सत्ता गठबन्धनद्वारा राष्ट्रपतिको उम्मेदवार तय गर्न गृहकार्य सुरु

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । सत्तारूढ सात दलीय गठबन्धन नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले राष्ट्रपतिको उम्मेदवार चयनको गृहकार्य सुरु गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न सत्तारूढ दल सम्मिलित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ । बिहीबार अपराहृनका लागि बोलाइएको संयन्त्रको बैठक आज (शुक्रबार) बिहान बस्ने गरी स्थगित गरिएको थियो । बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जानकारी दिनुभयो ।

बुधबार अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीसँगको सहमतिपछि बिहीबारको लागि संयन्त्रको बैठक तय भएको थियो । तर, बैठक स्थगित गरेर ओली र प्रचण्ड वान टु वान छलफलमा बस्नुभएको थियो । गठन भएको दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिएपछि सत्तारूढ दलमा खटपट सुरु भएको छ । आज बस्ने बैठकमा मुख्यतः प्रचण्ड नेतृत्वको सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचन लगायतको विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको छ ।

सत्तारूढ गठबन्धनका मुख्य दुई घटक नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा मतभेद छ । नेकपा एमाले पूर्व-सहमतिअनुसार आफ्नो पार्टीले राष्ट्रपति पाउनुपर्ने अडानमा छ । तर, प्रधानमन्त्री प्रचण्डसहित उहाँको पार्टी माओवादी केन्द्र प्रधानमन्त्री नियुक्त भएको दिन पुस १० गतेको राजनीतिक दृश्य विश्वासको मत लिँदा पुस २६ गते परिवर्तन भइसकेकोले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ । कांग्रेस नेतृत्वको तत्कालीन पाँच दलीय सत्ता गठबन्धनमा सुरुको कार्यकाल प्रधानमन्त्री बन्ने विषयमा सहमति नभएपछि प्रचण्ड गठबन्धन नै छोडेर एमालेसँग सहकार्य गर्न पुग्नुभएको थियो । एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । तर, पुस २६ गते संसद्मा विश्वासको मत लिँदा विपक्षी दल कांग्रेसले समेत पक्षमा मत दिएपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिमा जोड दिँदै आउनुभएको छ । तर, नेकपा एमाले भने प्रधानमन्त्री माओवादी र राष्ट्रपति/सभामुख एमालेलाई दिने पूर्ववत् सहमतिविपरीत कुनै हालतमा जान नसकिने अडानमा छ ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस महामन्त्री थापाबीच भेटवार्ता
संसद्को सबैभन्दा ठूलो दल भए पनि आफ्नै अहंताले सत्ताविहीन बन्न पुगेको कांग्रेस राष्ट्रपति निर्वाचनबाट कमब्याक गर्ने प्रयासमा छ । यसका लागि कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा निर्णायक रहेको माओवादी केन्द्रलाई फकाउने रणनीति लिएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ । राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने सन्दर्भमा थापाले प्रधानमन्त्री प्रचण्डलाई भेटेको बताइएको छ । महामन्त्री थापा सभापति शेरबहादुर देउवाको सल्लाहअनुसार केही दिनअघि पनि प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । राष्ट्रपतिमा अहिलेसम्म नेपाली कांग्रेस र एमालेले उम्मेदवार उठाउने सार्वजनिक गरिसकेका छन् ।

कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारमा माओवादी केन्द्रको समर्थन प्राप्त गर्न सभापति देउवा, महामन्त्री थापाबाहेक नेताहरू पूर्णबहादुर खड्का र रमेश लेखक दौडधुप गरिरहनु भएको छ । माओवादीबाट पनि निर्वाचन अघिको गठबन्धन ब्युँताउन उपाध्यक्ष कृष्णबहादुर महरा, उप-महासचिव जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल लगायतका नेताहरू वातावरण निर्माणमा लागेको बताइन्छ । माओवादी नेतासँगको संवादमा रहनुभएका महामन्त्री थापा गठबन्धन ब्युँतिने परिस्थिति बन्दै गएको दाबी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डसँग डेढ घण्टाको भेटपछि थापा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुनेमा विश्वस्त देखिनुभएको छ । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने तयारी छ । प्रधानमन्त्री प्रचण्ड र माओवादीका दोस्रो तहका नेतासँगको छलफलमा कांग्रेसले रामचन्द्र पौडेलको नाम राष्ट्रपतिको उम्मेदवारका लागि अगाडि सारेको छ ।

