घटना सानो प्रभाव ठूलो : प्रचण्ड गोरखा

Read Time = 15 mins

✍️ प्रा.डा. तीर्थप्रसाद मिश्र

संसारको इतिहास हेर्ने हो भने ससाना घटनाले पनि शासकहरूको नीति र कारबाहीका कारण दीर्घकालीन प्रभाव परेका दृष्टान्त पाइन्छन् । शासकहरूले आफ्नाविरोधी आवाज दबाउन झिँगा मार्न तोपको प्रयोग गर्दा कालन्तरमा उनीहरूकै लागि प्रत्युत्पादक भएका घटना नेपालको इतिहासका विभिन्न कालखण्डमा पाइन्छन् । यस्तै सामान्य घटनालाई शासकले ठूलो महत्व दिई कडा सजाय दिँदा शासकविरुद्ध जागरण ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका घटनामध्ये एक हो, प्रचण्ड गोरखा काण्ड । सोही प्रचण्ड गोरखा काण्डका विषयमा चर्चा गर्ने उद्देश्यले यो लेखोट तयार पारिएको छ ।

जंगबहादुर कुँवरले आफ्नो जालझेल, बुद्धि चतुर्‍याइँ तथा तत्कालीन राज्यशक्तिको कमजोरीबाट फाइदा उठाई एकतन्त्रीय जहानियाँ राणा शासनको श्री गणेश गरे । तर, जहानियाँ शासनका विरुद्धमा जंगबहादुरकै समयदेखि विरोधका गतिविधि देखापरे । तथापि ती विरोध निर्ममतापूर्वक दबाइए । सम्वत् १८५१ मा उपेन्द्रविकम शाह तथा स्वयं जंगबहादुरका भाइ बद्रीनरसिंहलगायतले जंगबहादुरविरुद्ध गोप्य चाल चले । यसैगरी नरेन्द्रविक्रम तथा संग्रामसुर विष्टले पनि जंगबहादुरलाई सिध्याउने योजना बनाए तर दुवैको प्रयास असफल भयो । उनीहरू दण्डित भए । सामाजिक सुधारका अभियन्ता आर्य समाजी माधवराज जोशी तथा तुलसीमेहर जस्ताले पनि चन्द्रशमशेरको कोपभाजनको सिकार बन्नुपर्‍यो ।

राणाहरूले जस्तोसुकै दमनकारी नीति अख्तियार गरे पनि जहानियाँ शासनविरुद्ध भुसमा आगोजस्तै भित्रभित्रै सल्किँदै गयो । यसै पृष्ठभूमिमा श्री ३ भीमशमशेरको राज्यकालमा प्रचण्ड गोर्खाको भूमिगत गोप्य कुराकानीले राणा शासकलाई नराम्ररी नै हल्लायो । सुरुमा भारदारहरूले शक्ति प्राप्त गर्ने उद्देश्यले असंगठित आन्दोलन गरे । यसमा जनसाधारणको सरोकार र सहभागिता दुवै थिएन । राणाहरूको गुप्तचर व्यवस्थाका कारण सानोतिनो कोठे गफसमेत श्री ३ माझ जाहेर हुन सक्ने संयन्त्र तयार थियो । श्री ३ भीमशमशेरको राज्यकालमा भने प्रचण्ड गोरखा काण्डले राणाशाहीलाई राम्ररी झस्कायो । यस काण्डमा तिललाई पहाड बनाई यसमा संलग्न भनिएकालाई कठोर सजाय पनि दिइयो ।

भीमशमशेरको शासनकालमा केही नवयुवक राणाशाही समाप्त गर्न क्रान्तिकारी कदम परिचालन गर्ने विषयमा गोप्य छलफल तथा विचारविमर्श गर्न थालेका थिए । राणा शासनबाट अघाएका एवं सताइएका केही नवयुवकहरूले जहानियाँ शासन समाप्त गर्ने विषयमा गोप्य रूपमा कार्ययोजना बनाउन थाले । यसको नेतृत्व कप्तान खण्डमान सिंहले गरेका थिए । यसका अन्य मतियारहरूमा मैनाबहादुर, खड्गमानसिंह बस्नेत, रंगनाथ शर्मा, उमेशविक्रम शाह तथा चन्द्रविक्रम शाह थिए । मैनबहादुर हिन्दुस्तानतिर घुमफिर गर्दै केही समय उतै बसोबास गरेका हुनाले भारतमा भएको अंग्रेज विरोधी कार्यकलापका जानकार थिए ।

भीमशमशेरको शासनकालमा केही नवयुवक राणाशाही समाप्त गर्न क्रान्तिकारी कदम परिचालन गर्ने विषयमा गोप्य छलफल तथा विचारविमर्श गर्न थालेका थिए । राणा शासनबाट अघाएका एवं सताइएका केही नवयुवकहरूले जहानियाँ शासन समाप्त गर्ने विषयमा गोप्य रूपमा कार्ययोजना बनाउन थाले ।

