सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता छ : गृहमन्त्री

तस्बिरः रासस

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

आईतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहँदा मुख्य जोड सडक दुर्घटनामै भएपनि अरु पक्षमा पनि सोच्नुपर्ने बताउनु भयो । गृहमन्त्री श्रेष्ठले सडक सुरक्षा र दुर्घटनाबाट बचाउनुका अतिरिक्त आम जनताको जीवनलाई सरकारी कार्यालयका कर्मचारी वा सेवाग्राहीहरु समयमै काम सम्पन्न गर्ने स्थिति बनाउने बारेमा सोच्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले सहज ढंगले यातायातलाई सञ्चालन गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले महानगरपालिका, ट्राफिक प्रहरी, नगरपालिकाहरु, यातायात व्यवस्था विभाग सबै निकाय मिलेर एकीकृत योजना बनाएर अघि बढेमात्रै यातायात क्षेत्रको व्यवस्थापन गर्न सकिने बताउनु भयो ।

उहाँले ट्राफिक व्यवस्थापन राम्रो गर्न नसके आम जनताको शान्ति सुरक्षा र सुव्यवस्थामा पनि असर गर्ने बताउनु भयो । उपप्रधानमन्त्रीसमेत रहनुभएका श्रेष्ठले पछिल्लो १० वर्षमा सशस्त्र द्वन्द्वको समयको भन्दा बढी मानिसको सडक दुर्घटनाका कारण मृत्यु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सडक दुर्घटनाबाट धेरै ठूलो क्षति व्यहोर्नु परिरहेको छ । १० वर्षको सशस्त्र संघर्षका क्रममा मृत्युकै कोणबाट जति नेपाली दाजुभाई दिदिबहिनीहरुको मृत्यु हुन पुग्यो । पछिल्लो १० वर्षमा सशस्त्र द्वन्द्वको समयको भन्दा वा त्यो भन्दा बढी नै दुर्घटनाबाट मृत्यु भएको छ । त्यस प्रकारको कहाली लाग्दो दुःखद् स्थितिको अन्त्य गर्नु कम सेकम त्यसलाई प्रभवकारी रुपमा यस प्रकारको स्थिति आउन नदिनु हामी सबैको गम्भीर जिम्मेवार भित्र पर्छ । यसका बहुआयामिक पक्ष छन् । ट्राफिक प्रहरीको भुमिका महत्वपूर्ण छ तर त्यो मात्रै होइन, सडकको गुणस्तर, सडकको क्षमता, हाम्रा सवारी साधनको गुणस्तरियता, हाम्रो सवारी चालक र अरु पनि जनसमुदायको चेतना र आचरण धेरै कुरामा यो निर्भर पर्छ । त्यसैले हामीले समग्रतामै यसबारेमा सोचेर अभियान सञ्चालन गर्नुपर्ने, सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता छ । तर ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहँदा मुख्य जोड सडक दुर्घटनामै भएपनि अरु पक्षमा पनि हामीले बुझ्नुपर्छ । यसले सडक सुरक्षा र दुर्घटनाबाट बचाउनुका अतिरिक्त आम जनताको जीवनलाई सरकारी कार्यालयका कर्मचारी वा सेवाग्राहीहरु समयमै काम सम्पन्न गर्ने स्थिति बनाउन सक्छौँ की सक्दैनौँ भन्नेकुरामा पनि यसको ठूलो महत्व छ । सहज ढंगले यातायातलाई सञ्चालन गर्ने वातावरण बनाउनु पर्छ । कुनै एउटा निकायले मात्रै सक्दैन । महानगरपालिका, ट्राफिक प्रहरी, नगरपालिकाहरु, यातायात व्यवस्था विभाग सबै निकाय मिलेर एकीकृत योजना बनाएर अघि बढ्नुपर्छ । सार्वजनिक यातायात नबढाएर, हामी जे जतिसुकै निजी सवारी चलाउनुपर्ने बाध्यात्मक स्थिति सिर्जना गर्छौं भने जस्तोसुकै सडकको स्थिति भएपनि धान्न नसक्ने स्थिति हुन्छ । सरकारको ध्यान यसमा गएको छ । ट्राफिक व्यवस्थापन राम्रो गर्न नसके आम जनताको शान्ति सुरक्षा र सुव्यवस्थामा पनि असर पर्छ ।’

गृहमन्त्री श्रेष्ठले सार्वजनिक यातायात नबढाएसम्म सडकको स्थिति राम्रो भएपनि धान्न नसक्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?