यू-१६ टोलीमा कप्तानसहित डिसिएका तीनजना

हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । कैलालीको धनगढीमा आइतबारबाट हुने १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोलीमा कप्तानसहित तीनजना धनगढी क्रिकेट एकेडेमी(डिसिए)का खेलाडीहरू परेका छन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले घोषणा गरेको टोलीमा कप्तान नरेन भट्टसहित विकेट किपर आशिष लुहार र आशिष शाह डिसिएको प्रतिनिधित्व गर्दै सुदूरको टोलीबाट खेल्नुहुनेछ ।

विगतदेखि नै थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरिसकेको डिसिएबाट पछिल्लोपटक टोलीमा तीनजना खेलाडीहरू पर्नु उपलब्धिपूर्ण भएको डिसिएका व्यवस्थापक समुयल न्यौपानेले बताउनुभयो । उहाँले प्रदेशबाट उत्कृष्ट खेलाडी उत्पादन गर्दै राष्ट्रलाई दिने डिसिएको अभियानको यो एउटा कडी भएको बताउनुभयो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा आइतबारबाट फाप्ला क्रिकेट मैदानमा सुरु हुने राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेशको सहभागिता रहनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन् । सार्वजनिक खेल तालिकाअनुसार प्रतियोगितामा सहभागी सात प्रदेशलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै मधेश प्रदेश तथा लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेश रहेका छन् । समूहको विजेता र उपविजेता सेमिफाइनल पुग्नेछन् ।

प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै, म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् ।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।

सोही प्रतियोगितामा नेपाली टोली पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ । यसै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर त्यसबाट उत्कृष्ट १४ जनालाई १६ वर्षमुनिको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम बनाइने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?