दनुवार समुदायका महिलाले मान्द्रो बनाउन छाडे

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 9 mins

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-३ खुट्टेपानीकी सगरवत्ती कुमर (दनुवार) सँग मान्द्रो बनाउने सीप छ । बनाएको मान्द्रो बिक्री गर्ने बजार छैन । सात वर्षअघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको घरायसी व्यवहार टर्दै थियो । अहिले ऋण गर्नुको विकल्प छैन । आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेरै भए पनि व्यवहार धान्नुपरेको उहाँले बताउनुभयो । मान्द्रोको ठाउँमा पछिल्लो समय प्लाष्टिकका सामग्रीले प्रभाव जमाएका छन् । सस्तो र सहजरूपमा पाउन थालेपछि मान्द्रो बनाउने पेशा संकटमा परेको छ । जंगलमा पहिलाको जसरी बाँस पाइँदैन । मुस्किलले ल्याएर बनाइएको मान्द्रो नबिक्ने समस्या रहेको उहाँले सुनाउनुभयो ।

सगरवत्तीले भन्नुभयो, ‘पटिया बिक्री हेतो त फेरि बुन थाल्बो ।’ मान्द्रो बिक्री हुन्छ भने फेरि बन्न सुरु गर्ने उहाँको भनाइ छ । केही वर्षअघिसम्म चुरे क्षेत्र प्रवेश गर्नेबित्तिकै बाँस पाइन्थ्यो । बिहानको खाना खाएर निस्कियो भने खाजा खाने बेलामा बाँसको भारी घरैमा ल्याएर आइन्थ्यो । उत्पादित मान्द्रो किन्न ग्राहक घरै आउँथे । बिक्री नहुने समस्या थिएन । त्यतिबेला दिनकै पाँच सय कमाइ हुन्थ्यो । त्यो पैसाले नुन, तेलदेखि घरायसी सबै खर्च टथ्र्यो । तर, अहिले जे गर्नुपर्दा पनि ऋणै गर्नुपर्ने उहाँको भनाइ छ ।

सगरवत्तीको पाँचजनाको परिवार छ । श्रीमान् दुई लाख ऋण गरेर साउदी जानुभएको छ । दुई वर्ष बितिसक्दा पनि विदेश जाँदाको ऋण तिर्न सक्नुभएको छैन । तीन सन्तानको पालनपोषणलगायत घरायसी खर्च टार्न उहाँलाई यतिबेला धौ-धौ छ । जंगलमा खेर गइरहेका बाँसको चोयाबाट आफ्नो घर–व्यवहार धान्दै आइरहनुभएकी सगरवत्तीको हातमा अन्य सीप छैन । पढाइलेखाइ पनि छैन । अहिले घरपरिवार चलाउन ज्यालामजदुरी गर्नुपर्ने बाध्यता छ । त्यो पनि गाउँमा दैनिक कामै नपाइने उहाँले बताउनुभयो ।

सगरवत्तीले मात्रै होइन, दनुवार समुदायका अधिकांश महिलाहरूको आम्दानीको स्रोत मान्द्रो बनाउने नै थियो । सोम्नी दनुवारले भन्नुभयो, ‘पहिला गाउँका सबै महिलाले बनाउँथे, अहिले सबैले छोडे ।’ उहाँले पनि तीन सन्तानको पढाइलेखाइ र घरायसी खर्च मान्द्रो बेचेरै जुटाउनुहुन्थ्यो । ‘घर छोडेर कमाउन जान नमान्ने श्रीमान्ले जंगलबाट बाँस ल्याइदिनुहुन्थ्यो । चोया आफैं काट्थेँ । मान्द्रो बनाउँथेँ । ग्राहक घरैमा आउँथे,’ दश वर्षअघिको समयलाई सोम्नीले यसरी सम्झिनुभयो । दिनमा पाँचवटासम्म मान्द्रो बुन्ने गरेको बताउने उहाँले शुक्रबार भिमानमा लाग्ने हाटमा घरायसी सामान, लत्ताकपडा किन्न पनि मान्द्रो बोकेर जाने गरेको सुनाउनुभयो । ‘पहिला गाउँभरिका महिला मान्द्रो बुन्थे । भिमान बजार समूहमा जान्थ्याँै । मान्द्रो बेच्थ्यौँ, चाहिएको सामान किनेर ल्याउँथ्यौँ,’ उहाँले भन्नुभयो, ‘त्यतिबेला जति वटा लगे पनि घर फर्काएर ल्याउनुपर्दैन थियो । अहिले बिक्री नै हुँदैन, त्यसैले मान्द्रो बुन्न छोड्दै गएका छन्, मैले पनि छाडेँ ।’