उनी बंगभंग आन्दोलनबाट प्रभावित थिए । प्रथम चरणको कुराकानी मैनबहादुर र खड्गमान सिंहबीच भएको थियो । खण्डमान सिंह र खड्गमान सिंह दुवैजना नातामा काकाभतिजा थिए । साथै उनीहरू डिल्लीमान सिंहका वंशज थिए । डिल्लीमानको नामबाटै डिल्लीबजार नामकरण भएको हो भन्ने तथ्य स्मरणीय छ । खण्डमान सिंह भीमशमशेरसँग चिढिएका थिए । खड्गमानले नै रंगनाथ शर्मालाई यस योजनामा सम्मिलित गराए । यी सबै व्यक्ति साधारण हैसियतका भएकाले कार्ययोजनामा आर्थिक स्रोत जुटाउन नसक्ने हुँदा, आर्थिक स्थिति ठीकै भएका उमेशविक्रम शाहसँग गाँसिन पुगे । उमेशविक्रम शाह भारतमा भएको अंग्रेजविरोधी आन्दोलनबाट प्रभावित भई राणा शासन समाप्त हुनैपर्छ भन्ने मनशायमा पुगेका थिए ।

यी नवयुवकहरूले आफ्नो कार्यमा श्री ५ त्रिभुवनसँग सम्पर्क गर्ने उद्देश्यले लक्ष्मणराजा (जुद्धशमशेरका ज्वाइँ) लाई पनि मिलाएका थिए । यी व्यक्तिहरूले राणाशासन समाप्त गरी श्री ५ को नेतृत्वमा वैधानिक शासन कायम गर्ने र सबैलाई एकै स्थानमा भेला भएको बेलामा बम प्रहार गरी सोत्तर पार्ने योजना बनाउन थाले । सो प्रयोजनका लागि भारतबाट बम ल्याउने सरसल्लाह पनि गरे तथा उनीहरूले यो गोप्य संगठनको नाम प्रचण्ड गोरखा राख्ने निधो पनि गरे । हिंसात्मक नीति सञ्चालन गरी सबै राणालाई खत्तम बनाउने योजनामा लक्ष्मण राजाको मत मिलेन ।

उनी भीमशमशेरको स्थानमा आफ्ना ससुरा जुद्धशमशेरलाई राख्न चाहन्थे । त्यसैले पनि सबै राणाको हत्या गराउने कुरा उनलाई जँचेन । उनै लक्ष्मण राजाले प्रस्तावित प्रचण्ड गोरखाको गोप्य योजनाका विषयमा जुद्धशमशेर समक्ष जानकारी दिए । यस कुराको सुइँकोसमेत अन्य सदस्यहरूले पाएनन् ।

लक्ष्मण राजाबाट कुरा चुहिएपछि राणाशाही आत्तियो, मात्तियो र तात्तियो । त्यस्तो आतंककारी योजना बनाउनेहरूलाई कडा सजाय दिन राणाहरू एक मत भए । फलतः खण्डमानसिंह, खड्गमान सिंह, मैनाबहादुर, उमेशविक्रम शाह र रंगनाथ शर्मा समातिए । लक्ष्मण राजाबाट गोप्य कुरा खुलेको तथ्य अरूले पत्तै पाएनन् । यदि चाल पाएको भए उनीहरू सबै भूमिगत हुने थिए होलान् । रोलवाला राणाहरूको भारदारी सभा सबै आन्दोलनकारीलाई आतंककारी भएको र कडाभन्दा कडा सजाय दिनैपर्छ भन्ने निष्कर्षमा पुग्यो । भीमशमशेरले प्राणदण्ड नदिने पहिल्यै घोषणा नगरेका भए सबैले प्राणदण्ड नै पाउने थिए ।

तर, सबैलाई मरणासन्न गरी कुटपिट गरी कसुर कबोल गराई संलग्नमध्ये उमेशविक्रम शाहलाई पिँजडामा हाली पाल्पा पठाइयो भने अन्य सबैलाई सर्वस्वसहित आजीवन कारावासको सजाय भयो । लक्ष्मण राजालाई भने कुनै कारबाही भएन । खण्डमान, खड्गमान, मैनाबहादुर र रंगनाथलाई हतकडी, नेल तथा गलबन्दीसहित जेल चलान गरियो । जेलमा पनि गोलघरमा अनेक सास्ती दिइयो । बबरजंगकी छोरीले जुद्धशमशेरसँग अनुरोध गरी रंगनाथ शर्मालाई जेलमुक्त गराइन् । नेपाल नबस्ने सर्तमा रंगनाथ सन् १९३३ डिसेम्बरमा छुटेर भारत निर्वासित हुनपुगे ।

