राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नेलगायत यी हुन् माओवादी केन्द्रका निर्णय…

Read Time = 4 mins

काठमाडौं । सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्न पहल गर्ने निर्णय गरेको छ ।

दलहरुबीच राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतीका बीच माओवादी केन्द्रको शुक्रबार बसेको पार्टी स्थायी कमिटीले बैठकले सो निर्णय गरेको हो । एमालेसहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनु भयो ।

बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतीमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोही अनुसार अघि बढने नीति लिएको उहाँको भनाई थियो । उपाध्यक्ष महराले भन्नु भयो, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमती कायम गर्ने धेरै कमरेडहरुको आवाज आएको छ । राष्ट्रिय सहमती कहाँ हुन्छ ? राष्ट्रिय सहमती खोज्ने हाम्रो नीति छ । राष्ट्रिय सहमती हुन्छ कि हँदैन ? त्यो बाँकि छ । तर हाम्रो मत भने त्यो हो । अरु पार्टीसँग छलफल गर्न हुन्छ । एमालेसहितको राष्ट्रिय सहमतीमा जाने हो । त्यसमा एमालेलाई धोका दिने भन्ने हुँदै होइन । राष्ट्रिय सहमती कायम गर्न पहल गर्ने हो ।’

उपाध्यक्ष महराले पार्टी एकतासम्बन्धि प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनसम्बन्धि प्रतिवेदन र अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धि प्रतिवेदन बैठकमा पेश गर्नु भएको थियो । पार्टी एकतासम्बन्धि प्रतिवेदनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पार्टी एकताका लागि संस्थागत रुपमा वार्ता प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि एकताका लागि व्यक्तिगत रुपमा पहल सुरु गरिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको उपाध्यक्ष महराले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आजको बैठकमा खास गरेर तीन जना कमरेडहरु मैले पार्टी एकता सम्बन्धि प्रतिवेदन पेश गरेँ । त्यसपछि जनार्दन शर्माले संगठन सम्बन्धि प्रतिवेदन र गिरिराजमणि पोखरेलले स्कुलिङ सम्बन्धि प्रतिवेदन पेश गर्नु भयो । र, हिजो अध्यक्षले पेश गर्नु भएको प्रतिवेदन र यी सबै विषयमा आज २७ जना कमरेडहरुले आ–आफ्नो मत राख्नु भयो । छलफल गर्नु भयो । अन्त्यमा अध्यक्ष कमरेडले महासचिवको नेतृत्वमा उपमहासचिवहरुको टिमलाई पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजनको ठोस योजना ल्याउने गरी पर्सी १६ गते ११ बजे फेरि बैठक बोलाइएको छ ।’

बैठकले स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको विषयलाई एकीकृत गर्न र पार्टीका केन्द्रिय कमिटीका नेताहरुको कार्यविभाजनको ठोस प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा उपमहासचिवहरुको टीमलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । हिजोबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठक पर्सी १६ गते आईतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?