बुद्धले हवाई उडानलाई थप सुरक्षित बनाउने

Read Time = 3 mins

काठमाडौं । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडान थप सुरक्षित बनाउने गरी काम सुरु गरेको बताउनुभएको छ । बुद्ध एयरद्वारा आइतबार आयोजित विमान मर्मतसम्भार र सञ्चालनसम्बन्धी अन्तरक्रियामा उहाँले हवाई यात्रा थप सुरक्षित बनाउन र भविष्यमा आउन सक्ने चुनौती सामना गर्ने गरी काम भइरहेको बताउनुभएको हो ।

नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालनका हिसाबले सुरक्षित रहेको बस्नेतको दाबी छ । उहाँले बुद्ध एयरको मुख्य उद्देश्य नै वित्तीय कारोबार तथा सूचना पारदर्शिता राख्ने भएको बताउनुभयो । बुद्ध एयरले गत माघ १ गते भएको हवाई दुर्घटनापछि हवाई उडान थप सुरक्षित बनाउन विमान मर्मतलगायतमा थप कडाइ साथ काम सुरु गरेको उहाँले जानकारी गराउनुभयो ।

बुद्ध एयरले कुनै पनि प्राविधिक तथा अन्य सूचना लुकाउने नगेरको पनि उहाँले जिकिर गर्नुभयो । प्रबन्ध निर्देशक बस्नेतले हवाई उडान, उडानको प्राविधिक पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य गरेको भन्दै उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गर्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘टेक्निकल र प्राविधिक विषयमा जानकारी नगराउँदा प्राधिकरणले उडान रोक्छ । बुद्ध एयरले सूचना प्रवाहको विषयमा जवाफदेहिता प्राधिकरणसँग मात्रै हुन्छ । उहाँहरूसँग निरन्तर संवाद भइरहेको हुन्छ । बुद्ध एयरको २५ वर्षको अनुभवमा प्राधिकरणसँगकोे सहकार्य युनिक र फलदायी छ । प्राधिकरण नभएको भए बुद्ध एयरले अहिलेको अवस्थामा हवाई क्षेत्रमा वृद्धि गर्न सक्ने थिएन ।’

अन्तरक्रिया कार्यक्रममा सम्बद्ध क्षेत्रका विज्ञहरूले विमानहरू पुराना नहुने बताएका छन् । उनीहरूले विमानका पार्टपूर्जा पुरानो हुने भएकाले निश्चित समयमा पार्टपूर्जा परिवर्तन गरी उडान गर्नुपर्ने बताए । अन्तरक्रियामार्फत् बुद्ध एयरले हवाई उडान सुरक्षित बनाउन विमान मर्मत र पार्टपूर्जाका लागि अर्बौं लगानी गरेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?