मुख्य प्रशिक्षकमा मोन्टी देसाईको सम्भावना उच्च

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि पाँचजनासँग अन्तर्वार्ता लिएको छ । क्यानले बन्दसूचीमा रहेका पाँचजनासँग अन्तर्वार्ता गरेको हो । लगातारको खराब नतिजापछि यसअघिका मुख्य प्रशिक्षक मनोज प्रभाकरलाई क्यानले हटाएको थियो । उहाँको स्थानमा क्यानले आवेदन खोलेको थियो । जसमा २४ जनाले आवेदन पेश गरे पनि त्यसबाट पाँचजना सर्ट लिस्टमा परेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जनाउनुभयो ।

सर्ट लिस्टमा भारतका मोन्टी देसाई, देभ हृवाटमोर, श्रीलंकाका तीव गतिका बलर धाम्मिका प्रसाद, दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्याण्ड टी-२० टोलीका पूर्वप्रमुख प्रशिक्षक ग्लेन पोकनल रहनुभएको छ । ‘मुख्य प्रशिक्षक नियुक्तिको हामी अन्तिम चरणमा छौँ । एक-दुई दिनमै नाम सार्वजनिक गर्छौं,’ क्यानका कार्यवाहक सचिव मल्लले भन्नुभयो ।

नेपालले अर्को महिना घरेलु मैदानमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत नामिबिया र स्कटल्याण्डसँग सिरिज खेल्दैछ । त्यसकै लागि क्यानले यथासम्भव चाँडो मुख्य प्रशिक्षक नियुक्त गरिसक्नुपर्नेछ ।

क्यानले मुख्य प्रशिक्षकमा अनुभवी मोन्टी देसाईलाई ल्याउने तयारी गरेको छ । तर, देशाईले पारिश्रमिक बढी मागेकाले त्यस विषयमा छलफल भइरहेको छ । यसअघि देसाईले ब्याटिङ सल्लाहकारका रूपमा नेपाली टोलीमा भूमिका निर्वाह गरिसक्नुभएको छ । अघिल्लो महिनामात्रै वेस्ट इण्डिजसँग देसाईको तीन वर्ष प्रमुख ब्याटिङ प्रशिक्षकको अवधि सकिएकाले उहाँ नेपाली टोलीको प्रशिक्षक बन्ने सम्भावना उच्च छ । तर, पारिश्रमिक नमिलेमा भने क्यानले उहाँको विकल्प खोज्ने जनाएको छ ।

श्रीलंकालाई विश्वकप जिताइसक्नुभएका देभ हृवाटमोर यसअघि पनि नेपाली टोलीको मुख्य प्रशिक्षक रहिसक्नुभएको छ । झण्डै आठ महिना नेपाली टोलीसँग बिताउँदा उहाँले टोलीमा केही सुधार गर्नुभएको थियो । तर, पछि भारतीय रणजी ट्रफी टोलीले बोलाएपछि उहाँले नेपाली प्रशिक्षकबाट राजीनामा दिनुभएको थियो । सर्ट लिस्टमा पर्नुभएका तीव्रगतिका धाम्मिका प्रसादले भने गत वर्ष आइसिसी टी-२० विश्वकप छनोट ‘ए’ मा नेपालको मुख्य प्रशिक्षकका रूपमा काम गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?