बुटवल पावरको लाभांश पारित

Read Time = 4 mins

काठमाडौं । बुटवल पावर कम्पनीको ३०औँ वार्षिक साधारणसभा शनिबार सञ्चालक समिति अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई आव २०७८/०७९ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको ७.५ प्रतिशत नगद लाभांश वितरण तथा पाँच प्रतिशत बोनस सेयर जारी गर्नेलगायत सञ्चालक समितिवाट पेश भएका सबै प्रस्ताव पारित गरेको छ ।

बोनस सेयरसँगै कम्पनीको चुक्ता पुँजी तीन अर्ब ४० करोड ९० लाख ६४ हजार छ सय रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले निर्माण गरेको ९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् केन्द्र नियमितरूपमा सञ्चालन भइरहेका छन् । साथै सहायक तथा सम्बद्ध कम्पनीमार्फत् सञ्चालित चार मेगावाट खुदी जलविद्युत् केन्द्र र ६० मेगावाट खिम्ती प्रथम जलविद्युत् केन्द्र पनि सञ्चालन हुँदै आएका छन् । खिम्ती प्रथम जलविद्युत् केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखि नेपाल विद्युत् प्राधिकरणमा गएको छ । लमजुङस्थित ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ वैशाख २७ देखि सञ्चालनमा आएको छ ।

प्राधिकरणबाट निर्माण हुनुपर्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएका कारण आयोजनाले वैकल्पिक प्रसारण लाइन निर्माण गरी विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । तर, प्राधिकरणले वर्षायाममा सबै विद्युत् नलिएका कारण आयोजनालाई मर्का परेको कम्पनीले जनाएको छ । ३७.६ मेगावाट काबेली ‘ए’ जलविद्युत् आयोजनाको स्थानीयरूपमा वित्तीय लगानी जुटाएर निर्माण कार्य पुनः सुचारु गर्ने तयारी भइरहेको छ । तीन चिनियाँ लगानीकर्तासँगको संयुक्त लगानीमा मस्र्याङ्दी नदीमा निर्माणको चरणमा रहेका आयोजनामा १३५ मेगावाटको मनाङ मस्र्याङ्दी, १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी र ३२७ मेगावाट माथिल्लो मस्र्याङ्दी दोस्रो जलविद्युत आयोजना क्यासकेड अर्धजलाशययुक्त अवधारणामा कुल जम्मा ६०१ मेगावाट अघि बढाउनेक्रममा रहेका छन् ।

कम्पनीका अनुसार मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको निर्माण कार्य चालु आवभित्रै सुरु हुनेछ भने ७.९ मेगावाटको चिनोखोला जलविद्युत् आयोजना पनि निर्माणको तयारीमा रहेको छ । १६० मेगावाट मुगु कर्णाली जलविद्युत् आयोजना र सात मेगावाट झिमरुक सौर्य आयोजना पनि सम्भाव्यता अध्ययनका क्रममा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?