आजीवन कारावासको सजाय पाएका बाँकी रहेका तीनमध्ये कप्तान खण्डमानसिंह र मैनाबहादुरले आवश्यक स्वास्थ्य सेवा नपाउँदा जेलमा नै वीरगति प्राप्त गरे । बाँकी रहेका खड्गमान सिंह विसं २००७ सालको परिवर्तनपश्चात् मात्र जेलमुक्त भए । यही थियो प्रचण्ड गोर्खाको रामकहानी । (यस विषयमा विस्तृत जानकारीका लागि हेर्नुहोस, राजेश गौतम, प्रचण्ड गोरखा अध्ययन, काठमाडौं, २०५७ ।)

दुई-चारजना नवयुवकले गोप्य रूपमा गरेको कोठेगफलाई तिलको पहाड बनाई राणा शासकले झिँगा मार्न तोपको उपयोग गरे । प्रचण्ड गोरखा संस्था स्थापना गर्ने सोचमात्र बनेको थियो । राणाजीहरूलाई समाप्त गर्ने पनि केवल कोठेगफमात्र थियो । त्यस्तो साधारण मुद्दामा असाधारण सजाय दिँदा प्रचण्ड गोरखा अभियान बढी चर्चित हुन गयो । काँक्रो चोरलाई मुड्के सास्ती दिएको भए सो घटनाले चर्चा नै पाउने थिएन । तर, राणाहरूको क्रूर नीतिका कारण कठोर सजाय दिँदा स्वयं राणाहरूकै लागि प्रत्युत्पादक बन्नपुग्यो ।

यस घटनाले अधिकांश नेपालीमा राणाविरोधी भावनाले उग्ररूप लियो र संगठित आन्दोलनको प्रारम्भ भयो । प्रजापरिषद्, नेपाली कांग्रेस जस्ता राजनीतिक पार्टीहरूको स्थापना हुनुमा प्रचण्ड गोरखा काण्डले मलजल ग¥यो । जहानियाँ राणा शासनको विरोधमा क्रूर सजाय पाई जेलमै मृत्यु भएका खण्डमानसिंह र मैनाबहादुरलाई सहिदको सम्मान दिनुपर्ने हो र खड्गमान सिंहलाई जिउँदा शहीद भन्नुपर्ने थियो ।

प्रचण्ड गोर्खा स्थापना गर्ने कुराकानी र छलफलकै प्रक्रियामा रहँदा लक्ष्मण राजाले घात गर्दा उक्त संस्थाले मूर्तरूप लिन नै पाएन । सो संस्थाको उद्देश्य तथा कार्यनीतिका विषयमा कुनै दस्ताबेज तयार हुनै सकेको थिएन ।

प्रचण्ड गोर्खा स्थापना गर्ने कुराकानी र छलफलकै प्रक्रियामा रहँदा लक्ष्मण राजाले घात गर्दा उक्त संस्थाले मूर्तरूप लिन नै पाएन । सो संस्थाको उद्देश्य तथा कार्यनीतिका विषयमा कुनै दस्ताबेज तयार हुनै सकेको थिएन । कतिले त प्रचण्ड गोरखासँग श्री ५ त्रिभुवनको सम्पर्क कायम हुने स्थिति थियो भनेका छन् जुन टिपणी भविष्यको घटनाका आधारमा अनुमान गरिएको हो । यस तथ्यमा कुनै सत्यता छैन । श्री ५ कै उपस्थितिमा कठोर सजाय दिइएको घटनालाई नजरअन्दाज गर्न भने सकिँदैन । विसं २००७ सालपछि श्री ५ त्रिभुवनलाई देवत्वकरण गर्ने भाट प्रवृत्तिका कारण यस्ता टिप्पणी हुनेगरेका छन् तर यी प्रमाणहीन तथा इतिहासको मर्म र मान्यताविपरीतका कथन हुन् ।

कथित प्रचण्ड गोरखा अभियानलाई नेपालको पहिलो राजनीतिक पार्टी भन्ने गरिएको तथ्य पनि सहजै स्वीकार्य हुन सक्दैन । तर, भविष्यमा राजनीतिक पार्टी स्थापना गर्न भने उक्त घटनाले मार्गदर्शन अवश्य गरेको थियो । उमेशविक्रम शाहलाई पाल्पा पठाइनु र रंगनाथ शर्मालाई कसैको भनसुनबाट जेलमुक्त गर्नु जस्ता घटनाले राणाकालको विभेदकारी नीतिको परिचय दिन्छ । भीमशमशेरले मृत्युदण्ड खारेज गरेकै कारण खण्डमानसिंह, मैनाबहादुर र खड्गमान सिंहले ज्यान सजाय पाएनन् । तर, श्री ३ जुद्धपछि पूर्ववत् व्यवस्था खारेज गरी मृत्युदण्ड दिने नियम बनाए । जसको कारण दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइयो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रचण्ड गोरखा अभियानको परोक्ष रूपमा उल्लेख्य योगदान रहन गयो । यसको श्रेय पनि राणा शासकलाई दिनैपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. लेख समसामयिक तथा बिचार उत्त्येजक छ।सबैले अध्ययन गर्नु अवस्क छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?