टिस्युकल्चर प्रविधिबाट केरा उत्पादन

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । दाङमा टिस्युकल्चर प्रविधिबाट केराका बेर्ना उत्पादन गरिने भएको छ । केराको उत्पादन बढाउनुका साथै रोगबाट बचाउन दाङमै पहिलो पटक टिस्युकल्चर प्रविधि (ल्याब)बाट केराका बेर्ना उत्पादन गर्न थालिएको हो । केरा उत्पादनका लागि उपयुक्त मानिने दाङमा कृषि विकास मन्त्रालयअन्तर्गत मझौला कृषक आयस्तर वृद्धि आयोजनाको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका १३ फूलबारीबाट उक्त प्रविधि प्रयोग गरी उत्पादन गरिएका केराका बेर्ना उत्पादन गर्न थालिएको जिल्ला कृषि विकास कार्यालय दाङले जानकारी दिएको छ । लाइभ साइन्स कलेज तुलसीपुरद्वारा सञ्चालित सूर्योदय बहुउद्देश्यीय कृषि फर्मले एक करोड २६ लाख ८७ हजार ४१५ रुपैयाँ लगानीमा ल्याबबाट तन्तु प्रजनन गरेर केराका बेर्ना उत्पादन गर्ने तयारी थालेको जिल्ला कृषि विकास कार्यालय दाङका बागवाणी अधिकृत धनराज गौतमले जानकारी दिनुभयो । प्रविधि प्रयोग गरी केराका बेर्ना उत्पादन गर्न करिब तीन कठ्ठा क्षेत्रफलमा नर्सरी बनाइएको छ ।

उक्त नर्सरीबाट दाङमै हजारौँ केराका बेर्नाहरू उत्पादन गर्न सकिने उहाँको भनाइ छ । टिस्युकल्चर प्रविधि प्रयोग गरी ‘जी ९ विलियम हाइब्रेड’ नामक उन्नत जातका केराका बेर्ना उत्पादन गर्ने तयारी रहेको बागवाणी अधिकृत गौतमले बताउनुभयो । प्रविधि प्रयोगमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको फर्मका सल्लाहकार मनोज बस्नेतले जानकारी दिनुभयो । ‘त्यसको ८० प्रतिसत काम पूरा गरिसकेका छौँ ’ उहाँले भन्नुभयो, ‘०७५ साल असारदेखि दाङमै उक्त प्रविधिबाट उत्पादन गरिएका केराका बेर्ना उपलब्ध गराउने तयारी गरेका छौँ ।

ल्याबबाट उत्पादन गरिएका केराका बेर्ना दाङमा उपलब्ध नहुँदा जे पायो त्यही लगाउने र विभिन्न रोगले केराको उत्पादन उल्लेख्य मात्रामा हुन नसकेको बागवाणी अधिकृत गौतमले बताउनुभयो । दाङमा टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएका केराका बेर्नाको माग धेरै हुने गरे पनि उपलब्ध नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ । दाङमा उक्त प्रविधिबाट उत्पादन गरिएका केराका बेर्ना उपलब्ध भएपछि यहाँका किसानहरूलाई सहज हुने बागबाणी अधिकृत गौतमले बताउनुभयो । तयार पारिएका बेर्ना उपलब्ध गराउनका लागि चितवन, काठमाडौं, भारतबाट जानुपर्ने बाध्यता रहेको थियो’ उहाँले भन्नुभयो, ‘ती बेर्ना दाङमै उत्पादन हुने भएपछि यहाँका किसानहरूलाई सहज हुनेछ ।’ अहिले दाङमा ८५ प्रतिशत केराका विरुवा बाहिरी जिल्लाबाट आउने गरेको समेत उहाँले बताउनुभयो । साथै उक्त प्रविधिबाट उत्पादित बेर्ना लगाएमा त्यसबाट पाँच गुणा उत्पादनमा वृद्धि हुने उहाँको भनाइ छ ।

पछिल्लो समय कृषि पेसामा आकर्षण घट्दै गइरहेको भन्दै उहाँले उक्त प्रविधिबाट उत्पादन भएका केराका विरुवा दाङमै पाइने भएपछि किसानहरूको पनि आकर्षण बढ्ने बताउनुभयो । ‘पछिल्लो समय कृषि पेसामा आकर्षण घट्दै गएको छ’ उहाँले भन्नुभयो, ‘प्रविधि भित्रिएसँगै बहुवर्षीय रूपमा उत्पादन हुने केराका खेतीतर्फ किसानहरूको आकर्षण बढ्ने अपेक्षा लिइएको छ ।’ अहिले दाङमा ४५० हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको भन्दै प्रविधि भित्रिएसंगै उल्लेख्य मात्रामा बढ्ने उहाँले बताउनुभयो । केराबाट प्रतिकठ्ठामा १५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिने भन्दै केराखेती व्यवसायका लागि उत्तम रहेको पनि उहाँले जानकारी दिनुभयो । उक्त प्रविधिबाट उत्पादन बेर्ना लगाएपछि बोट पँहेलो हुँदै जाने, गुवो कुहिने र बोट सुक्दै जानेलगायत बिभिन्न प्रकारका रोगहरूबाट बचाउन सकिने बागवाणी अधिकृत गौतमको भनाइ छ । अहिले उक्त प्रविधिबाट दाङको देउखुरी क्षेत्रमा उत्पादन गर्न थालिए पनि प्रभावकारी हुन नसकेको गौतमले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?