म्याग्दी । ‘उत्तरतर्फ देखिने हिमालहरु अहिले सेता नदेखिएर वर्णशंकर जस्ता देखिन थालेका छन् । बनमा चैत वैशाखमा फुल्नु पर्ने लालिगुराँस र जंगलीफलफूल माघ महिना नलाग्दै फुल्न र फल्न थालेका छन्’ बेनी नगरपालिका २ का नारायण शर्माले भन्नुभयो ‘पानी पर्दैन,हिउँ आउँदैन, के भएको हो यस्तो ?’
शर्माको जस्तै धेरैको मनमा अहिले यस्तै कौतुहलता हुनेगरेको छ । हेर्दा हेर्दै सेता हिमालहरु अहिले काला पहाडमा परिणत भएका छन् । यस अघि चैत वैशाखमा फुल्ने लालीगुराँश माघमा नै फुल्न थालेको छ । दशैंयता पानी परेको छैन । हिउँ पर्ने समय नाघिसक्दा पनि कतै हिउँ परेको छैन ।
हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर देखिन थालेको छ । धवलागिरि, निलगिरि लगाएतका हिमालहरुमा हिउँको मात्रा घट्दै जाँदा सेता हिमालहरु पहाड जस्ता देखिन थालेका छन् भने जंगली फलफूलहरु बेमौसममा नै फल्न र फूल्न थालेका छन् ।
हिमालमा मात्रै होइन जलवायु परिवर्तनको असर जंगलमा समेत देखिन थालेको छ । म्याग्दीका लेकाली क्षेत्रहरुमा चैत वैशाखमा फुल्नु पर्ने लालीगुराँस माघमा फूल्न थालेका छन् भने चुत्रो, काफल, तिजु जस्ता फलफूलहरु फल्न थालेका धवलागिरि गाउँपालिका १ गुर्जाका जसविर विकले बताउनु भयो ।
चैत वैशाखमा महिनामा फुल्ने लालीगुराँस माघ महिनामा फुलेको छ । पहिले पहिले फागुन महिनाको दोस्रो साताबाट लालीगुराँसको कोपिला लाग्न सुरु हुने तर अहिले फागुन महिनासम्ममा लालीगुराँस फुलेर सकिने संकेत देखिएको गाउँलेहरुले बताएका छन् ।
पहाडमा पाइने काफल, ऐसेलु, त्रिमुडा, मछाईदा, डिम्मुर, घँगारु जस्ता जङ्गलीफल पनि बेमौसममा नै फल्न सुरु भएको र फल्ने समयमा फलेर सकिने गरेको उनीहरुले बताए ।
‘लालीगुराँस फूल फागुन–चैत महिनामा फूल्ने गर्दथ्यो । तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ । मराङका देवबहादुर विकले भन्नुभयो ‘गुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमा समेत यसको प्रभाव देखिएको छ । पुस माघ महिनामा गुराँस फुल्नु र बेमौसमी फलफल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय तथा जलवायु परिवर्तको असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् ।’
चैत्र बैशाखमा फुल्ने लालीगुराँस पुसमा नै फुल्नु र जंगली फलहरुको मौसमी चक्र परिवर्तन हुनुको कारण विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको असरले भएको वातावरण क्षेत्रका जानकारहरुले बताएका छन् ।
म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि विगत केही वर्षयता हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको मुदीका टेकबहादुर तिलिजाले जानकारी दिनुभयो।
‘पहिले धौलागिरि हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालका तल्लो भाग काला पहाडजस्ता देखिन थालेको छ, जाडो याममा समेत हिमालहरु नाङ्गिएको देखिन्छ,’ तिलिजाले भन्नुभयो ।
तिलिजाले अस्वाभाविक रुपमा तामक्रम बढ्ने भएका कारण हिउँ पग्लिने क्रम बढेको अनुभव सुनाउनुभयो । स्थानीयवासीका अनुसार पछिल्लो समय जाडो समयमा समेत पर्याप्त हिउँ नपर्ने समस्या देखिएको छ ।
