उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

‘मलाई मेरो दलले अवसर दिएको छ, यसलाई जिम्मेवारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँछु । पार्टीका मुद्दाहरूमा आफ्नोतर्फबाट सकेको काम गर्नेछु ।’

अनिल क्षेत्री
Read Time = 18 mins

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । सत्ता साँझेदार दलको तर्फबाट उम्मेदवार बन्नुभएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रानामगर उपसभामुखमा निर्वाचित हुनुभएको हो ।

शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा रानामगरले प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्नुभएको हो । रानालाई उपसभामुख चयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रस्तुत गर्नुभएको प्रस्तावलाई एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थन गर्नुभएको थियो । यादवलाई चयन गरियोस् भन्ने कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेको प्रस्तावलाई समाजवादीका सांसद मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले समर्थन गर्नुभएको थियो ।

मत विभाजनको प्रक्रियाबाट भएको निर्वाचनमा राना १६६ मतसहित निर्वाचित हुनुभएको हो । रानामगरको विपक्षमा यादवलाई ९७ जना सांसदको समर्थन रहृयो । यस्तै, तटस्थ एक मत परेको थियो । प्रतिनिधिसभामा कूल २७५ सांसदमध्ये शनिबारको बैठकमा २६४ सांसद उपस्थित थिए । इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरूले मतदान गरे । सभामुख देवराज घिमिरेले सबैभन्दा पहिला रानाको उम्मेदवारीलाई सभामा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । मत विभाजनको क्रममा रानाको पक्षमा बहुमत सांसद देखिएपछि सभामुखले प्रर्तिस्पर्धी रहनुभएकी कांग्रेस सांसद मुक्ताकुमारीको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नुपरेन ।

उपसभामुखमा निर्वाचित भएपछि रानामगरले भन्नुभयो, ‘मलाई मेरो दलले अवसर दिएको छ, यसलाई जिम्मेवारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँछु । पार्टीका मुद्दाहरूमा आफ्नो तर्फबाट सकेको काम गर्नेछु । सामाजिक क्षेत्रमा गरेको कामका आधारमै मलाई यहाँ पुग्न सम्भव भयो । म मेरा ती मुद्दाहरूबारे सधैं सजग रहनेछु ।’

लामो समय सामाजिक क्षेत्रमा क्रियाशील रानामगरको राजनीतिक यात्रा नयाँ हो । गत मंसिर ४ गतेको निर्वाचनअघि मात्रै रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर राजनीति सुरु गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँलाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो । सयौं बालबालिकालाई पालनपोषण र शिक्षादीक्षा दिएर रानामगरले समाजसेवाको क्षेत्रमा प्रसिद्धि कमाउनुभएको छ ।

संविधान च्यात्न पूर्वप्रधानमन्त्री नै ढुकेर बसिरहनुभएको छ : सांसद चौधरी
विपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरू नै मौका ढुकेर बसेको आरोप लगाउनुभएको छ । सांसद चौधरीले संसद्मा संविधान च्यात्न र मास्न खोज्नेहरूको उपस्थिति जबरजस्ती बलियो बनिरहेको जिरिक गर्दै भन्नुभयो, ‘संविधानलाई नष्ट गर्न पूर्वप्रधानमन्त्री ढुकेर बसिरहनुभएको छ । त्यस्ता व्यक्तिहरूको उपस्थिति संसद्महत्वपूर्ण भयो भने फेरि संविधान च्यात्ने काम हुनसक्छ, संविधान धुजाधुजा हुनसक्छ ।’ आफूलाई मन लागेको कानुन राष्ट्रपतिसँग सेटिङ मिलाएर गरिरहेको टिप्पणी गर्दै सांसद चौधरीले संसद्मा आएर कूतर्क गर्नेहरूलाई संविधानबारे ज्ञान दिन कोचिङ क्लासको व्यवस्था गर्नुपर्ने जिकिर गर्नुभयो ।

