म्याग्दीको आलु खेतीमा देखियो डढुवा रोग, किसान चिन्तित

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीको आलु खेतीमा डढुवाको रोगको प्रकोप फैलिएको छ । यहाँका अधिकांश क्षेत्रमा लगाईएको आलुमा डढुवाको प्रकोप देखिएको हो ।

डढुवाले किसानको आलु सखाप भएपछि अहिले किसान चिन्तित छन् । कार्तिक महिनामा लगाईएको आलुमा माघ महिनामै डढुवा लागेर सखाप भएपछि आलु उत्पादन घट्ने भएको छ ।

व्यवसायिक रुपमा आलु खेती गर्दै आएका बेनी नगरपालिका, मालिका र रघुगंगा र मंगला गाउँपालिकाका किसानको आलु डढुवाले सखाप पारेको कृषि प्राविधिकहरुले बताएका छन् ।

अधिकांश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डढुवाको प्रकोप फैलिएको हो । चिसो मौसम सुरुवता भएपछि किसानले आलु खेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलु खेती नष्ट भएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । रघुगंगा गाउँपालिका ६ पाखापानी र ठाडाखानीका किसानले लगाएको आलुमा पनि डढुवाको संक्रमण फैलिएको ठाडाखानीका किसान दलबहादुर छन्त्यालले बताउनु भयो ।

खेती गर्दा ध्यान दिने र प्राबिधिकको सल्लाह अनुसार समयमै खेतीपातीको रेखदेख गर्ने गरेमा आलुलाई रोक किरा लाग्नबाट बचाउन सकिने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनु भयो ।

म्याग्दीमा व्यवसायिक रुपमा एक सय हेक्टर बढी क्षेत्रफलमा आलु खेती गरिएको छ । आलु सुपरजोन, स्थानीय पालिका र किसानको साझेदारी बिऊमा अनुदान पाई किसानले करिव एक हजार कुन्टल आलुको बिऊ लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

पछौटे डडुवा आलुबालिमा लाग्ने रोग मध्ये प्रमुख रोग भएको कृषि प्राविधक बानियाँले बताउनु भयो । उहाँकाअनुसार यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष बिकराल रूपमा बढी रहेको छ । पहाडी जिल्लाहरुमा पनि वर्षेनी यो रोगको प्रकोप बढीरहेको छ भने तराईका जिल्लामा महामारीको रुपमा फैलिसकेको छ ।

यसको लक्षण संक्रमण शुरुको अवस्थामा पातमा हल्का हरियो रंगका विभिन्न आकारका थोप्लाहरु देखिने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले जानकारी दिनुभयो । अनुकुलन वातावरण पाईरहेमा थोप्लाहरुको भित्रि भागमा खैरो एवं सुकेको देखिन्छ ।
ओसिलो वातावरणमा ढुसीको अत्याधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेरा जस्तो देखिन्छ। रोग बढी हुँदै गयो भने पुरै पात सुकेर डढे जस्तो हुन्छ भने अनुकुल वातावरण भइरह्यो भने पात, काण्ड, डाठ र दानामा समेत संक्रमण हुने उहाँ बताउनु हुन्छ ।
फाइटफथोरा इन्फेस्टेन्स नामक ढुसी नै यो रोगको प्रमुख कारक तत्व भएको विशेषज्ञले बताएका छन् । यस प्रजातिका ढुसीहरु मध्ये मेटिङ टाइप पी १ र मेटिङ टाइप पी २ नामक उपप्रजाती नेपालमा पाईएका छन् ।

यस रोगको अनुकुल विकासको लागि बायुमण्डलको सापेक्षिक आद्रता ८०.९५५ र रातिको तापक्रम १०.१२ डिग्रसेल्सिय लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बिउ र माटोको माध्यमबाट यो रोग देखा पर्ने विशेषज्ञको भनाई छ ।

यो रोगको व्यवस्थापन गर्नका लागि म्यान्कोजेब वा बेभिस्टिन २ ग्राम १ लिटर पानीमा हालेर आधा घन्टासम्म बिउँलाई भिजाएर छाँयामा सुकाएर रोप्ने र ट्राइकोड्रामा आधा र ५० किलो कम्पोस्टमा मिसाएर २–३ रोपनीमा मिलाएर खेत जोतेर मौसम प्रतिकुल हुने संकेत देखिने बित्तिकै कपरअक्सिक्लोराइड २ ग्राम १ लिटर पानीमा हालेर छर्ने तथा रोग लागेका बोटहरु तुरुन्तै हटाइ दिने सुझाव कृषि विशेषज्ञहरुको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?