पहेँलपुर तोरीमा टिकटक बनाउन रत्नेचौरमा पर्यटकको भीड (तस्वीर)

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । बेनी र बागलुङको बिचमा छ रत्नेचौर गाउँ । म्याग्दीको बेनी नगरपालिका वडा नं १ मा पर्ने यो गाउँ भूपि शेरचन राजमार्गको सुविधा सम्पन्न गाउँ हो । उत्तरतिर हेर्दा चाँदी झैँ टल्किने सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन यहाँ यो सिजनमा आन्तरिक पर्यटकहरुको भीड लागेको छ ।

पहेलै फुलेको तारीको विचविचमा हुर्कदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । तोरी फुलेको खेतको फाँटमा कालोपत्र गरिएको चिल्लो सडक मानिसहरुको भीडभाडले भाइरल बनेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ ।
झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारणहरु टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन् ।

रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डअन्तर्गत ९०० मिटरको कालोपत्र सडकको दायाँ र बायाँतर्फ लमतन्तै परेको खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमीमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौं पर्यटकहरु आउनेगरेको स्थानीयवासी समेत रहनुभएका भानुमाध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताउनु भयो ।

स्थानीयवासी सुशिला महत आफ्नो तोरीवारी र घरअगाडिको सडकमा दिनहुँ भीडभाड होला भनेर कहिल्यै नसोचेको बताउनुहुन्छ । घरअगाडि कालोपत्रे सडक आसपासमा पहेँलपुर फुलेको तोरीबारीमा भिडभाड हुन थालेपछि महत दंग पर्नुभएको छ ।
केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्रे भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् । शुक्रबार, शनिबार र सार्वजनिक बिदा भएमा अन्य दिनमा बढी भिड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्ने गरेको छ ।

स्थानीय नेत्रबहादुर महतका अनुसार, तोरी उत्पादन हुने सिजनबाहेक पनि कालोपत्र सडकमा तस्बिर, भिडियो खिचेर सामाजिक सञ्जाल तथा टिकटकमा राख्ने मानिसहरू मोटरसाइकल र गाडी चढेरै आउने गरेका छन् । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमालको दृश्यसँगै समथर फाँटको पहेँलपुर तोरीले स्थानीयवासीको व्यापारमा समेत सघाएको छ ।


रत्नेचौरमा यस वर्षदेखि अर्को आकर्षण पनि थपिएको छ । म्याग्दीको रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने ३ सय ८८ मिटर लामो झोलुंगे पुलमा रमाउन पनि यहाँ दैनिक दुई सय भन्दा बढी व्यक्तिहरु आउनेगरेका महतले बताउनु भयो ।

‘पुलमा खेल्न, तोरीमा रमाउन र वनभोज खानका लागि यहाँ बागलुङ,म्याग्दी र पर्वतका समेत मानिसहरु आउन थालेपछि थामिनसक्नुको भीड हुने गरेको छ’ स्थानीय गणेश वोगटीले बताउनु भयो ।

पर्यटकहरु आउन थालेपछि हालै खुलेका होटेलको कारोबारसमेत बढेको स्थानीय युवा सन्तोष महतको भनाइ छ । ‘तोरीबारी र कालोपत्र सडकले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ, घुम्न आउनेहरूको चहलपहललाई स्थानीयले राम्रो मानेका छन्,’ महतले भन्नुभयो । रत्नेचौर र उपल्लाचौरका करिब पाँच घरधुरीले तोरी खेती गरेका छन् । घरआँगन, खेतबारीमा लगाएको तोरीको तेल खोज्दै गाउँमा आउने ग्राहकलाई समेत बिक्री गर्न नसकिएको कृषकको भनाइ छ ।

तोरीबारीमा गएर फोटो र भिडियो खिच्दा क्षति हुने भएकाले धेरैले सडक आसपासबाटै खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । बागलुङको मुलपानीबाट रत्नेचौरको तोरीबारी घुम्न आउनुभएकी सरिता गौतमले टिकटकलगायत सामाजिक सञ्जालमा दैनिकजसो तोरीबारीको भिडियो र तस्बिर देखेपछि घुम्न आएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?