ओलीले कार्यपालिकामाथि नै धावा बोल्दैछन् : सांसद पाण्डे
नेपाली कांग्रेसका सहमहामन्त्री एंव सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाउनुभएको छ । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पाण्डेले संविधानले नचिनेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ’ भन्दै ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाउँदै भन्नुभयो, ‘प्रधानमन्त्रीभन्दा ठूलो कार्यपालिकामा कोही हुन सक्दैन । हाम्रो संविधान अनुसार । कार्यपालिका भन्दा माथि छु कि भन्ने ढंगले कार्यपालिकामाथि धावा बोल्ने काम भएको छ । दुई-दुई पटक अदालतले संसद् विघटन असंवैधानिक भन्यो तर अन्तका नजिरहरू देखाएर, अन्तका दृष्टान्तहरू देखाएर पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिबाटै संविधानमाथि जसरी धावा बोल्ने काम भइरहेको छ । प्रतिनिधिसभा विघटन गर्न सकिन्छ भन्ने खालको धावा बोल्ने काम भयो । त्यसले व्यवस्थापिकामाथि पनि प्रश्न चिहृन उठाउने काम भयो ।’

प्रधानमन्त्रीले जुटाएको विश्वास सभामुखको निर्वाचनसम्म उल्टो भइसक्यो : शुक्ला
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति र एकताको सन्देश दिए पनि सभामुखको निर्वाचनसम्म आइपुग्दा त्यो उल्टो भइसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद शुक्लाले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले हामीलाई एउटा विश्वास दिलाउनुभएको थियो, सहमतिको । तर सभामुखको निर्वाचनमा आइपुग्दा त्यो ठीक उल्टो भएको छ । अहिलेसम्म कहिल्यै सभामुखको निर्वाचनमा मत विभाजन गर्नुपरेको थिएन, तर यसपटक भएको छ । संसद्मा आउनुभएका परिवर्तनकारी शक्तिहरू सुरुदेखि नै भागबण्डाको राजनीतिको विरोध गर्दै आउनुभएको छ । तर उहाँहरू पनि भागबण्डामा लाग्नुभएको छ । त्यसको परिणाम के हुन्छ ? हेर्दै जाऔंला ।’

सभामुख संसद्को रेफ्री हो, कुनै दलको स्वार्थमा नआउनु होला : श्रेष्ठ
नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादा र भूमिकाबाट कत्ति पनि विचलित नभई भूमिका निभाउनुपर्ने बताउनुभएको छ । विगतमा सभामुखबाट दल फुटाउने भूमिका भएको उल्लेख गर्दै सांसद श्रेष्ठले भन्नुभयो, ‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ । तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खुल्नु हुँदैन । फुट्न लागेको दल छ भने पनि बचाउने हो । फुटाउन सघाउने होइन । भोलि पनि त्यस्तो दिन आउन सक्छ । सभामुखज्यू, तपाईं कसैको स्वार्थमा नआउनुहोला, यदि जानुभयो भने इतिहासले त्यसलाई कालो धब्बा लगाएरमात्रै सम्झिनेछ ।’

मधेससँग लभ गरेर प्रचण्डले अर्कैसँग लगनगाँठो कसेको यादवको गुनासो
जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सांसद राजकिशोर यादवले प्रधानमन्त्री प्रचण्डले अभुतपूर्व मत पाइरहँदा उनीमाथि निकै विश्वास जागेको तर प्रचण्ड प्रचण्डको रूपमा नरहेर पुष्पकमल दाहाल बनेको त होइन भनी आशंकाहरू भइरहेको टिप्पणी गर्नुभएको छ । सांसद यादवले भन्नुभयो, ‘सिरहाका जनताले प्रचण्डलाई जितायो, उहाँले भावुक भएर मधेससँग लभ परेको भन्नुभयो । लभ मधेससँग गर्नुभयो लिभिङ टुगेदर कांग्रेससँग र लगनगाँठो अर्कैसँग गर्नुभयो ।’ सांसद, ठुल्ठूला पदमा बसेर अकुल सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानविन गर्न माग समेत गर्नुभयो ।

चित्रबहादुर केसीको प्रश्न : ‘अधिकार नै नहुने उपसभामुखको यति धेरै तारिफ किन ?’
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रतिनिधिसभा उपसभामुखको भूमिका भन्दा बढी कृत्रिम तारिफ भएको टिप्पणी गर्नुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले भन्नुभयो, ‘अहिले उपसभामुखमा जो बखान भएको छ, यो कृत्रिम बखान हो । उपसभामुखको आखिर अधिकार हुन्छ के ? हामीले देख्या छैनौँ ?’ उपसभामुखको यति धेरै बखान गर्नेले सभामुखको उम्मेदवार किन नबनाएको भन्दै केसीले पुनः प्रश्न गर्नुभयो । सांसद केसीले अब सबै राजनीतिक दलहरूको लडाइँ राष्ट्रपति कसलाई बनाउने भन्नेमा पर्ने जिकिर गर्दै भन्नुभयो, ‘सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिन्छ । त्यसले गर्दा राष्ट्रपतिले, सभामुखले दूधको-दूध,पानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ ? सक्दैन ।’

