माछापालन गर्न भन्दै एक करोड खर्च, पोखरीको छैन नामनिसान

हिमालय टाइम्स
Read Time = 3 mins

सुर्खेत । माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको एक करोड रुपैयाँ बालुवामा पानीझैँ भएको छ । भेरी नगरपालिका-१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशुपालन सहकारी संस्थालाई आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७८/७९ सम्मा जम्मा एक करोड रुपैयाँ माछाको भुरा उत्पादन तथा माछापालन भन्दै भुक्तानी भएको छ । उक्त सहकारीले अनुदानमा निर्माण गरेको माछाको भुरा उत्पादन तथा माछापालन काम अलपत्र परेको छ । जमिनबाट पानी निकालेर माछा पोखरीमा निरन्तर पानी प्रयोग गर्ने भन्दै स्थापना गरिएकोे डिप बोरिङ मेसिनसमेत खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ ।

भुरा उत्पादनका लागि हेचिङ पलान्टसमेत अलपत्र अवस्थामा पुगेको छ । आर्थिक आर्थिक वर्ष २०७८/७९ मा पनि यो सहकारीले केही रकम लिन बाँकी रहेको सूचना अधिकारी तिलकबहादुर रानाले बताउनुभयो । अघिल्लो वर्षको रकम भुक्तानी हुने क्रममा रहेको उहाँले बताउनुभयो । ढिला फाइल बुझाएका कारण रकम भुक्तानी हुन नसकेको हो । अहिले भुरा उत्पादन हुने भनिएको ठाउँमा रहेका पोखरीहरू चिराचिरा परेका अवस्थामा रहेका छन् ।

पोखरी बचाउन राखिएका घेराबार भत्किएका अवस्थामा छन् । पोखरीभित्र राखिएको प्लाष्टिकहरू च्यातिएर काम नलाग्ने अवस्थामा पुगेको छ । शक्ति केन्द्रको पहुँचमा उक्त बजेट सहकारीमा हालेर काम नगरी अलपत्र पर्दा प्रदेश सरकारको बजेट मात्र खेर गएको कर्मचारीहरूसमेत बताउँछन् ।

माछापालन तथा भुरा उत्पादनको नाममा लाखौँ रकम झ्वाम पारेको स्थानीयवासीको भनाइ छ । अहिले न यहाँ भुरा उत्पादन भए, न त माछापालन नै भयो ? पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सहकारीलाई ताकेता गर्दा सहकारीका पदाधिकारीले ध्यान नदिएको कार्यालय प्रमुख कलमबहादुर महताराले बताउनुभयो । अहिले फेरि सोही ठाउँमा १० लाख रकम आएको समेत उहाँले बताउनुभयो । पोखरीमा अहिले माटो भारी मात्रामा रहेको छ । सहकारीका अध्यक्ष शेरबहादुर बस्नेतलाई सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?