सडकको बोतल टिपेरै जीविकोपार्जन

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । पछिल्लो समय बजार तथा सडकमा जथाभावी फालिएको पानीको बोतल तथा प्लाष्टिकले गर्दा शहरको सौन्दर्यतामा असर परिरहेको देखिन्छ । कतिपय स्थानीय सरकारको टाउको दुखाइ भइरहेको बेला कतिको जीविकोपार्जनको सारथी भएको छ । पुस, माघको जाडो नभनी सर्लाही सदरमुकाम मलंगवाका दिली दास परिवारसहित अहिले बजारमा प्लाष्टिक र सिसाको बोतल टिप्न व्यस्त देखिनुहुन्छ ।

केही दिनअगाडि हामीले दास परिवारलाई हरिवन क्षेत्रमा बोतल टिपिरहेको भेट्टायौँ । दास परिवारले सडक किनारमा टिपेको बोतलले भरिएको बोराले सानो ओत लाग्ने स्थान बनाएका रहेछन् । त्यसै स्थानको बाहिर सानो डेक्चीमा उनीहरू खाना पकाइरहेका थिए । यस समूहमा चारजना रहेछन् । तीनजान बोतल टिप्ने र एकजना टिपेको बोतल जम्मा पार्नेे काम गरिरहेको देखिन्थ्यो । उनीहरूको बास दैनिक फरक-फरक ठाउँमा हुँदोरहेछ । बोतल टिप्दै गयो जहाँ पुग्दा रात प¥यो त्यही ठाउँमा दिनभरि टिपेको बोतलको बोरा बिसाएर बास बस्ने दासको भनाइ छ । दैनिक १५ देखि २० किलोसम्म बोतल टिप्ने गरेको दास बताउनुहुन्छ । यसरी टिपेको बोतलको कमाइबाट आफ्नो घरव्यवहार चलाइरहेको उहाँको भनाइ छ ।

यसै कमाइबाट आफ्ना चारजना बालबच्चा पाल्ने गरेको दास बताउनुहुन्छ । जेठो सन्तान उच्च शिक्षाका लागि बाहिर गएको र अहिले दुःखसुखमा दुईजना बच्चा कक्षा ४ र ५ मा पढिरहेको दासको भनाइ छ । आफूले दुःख गरेरै भए पनि बालबच्चालाई लेखपढ गराउने दासको अठोट रहेको छ भने सर्लाही ब्रहृमपुरीका अमरनाथ साह केही समय पहिलेसम्म सिलाइको काम गर्नुहुन्थ्यो । अहिले उहाँ प्लाष्टिकको बोतल टिप्ने काम गर्नुहुन्छ । भारतको लुदिआनामा सिलाइकटाइको काम गर्दै आउनुभएका साह काम गर्दै आएको कारखाना बन्द भएपछि अहिले प्लाष्टिकको बोतल टिप्ने काम गर्नुहुन्छ । गरिरहेको काम बन्द भएपछि घर चलाउन तथा हातमुख जोर्न समस्या भएपछि अहिले साहले प्लाष्टिकको बोतल टिप्न थाल्नुभएको छ । यसरी टिपेको प्लाष्टिकको बोतल प्रतिकेजी ३० रुपैयाँमा बिक्री हुने गरेको साहको भनाइ छ । यसरी बजार तथा सडक किनारमा टिपेको प्लाष्टिकजन्य सामानबाट दैनिक तीन–चार सय कमाइ हुने गरेको साहको कथन छ ।

केही वर्षपहिलेसम्म बोतल टिप्ने काम भारतीयले गर्दै आइरहेकोमा अहिले नेपालीहरू पनि सक्रिय देखिन थालेका छन् । ठूला होटल तथा रेष्टुरेन्टले समेत पानीको बोतललाई एक ठाउँमा राखेर यस्ता संकलकलाई प्रदान गर्दा संकलकको व्यवसाय बढेको उनीहरू बताउँछन् ।
प्लाष्टिकको बोतल टिपेर जीविकोपार्जन गर्ने यी दुई परिवारमात्रै छैनन् सर्लाहीमा । अन्यले पनि यस्तै पेशा अंगालेका छन् । कतिले त कवाडी संकलन गर्न व्यवसाय नै दर्ता गरेर काम गरिरहेको घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख जितेन्द्र किशोर गुप्ताले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?