सभामुखको निर्वाचन र भावी दिशा

हिमालय टाइम्स
Read Time = 7 mins

प्रतिनिधिसभाको सभामुखको निर्वाचन पनि अन्ततः बिहीबार सम्पन्न भयो । प्रतिनिधिसभामा सम्पन्न उक्त निर्वाचनमा सत्तागठबन्धनका तर्फबाट नेकपा एमालेका देवराज घिमिरेलाई उक्त पदका लागि उम्मेदवार बनाइएको थियो । उहाँ पाँच वर्षे कार्यकालका लागि प्रतिनिधिसभाको सभामुख चयन हुनुभएको छ । यसका लागि गत बुधबार उहाँको र नेपाली कांग्रेसका तर्फबाट ईश्वरी न्यौपानेको उम्मेदवारी परेको थियो । बुधबारको उहाँहरूको उम्मेदवारी बमोजिम हिजो बिहीबार उक्त पदका लागि निर्वाचन भएको थियो । वर्तमान सत्तारुढ गठबन्धन वास्तवमा नेपाली कांग्रेसका विरुद्ध भएको गठबन्धन हो । त्यसपूर्व नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलको गठबन्धनले सरकारमा प्रतिनिधित्व गरेको थियो ।

सरकार विभिन्न दलको बन्नुलाई अस्वाभाविक मानिएको थिएन किनभने यसरी मिलीजुली सरकार अरू देशमा पनि बन्ने गरेका छन् तर अनौठो कुरा चाहिँ निर्वाचनमा समेत ती दलहरू गठबन्धन कायम राखेरै गएका थिए । परिणाम सामान्यतया अपेक्षित नै आएको हो तर निर्वाचनको परिणामपछि सरकार बनाउने प्रक्रियामा छलफल भइरहँदा आफूले भनेजस्तो भएन भनेर नेकपा माओवादी केन्द्र नेकपा एमालेसँग मिल्न पुग्यो र त्यस गठबन्धनमा अरू केही दलहरू पनि सामेल भए । जसले गर्दा उक्त गठबन्धनमा सुविधाजनक बहुमत पुगेको थियो । त्यसकारण नेपाली कांग्रेस र उसका समर्थकहरूको संख्या समेत जोड्दा कांग्रेसले प्रतिनिधिसभाबाट बहुमत ल्याउने सम्भावना थिएन । यदि त्यसो भएको भए नेपाली कांग्रेस सरकारमै गइहाल्थ्यो, प्रतिपक्षमा बस्नु पर्दैनथ्यो ।

यस्तो अवस्थामा पनि आपूm पराजित हुने निश्चित हुँदाहुँदै नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदका लागि प्रतिस्पर्धा ग¥यो र आफ्नो सदस्य ईश्वरी न्यौपानेलाई उक्त पदका लागि प्रतिस्पर्धी बनायो । परिणाम अनपेक्षित थिएन, सोचेजस्तै न्यौपाने पराजित हुनुभयो । वास्तवमा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारले सभामुख जित्ने अपेक्षा गरेको थिएन । किनकि त्यसभन्दा एक-दुई दिन पहिले कांग्रेसका नेताहरूले प्रजातान्त्रिक संस्कार र परम्परा बचाउन अनि संघीय लोकतान्त्रिक प्रणाली र वर्तमान संविधान जोगाउन आफ्नो दलले उक्त पदमा प्रतिस्पर्धा गर्ने अभिव्यक्ति दिनुभएको थियो । प्रजातन्त्रको सबैभन्दा सुन्दर कुरा नै निर्वाचन हो । त्यसैलाई नेपाली कांग्रेसले अभ्यास गरेको मात्र हो भन्ने देखियो ।

त्यसैले नेपाली कांग्रेसले प्रणाली र संविधानको संरक्षणमा जोड दिएको हुनसक्छ । किनकि, प्रजातन्त्रको संरक्षणमै नेपाली कांग्रेसले आफ्नो स्थापना कालदेखि नै जोड दिँदै आएको छ जसले ७६ वर्षको इतिहास रचिसकेको छ । २०७४ सालको निर्वाचनमा पनि कांग्रेसले आपूm हारेर पनि प्रजातन्त्रलाई जिताएको थियो । त्यही परिस्थितिको उपयोग गर्दै कम्युनिष्ट पार्टीहरूले झण्डै दुई तिहाइ बहुमत ल्याएका थिए तर त्यसको संरक्षण र बचाउ गर्न उनीहरू असमर्थ भए । अहिलेको परिस्थिति त्यसभन्दा भिन्न छ । त्यसबेला नेपाल कम्युनिष्ट पार्टीकै एकल बहुमत थियो त्यो पनि दुई तिहाइको निकटको भने अहिले विभिन्न सानातिना सात पार्टीहरूसमेतको जोरजम्मा गरी पु¥याइएको बहुमत हो ।

भोलि आफ्ना पोल्टाभित्र राखेका मध्ये कुनै पार्टी उम्केर जानेबित्तिकै त्यस्तो अवस्था रहँदैन, छिन्नभिन्न बन्नजान्छ । जे भए पनि भावी परिस्थितिमा ठूलो उतारचढाव आएन भने सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति जस्ता पद मन्त्रीभन्दा भिन्न हुन्, एकपटक बनेपछि पाँच वर्षसम्म ती कायम रहन्छन् । यसका लागि हाल सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका घिमिरे आगामी पाँच वर्षे कार्यकालका लागि प्रतिनिधिसभाको सभामुख निर्वाचित हुनुभएको छ । जसरी वर्तमान सरकार बन्दा सात पार्टीबाट निर्वाचित बनेका सदस्यहरूको अधिक संख्या सरकारको समर्थनमान जुटेको थियो त्यसैगरी हाल सभामुख छनौटमा पनि उहाँहरू अविचलित रूपमा एक ठाउँमा रहन सफल बन्नुभयो ।

अब भने सदन र सरकार अथवा व्यवस्थापिका र कार्यपालिका दुवै ठाउँमा एकै विचारको गठबन्धन आसीन हुन पुगेको छ । यसबाट निश्चय उहाँहरूलाई काम गर्न सहज हुनेछ । नेपाली कांग्रेस कब्जाको शैलीभन्दा प्रजातान्त्रिक शैलीबाट सरकारमा जाने र सरकार चलाउने पार्टी भएका कारण नै उसले हालको परिस्थितिको सामना गर्नुपरेको हो । त्यसकारण नेपाली कांग्रेसले अविचलित रूपमा आगामी पाँच वर्ष प्रतिपक्षमै रहेर सरकारलाई रचनात्मक सुझाब र सहयोग गर्नुमै उसको श्रेय हुन आउँछ । नवनिर्वाचित सभामुखबाट आफ्नो कार्यकालमा निर्विवाद र निर्विघ्न रूपमा कार्यसम्पादन हुने विश्वास व्यक्त गर्दै उहाँलाई सफल कार्यकालका लागि हाम्रोतर्फबाट शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?