संसद्मा नउठ्दैमा मधेसका शहीदको अपमान गर्‍यो भन्न पाइँदैन : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ५ माघमा सांसद सीके राउतले मौन धारण गराउँदा नउठेकै आधारमा मधेस आन्दोलनका शहीदको सम्मान नगरेको भन्न नमिल्ने बताउनुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री लिङ्देनले भन्नुभयो, ‘संसद्को मर्यादा हुन्छ, उहाँ रुलिङ सभामुखको चल्छ, यति कुरा पनि दोस्रो पटक निर्वाचित भएको मैले बुझिन भने, म भावनामा बगेँ भने संसद्मा परम्परामा राम्रो छोड्दैन । कि सभामुखले रुलिङ गर्नुप¥यो । कि मेरो प्रधानमन्त्री उठ्नुपर्‍यो ।’ उक्त दिन संसद्मा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस आन्दोलनका शहीदको सम्झनामा सबैलाई उठेर मौन धारण गर्न आग्रह गर्नुभएको थियो ।

प्रभु साहको प्रश्न : उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ?
स्वतन्त्र सांसद प्रभु साहले यति धेरै उपप्रधानमन्त्री केका लागि चाहिएको भन्दै प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले भन्नुभयो, ‘अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरू, के यति जरुरी थियो ? के आवश्यकताको कोणबाट यति उपप्रधानमन्त्री बनाएको हो ? यो उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ? नेपाली जनतालाई उत्साहित गर्छ ?’

सशस्त्र युद्धमात्र राजनीतिक उपलब्धि होइन् : सांसद शाही

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सशस्त्र युद्ध र सडक आन्दोलनबाट मात्र राजनीतिमा स्थापित भइन्छ भन्ने मान्यता तोडिँदै गएको बताउनुभएको छ । शनिबार प्रतिनिधिसभामा बोल्दै सांसद शाहीले भन्नुभयो, ‘राजनीतिक उपलब्धि भनेको सिर्फ सशस्त्र युद्ध वा सडक आन्दोलनबाट स्थापित हुन्छ भन्ने मान्यतालाई तोड्नु र समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीति स्थापित हुन्छ भन्ने स्थापित गर्नु भनेको कुनै व्यक्ति र दलको समर्थन गर्नु होइन ।’

अंकगणितको खेलले नागरिक मतको अपमान हुन्छ : गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले अंकगणितको खेलमा लागे नागरिकको मतको अपमान हुने बताउनुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गौतमले अमूल्य मत दिएर पठाउने नागरिकको प्रत्येक मतको सदुपयोग गर्नुपर्ने बताउँदै भन्नुभयो, ‘अंकगणितको खेलमा मात्रै लाग्ने हो भने नागरिकको मतको अपमान हुन्छ । नागरिक हुनुको परिचय तब दिन सक्छौ, जब मत दिएर पठाउनेको अमूल्य मतको सदुपयोग गर्छौ । लोक रिझ्याँइको भुलभुलैयामा नलागौं । नयाँ चिन्तनका साथ प्रस्तुत होऊँ ।’

पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्नेछु : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ । सभामुखमा निर्वाचित भएपछि पहिलो पटक सभा सञ्चालन गर्नु अगाडि उहाँले आफूलाई निर्वाचित गरेकोमा सांसदहरूलाई धन्यवाद दिनुभयो । साथै, सभामुख घिमिरेले विगतका अभ्यासबाट पाठ सिकेर पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने वाचा गर्दै भन्नुभयो, ‘नेपालको संविधानले अंगिकार गरेको जनतामा निहीत सार्वभौम सत्ताको प्रयोग नेपाली जनताले आवधिक निर्वाचनको माध्यमबाट गरी यो प्रतिनिधिसभा गठन भएको छ । जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रूपमा आत्मसाथ गर्नु मेरो प्राथमिक दायित्व हो ।’ सभामुख घिमिरेले प्रतिनिधिसभा सांसदहरूलाई सभामा प्रस्तुत हुँदा रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताका लागि आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?