सत्ता गठबन्धन चुनौतीपूर्ण अवस्थामा : ज्ञवाली
सात दलीय सत्तारूढ गठबन्धनको मुख्य घटक नेकपा एमालेले सत्ता गठबन्धन चुनौतीपूर्ण अवस्थामा पुगेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धन चुनौतीपूर्ण अवस्थामा पुगेको निष्कर्ष निकालेको हो । बैठकपछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन जोगाउन चुनौतीपूर्ण परिस्थिति रहेको बताउँदै गठबन्धन टिकाइराख्ने संकल्प गरेको जानकारी दिनुभयो । उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘जनतामा बढ्न थालेको निराशा लगायतका विषयलाई सम्बोधन गरेर सही राजनीति दिनको लागि यो गठबन्धन र सरकारलाई टिकाएर लानुपर्छ । चुनौती छन् तर टिकाएर लानुपर्छ भन्ने संकल्प गरेका छौँ ।’
रास्वपाले सरकारले छाडेको विषयमा समीक्षा हुँदै जाने जानकारी दिँदै ज्ञवालीले भन्नुभयो, ‘हामीले पुस १० गते नयाँ कोर्स निर्माण गर्दाको सहमतिअनुसार रास्वपालाई उसको भागमा परेको जिम्मेवारी दिनुपथ्र्यो । व्यक्ति कसलाई पठाउनुहुन्थ्यो उहाँहरूको कुरा हो । उहाँहरूले समर्थन कायमै राख्नुभएको छ । उहाँहरूलाई उपयुक्त वातावरण बनाएर ल्याउने प्रयास जारी छ ।’

उपमहासचिव ज्ञवालीले जसपा र नागरिक उन्मुक्तिलाई सरकारमा ल्याउन छलफल भइरहेको जानकारी दिनुभयो । गठबन्धनमा विश्वास टिकाइराख्न हिजोका प्रतिबद्धता कार्यान्वयन गर्न आवश्यक भएको भन्दै ज्ञवालीले गठबन्धनमा उत्पन्न भएका समस्याका विषयमा शुक्रबार बस्ने उच्चस्तरीय संयन्त्रको बैठकमा समीक्षा हुने जानकारी दिनुभयो ।

‘३२ सिटे दललाई आएको विश्वासको मत इतिहासकै आश्चर्यजनक’
सत्तारूढ गठबन्धनबीच खटपट भइरहेको बेला सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा ९९.२५ प्रतिशत विश्वासको मत आउनु आश्चर्यजनक नतिजा भएको बताउनुभएको छ । पार्टीको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको दस्तावेजमा ३२ सिट भएको दललाई यति धेरै विश्वासको मत आउनु आश्चर्यजनक भएको उल्लेख गर्दै प्रचण्डले भन्नुभएको छ, ‘महत्वपूर्ण र हाम्रो लागि निकै सुखद कुरा त के हो भने सदनमा ३२ सिट भएको हाम्रो पार्टीको नेतृत्वले प्रधानमन्त्रीलाई विश्वासको मतका क्रममा ९९.२५ प्रतिशत मत प्राप्त भई नेपालको संसदीय इतिहासकै असाधारण र आश्चर्यजनक नतिजा आयो । संसदीय इतिहासको यो असाधारण सहमति हाम्रो पार्टी शान्ति प्रक्रिया, परिवर्तनका हरेक एजेण्डाका लागि न्याय र सम्मानको विषय हो ।’

पार्टीको स्थायी कमिटी बैठकमा प्रस्तुत दस्तावेजमा प्रधानमन्त्री प्रचण्डले सरकारको समर्थनका दृष्टिले राष्ट्रिय सहमति देखिनु सुखद अवसर मात्र नभएर ठूला पार्टीहरूबीचको आपसी अन्तरद्वन्द्वले सरकार सञ्चालनका लागि गम्भीर चुनौतीहरू रहेकोमा आफू सजग भएको पनि उल्लेख गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?