अनुदानको चुलो नौ महिनादेखि बेवारिसे

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाका बासिन्दालाई निःशुल्क उपलब्ध गराउने भनिएको सुधारिएको चुलो नौ महिनादेखि बेवारिसे बनेका छन् । छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै ३५७ वटा सुधारिएको चुलो नौ महिनादेखि बेवारिसे छोडिएका छन् । गत वैशाख महिना सल्लिसल्लाबाट खच्चर ढुवानी गरी खार्पुनाथ गाउँपालिका नल्ला पुल नजिकै ल्याएर अहिलेसम्म बेवारिसे छोडिएको पाइएको छ । नौ महिना पहिले ल्याएर छोडिएको सुधारिएको चुलो अहिलेसम्म बेवारिसेरूपमा छोडिएको खार्पुनाथ गाउँपालिका कार्यपालिकाकी सदस्य जसमती शाहीले जानकारी दिनुभयो ।

२४० थान ट्याक्टरबाट सदरमुकाम सिमकोटमा लगिएको छ भने ११७ खार्पुनाथमै बेवारिसे छोडिएको छ । ट्याक्टरबाट सिमकोट पु¥याइएको भाडा नदिएपछि २४० चुला ट्याक्टर मालिक कुल रावतको घरमा थन्किएको बताइएको छ । आफ्नो घरमा सुरक्षित राख्दाको घरभाडा नपाएको रावलले गुनासो गर्नुभयो । चुलामा ‘नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा लक्षित वर्गमा वितरण भनी लेखिएको छ । सिमकोट गाउँपालिकाको कुन वडाले खरिद गरेको पहिचानसमेत हुन सकेको छैन ।
बेवारिसे छोडिएका चुलोमा घामपानीका कारण खिया लागेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक रणबहादुुर थापाले गत आर्थिक वर्ष ०७७/७८ मा सिमकोट गाउँपालिकाका लागि छनोट भएका घरधुरीका लागि टेन्डर प्रक्रियाद्वारा छनोट गरी ती चुलो खरिद गरिएको बताउनुभयो । सिमकोटसम्म पुर्‍याउने जिम्मा लिएको कम्पनीले लक्षित वर्गलाई वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिचुलोको मूल्य साढे आठ हजार
सिमकोट गाउँपालिकामा खरिद गरिएको सुधारिएको चुलोको प्रतिचुलो मूल्य साढे आठ हजार पाइएको छ । प्रतिचुलो आठ हजार पाँच सयका दरले एक हजार ११६ घरधुरीका लागि वितरणको जिम्मा गाल्भा निर्माण सेवासँग सम्झौता गरिएको तथ्य फेला परेको छ । तर, ७५९ चुलोको अत्तोपत्तो छैन । ९४ लाख ९४ हजार पाँच सय रुपैयाँ लगानीमा खरिद गरिएको सुधारिएको चुलो अलपत्र अवस्थामा छन् । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सोबारे सुरुमा आफूलाई केही पनि थाहा नभएको र धेरैले जिज्ञासा राख्न आएपछि फाइल खोज्नेक्रममा ती चुलो वितरण कार्य सम्पन्न भइसकेको थाहा पाएको बताउनुभयो ।

दुई वर्षअघि नै पाइसक्नुपर्ने चुलो अझैसम्म कसैले पनि नपाएको देखिएको अध्यक्ष भण्डारीले बताउनुभयो । खरिद तथा ढुवानीको जिम्मा पाएको गाल्भा निर्माण सेवाका प्रतिनिधि कृष्ण केसीका अनुसार भौगोलिक विकटता र हिमपातका कारण सबै चुलो हुम्लामा पु¥याउन नसकिएको हो । अब यसको छानबिन सुरु गर्ने सिमकोट गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?