कांग्रेसको संसदीय दलको नेता बन्न प्रदेश १ मा तीन जनाको उम्मेदवारी

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् ।

विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको हो । यसअघि दलको नेतामा दावी गर्दै आउनुभएका केन्द्रीय सदस्य भीम पराजुली उद्धव थापाको प्रस्तावक हुनुभएको छ ।

अर्याल संविधानसभा सदस्य तथा मोरङ–५ प्रदेशसभा २ बाट प्रदेशसभामा निर्वाचित संसद हुनुहुन्छ । प्रदेश सभापति थापा समानुपातिक सांसद र कार्की मोरङ ६ प्रदेशसभा २ बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । कार्की हाल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्छ ।

निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीका अनुसार अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरूङ हुनुहुन्छ । त्यस्तै थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई तथा कार्कीको प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शम्शेर राई हुनुहुन्छ ।

प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी २९ सांसद छन् । नेता चयनका लागि भोलि विहान ९ बजेदेखि मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?