण्डे तथा कप्तान सिताराना मगरले ५४ रनको साझेदारी गर्नुभयो । कप्तान रानामगरले २९ बलमा ३६ र पाण्डेले १५ रन बनाउनुभयो ।

इन्दु बर्माले २७ बलले ३८ रन बनाउककंदा नेरी थापा १९ रनमा अविजित रहनुभयो । बागमतीका लागि अस्मिना कर्माचार्य,मनिशा उपाध्याय,खुसी डंगोल र सोनी पाख्रिनले समान १/१ विकेट लिनुभयो । दोस्रो खेलमा दोस्रो जित हात पारेको एपीएफ चार अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । बागमती प्रदेश दुई खेल खेल्दै अंकविहिन रहँदै समूह ‘ए’ को पुछारमा रहेको छ ।

यस्तै मधेश प्रदेशले कर्णाली प्रदेशमाथि ८ विकेटको जित निकालेको छ । कर्णालीले दिएको ८० रनको लक्ष्य मधेशले १०.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । मधेशको जितमा ओपनर अनुराधा चौधरीले ३५ बलमा अविजित ३८ रन बनाउनुभयो । त्यसबाहेक प्रतिमा शाहले १८, कर्णालीले २२ रन बनाउनुभयो । कर्णालीका लागि बिना थापाले २ विकेट लिनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएको थियो । २३ रनमा पहिलो विकेट गुमाएको कर्णालीले बाँकी ५ विकेट गुमाएर ५६ रन जोड्न सक्यो । कर्णालीका लागि तिर्सना विश्वकर्मा १५ रन बनाउँदा अन्जु गुरुङले अविजित १३ रन बनाउनुभयो । किरन कुँवर १३ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सक्नुभएन । मधेश प्रदेशका लागि भुमी सिंहले ४ तथा अमिरान निशाले २ विकेट लिनुभयो ।

दोस्रो खेलमा पहिलो जित हात पारेको मधेश दुई अंकका साथ समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ । कर्णाली प्रदेश दुई खेल खेल्दै अंकविहिन रहदै समूह ‘बी’ को पुछारमा रहेको छ ।

नेपाल क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०÷२० हजार पाउनेछन् । पुस २९ बाट सुरु भएको यस प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ ।

यस प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गराईएको छ । दुई समूहका विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?