न्यूजिल्याण्डविरुद्ध भारतलाई अग्रता

Read Time = 3 mins

हैदरावाद । न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा घरेलु टोली भारतले १२ रनले जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । जितका लागि ३५० रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३३७ रन बनायो । न्युजिल्याण्डका माइकल ब्रेसवेलले ७८ बलमा १२ चौका र १० छक्कासहित १४० रनको शतकीय इनिङ खेल्नुभयो ।

सातौँ विकेटका लागि मिचेल सान्टनार र माइकल ब्रेसवेलले १६२ रनको शतकीय साझेदारी गर्नुभएको थियो । सान्टनारले ४५ बलमा सात चौका र एक छक्कासहित ५७ रन प्रहार गर्नुभयो ।

ओपनर डेभन कन्वे १० रनमै आउट हुनुभयो । अर्का ओपनर फिन एलेन ३९ बलमा सात चौका र एक छक्कासहित ४०, हेनरी निकोलस १८, ग्लेन फिलिप्स ११, डर्याल मिचेल नौ र टम लाथम २४ रनमा आउट हुनुभएको थियो ।

भारतका तीव्रगतिका बलर मोहम्मद शिराजले १० ओभरमा २ मेडनसहित ४६ रन खर्चेर चार विकेट लिनुभयो । त्यसबाहेक कुलदीप यादवले आठ ओभरमा एक मेडनसहित ४३ रन खर्चेर दुई विकेट हात पार्नुभएको थियो ।

त्यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३४९ रन बनाएको थियो ।

भारतका शुभमन गिलले १४९ बलमा १९ चौका र नौ छक्कासहित २०८ रनको इनिङ्स खेल्नुभयो । त्यसबाहेक कप्तान रोहित शर्माले ३८ बलमा चार चौका र दुई छक्कासहित ३४, विराट कोहलीले आठ, इशान किसनले पाँच, सूर्यकुमार यादवले ३१ र हार्दिक पाण्ड्याले २८ रन जोड्नुभयो ।

न्युजिल्याण्डका तीव्रगतिका बलर हेनरी शिफ्ले र डर्याल मिचेलले दुई–दुई विकेट लिनुभयो । अब यी टोलीबीचको दोस्रो खेल शनिबार र तेस्रो खेल मंगलबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?