मान्द्रोको व्यापार नभएपछि आफ्नो व्यक्तिगत खर्च जुटाउनै सकस भएको उहाँले बताउनुभयो । उहाँसँग आकर्षक मान्द्रो बनाउने, थरिथरिका डालो बनाउने सीप छ । गर्दै आएको पेसा संकटमा परेपछि घरेलु जाँड, रक्सी उत्पादन गरेर बेच्न थाल्नुभएको सोम्नी उपयुक्त कामको खोजीमा हुनुहुन्छ । ‘जाँड, रक्सी उधारो माग्छन्, दियो पैसा उठाउन सकिँदैन । व्यवसाय घाटामा गएको छ । केही इलम पाउन पाए गर्थेँ,’ उहाँले भन्नुभयो । दनुवार समुदायको परम्परागत तथा पुख्र्याैली मान्द्रो बनाउने पेशाको विकास तथा संरक्षणसमेत हुन नसकेका कारण रोजीरोटी नै गुम्ने अवस्था आएको उहाँकोे भनाइ छ ।

स्थानीयस्तरमा पाइने बाँस तथा निगालोको प्रयोग गरेर दुधौली नगरपालिकाका दनुवार समुदायका महिलाहरूलाई मान्द्रो बुन्ने सीपले आत्मनिर्भर बनाएको थियो । दुई-चार पैसाका लागि श्रीमान् तथा अन्य परिवारका सदस्यसँग हात फैलाउनुपर्ने बाध्यता थिएन । अति सिमान्तकृत दनुवार समुदायको मान्द्रो बनाउने पराम्परागत सीप हो । परम्परागत तरिकाबाटै उत्पादन गरिँदै आएको यस्तो पेशा व्यवसायले बजारीकरण र प्रचारप्रसारसमेत नपाउँदा लोप हुँदै गएको छ ।

बाँसको चोयाबाट अति आकर्षक बुट्टेदार मान्द्रो बनाउने सीप हुनुभएकी मुन्डी कुमर (दनुवार) ले नजिकै बाँस पाउँन छाडेकाले आफूलाई ओछ्याउनसमेत प्लाष्टिकको किनेर ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नौ वर्षअघिसम्म मान्द्रो बेचेर महिनाको १५ देखि २० हजारसम्म कमाउँथेँ । अहिले बाँस टाढा गएर ल्याउन सकिँदैन, मान्द्रो बनाउने सीपमात्र भएर के गर्नु ? आफूलाई ओछ्याउनसमेत बजारबाट प्लाष्टिकको बिछ्याउना किनेर ल्याएकी छु ।’

यो सीपको विकास तथा संरक्षण गर्नुपर्ने आवश्यकता भने देखिएको उहाँको धारणा छ । मान्द्रोमात्रै होइन, ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेका बाँसका सामग्री बनाउने पेशा अहिले संकटमा छन् । बाँसको सामग्री निर्माण गर्न कठिनाइ हुने र यसको बजार व्यवस्थापनसमेत नहुँदा दनुवार समुदायका महिलाले पुर्खौंदेखि गर्दै आएको पेशा लोप हुने अवस्थामा पुगेको सिन्धुलीको दनुवार जागरण समितिका सदस्य सुकुमलाल कुमर (दनुवार) ले बताउनुभयो । प्लाष्टिकका सामग्रीको बढ्दो प्रयोग र बाँसका सामग्री बनाउने पेशा अँगाल्ने जनशक्तिको कमीका कारणले पनि यो व्यवसाय संकटमा परेको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारुको धारणा छ ।

यो पेशासँगै बाँसको चित्रा, डोको, थुन्से, नाङ्लो, मान्द्रो, भकारीजस्ता सामग्रीको उत्पादनसमेत अत्यन्तै न्यून हुने गरेको उहाँले बताउनुभयो । स्थानीयस्तरमा यसको खासै माग नदिएकाले बजार व्यवस्थापन गर्न समस्या देखिएको उहाँले सुनाउनुभयो । यसका लागि उद्यमीहरूको सल्लाह, सुझावबमोजिम स्थानीय सरकारले भूमिका निभाउने उपप्रमुख थारुको प्रतिबद्धता छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?