पहिले पुस महिनामा भारी हिमपात हुने भएपनि पछिल्लो समय फागुनतिर हिउँ पर्न थालेको छ । हिउँ पर्याप्त नपर्ने र हिमालमा भएको हिउँसमेत पग्लिएर जाँदा हिमालमा हिउँले ढाकिएका भू–भाग काला पहाडमा परिणत हुने खतरा बढेको पर्यटन व्यवसायी एक्कल रावलले बताउनु भयो ।
धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत जापानी आधार शिविरदेखि नै सुरु हुने वर्षांैदेखि हिउँ जमेर बनेको हिमतालसमेत बर्सेनि पग्लिएर जाने क्रम बढेसँगै यस्ता तालको सतहसमेत घट्दै गएको पाइएको छ । विगत ६÷७ वर्षकै अवधिमा त्यस क्षेत्रमा हिउँ जमेर बनेको हिमताल अत्यधिक पग्लिएर बग्ने क्रमले करिब पाँच मिटरभन्दा बढी जमिनको सतह तल झरेको पाइएको पर्यटन व्यवसायी रावलले जानकारी दिनुभयो ।
रावलका अनुसार पहिले जापानी शिविरदेखि केही तलको भू–भागमा पनि प्रशस्त मात्रामा वर्षौंदेखि हिउँ जमेर बनेको हिमताल रहे पनि अहिले ती सबै पग्लिसकेका छन् ।
धौलागिरि मात्रै होइन जिल्लाको गुर्जामा रहेको गुर्जा, चुरेन र पुथा हिमालमा समेत बर्सेनि हिउँको मात्रा घट्दै गएको स्थानीयवासी बताउँछन् ।
याममा समेत कम मात्रै हिमपात हुने र तापक्रम वृद्धिले हिउँ पग्लिएर बग्ने क्रमले हिमाल हिउँविहीन देखिन थालेको धवलागिरि गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताउनु भयो। हिमालमा हिउँको मात्रा घट्दै गएपछि अहिले हिमालको तल्लो भाग पूरै काला पहाडजस्तो देखिन थालेको छन्त्यालको भनाइ छ ।
हिउँ पर्ने क्रम घट्दै गएपछि हिमाली खेतीबाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बासमेत पाइन छाडेको छन्त्यालले बताउनु भयो । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर हिउँ पग्लिनेमा मात्रै नदेखिएर हिमाली क्षेत्रको खेतीबालीमा पनि देखिएको छ ।
पहिले खेतीबालीमा खासै समस्या नदेखिने गरेपनि पछिल्लो समय विभिन्न प्रजातिका किराको सङ्क्रमणले आलु, जौ लगायतका खाद्य बाली उत्पादनमा कमी आउन थालेको छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् । जलवायु परिवर्तनले पछिल्लो समय हिमाली क्षेत्रमा ठूलै समस्या देखाएको वातावरण संरक्षणकर्मी एवम् वन र वातावरणका जानकार वन डिभिजन कार्यालय म्याग्दीका चन्द्रमणी सापकोटाले बताउनु भयो ।
उहाँले भन्नुभयो ‘विश्वब्यापी रुपमा तापमान र मौसमको स्वरुपमा लामो अन्तरालमा आउने परिवर्तन हो । जलवायु परिवर्तनको मुख्य कारण मानविय गतिविधी हुन् । जसले वायुमण्डलको संरचनामा बद्लाव ल्याएको पाईन्छ ।’
जलवायु परिवर्तनको असर एउटै लालीगुराँसमा मात्रै नभई हरेक क्षेत्रमा परेको छ । तराईमा पाईने विभिन्न प्रजातीका फलफुल, बोटविरुवा आदि पहाड क्षेत्रमा पाईन सुरु भएको छ । बोट विरुवा तथा जीवजन्तुले पनी ठाउँ परिवर्तन गर्न थालेका छ । जुन मौसममा पाईन्थे । जुन समयमा फल्ने तथा फुल्ने गर्थे त्यो समय पनि परिवर्तन भएको पाईन्छ ।
यसले सामाजिक देखि आर्थिक रुपमा पनि असर पारेको पाईन्छ । सामान्य उदाहरणमा भन्ने हो भने लालीगुराँस फुल टिपेर विक्री गर्ने परिवार हुन्छन् । त्यस्तै, कृषि क्षेत्रमा पनि यसले असर पारेका कारण जलवायु परिवर्तनले आर्थिक, सामाजिक, धर्म प्रणालीमा समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पारेको छ ।
विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तनहरु भइरहेको वातावरणविद्हरुको भनाइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच