तीन महिलाको हत्या प्रकरणः दोषी पत्ता लगाउन गृह-मन्त्रालयलाई पत्राचार

हिमालय टाइम्स
Read Time = 4 mins

खोटाङ । राष्ट्रिय महिला आयोगले खोटाङका तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाउनका लागि गृह-मन्त्रालयलाई पत्राचार गरेको छ ।

आयोगले जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङ सोभेकी ३७ वर्षीय देबी बिक, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको विभिन्न मितिमा हत्या गर्नमा संलग्न दोषी पत्ता लगाउनका लागि मन्त्रालयलाई पत्रमार्फत अनुरोध गरेको हो ।

तीन महिलाको हत्या भएको पाँच वर्ष बित्दासमेत दोषी गुमनाम भएको पाइएकाले दोषी पत्ता लगाउन गृह-मन्त्रालयलाई पत्राचार गरिएको राष्ट्रिय महिला आयोगका कार्यबाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले बताउनुभयो । पत्रमा घटनाको सम्वन्धमा यथाशिघ्र छानविन समिति गठन गर्न लगाएर दोषी पत्ता लगाउन भनिएको छ ।

जन्तेढुंगा गाउँपालिका-४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा सम्पर्क विहिन बन्नुभएकी देबी दोश्रो दिन २०७४ साउन ५ गते जन्तेढुंगा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला पर्नुभएको थियो । यस्तै, रिता २०७३ माघ २६ गते र ज्ञानीमायाँ २०७४ जेठ १६ गते विभत्स अवस्थामा मृत फेला पर्नुभएको थियो ।

तीन महिलाको विभत्स हत्याको घटनालाई गुपचुप राखी नियतवस नै छानविन र अनुसन्धानसमेत नगरेको दावी गर्दै राष्ट्रिय महिला आयोगले सो सम्वन्धमा यथाशिघ्र छानविन समिति गठन गर्न लगाएर दोषी पत्ता लगाउन पहल गर्न अनुरोध गरिएको जनाएको छ ।

गत पुस २७ गते राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगले खोटाङमा संयुक्त रुपमा आयोजना गरेको सिड सम्वन्धी छलफल कार्यक्रममा सहभागी हुने क्रममा आयोगका कार्यबाहक अध्यक्ष पौडेल खतिवडा र प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता नलागेको विषयमा जानकारी पाउनुभएको थियो ।

कार्यक्रममा सहभागीले महिलाको हत्यारामा पत्ता नलागेको विषयमा आवाज उठाएपछि कार्यबाहक अध्यक्ष पौडेल खतिवडाले ‘खोटाङमा तीन जना निर्मला पन्त’ मारिएको जानकारी मिलेको भन्दै दोषी पत्ता लगाउन गृह-मन्त्रालयलाई पत्र पठाउने प्रतिवद्धता जनाउनुभएको थियो । आयोगकी उप-सचिव चमिला भट्टराईले लेखेको पत्र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय खोटाङलाई बोधार्थ पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?