विवाह विमर्श

हिमालय टाइम्स
Read Time = 16 mins

✍️ डा. नारायणप्रसाद निरौला

सृष्टि प्रक्रियालाई जीवन्त तुल्याउने कार्य विशेष नै विवाह हो । मानवले औपचारिकता निर्वाह गरेर विवाह गर्दछन् भने मानवेतरको अनौपचारिक विवाह भएको हुन्छ । प्रकृति र पुरुषको संयोगबाट सृष्टिको सुरुवात विवाहपश्चात् हुने गर्दछ । ब्रहृमचर्यमा रहनु, सन्यस्त हुनु भिन्न कुरा हो अन्यथा संसारका हरेक मानव जाति वैवाहिक जीवनमा बाँधिएका हुन्छन् । जीवनचक्रलाई निरन्तरता दिन नै विवाहका विधि अवलम्बन गरिन्छन् । हरेक सजीव प्राणीको सृष्टि प्रक्रिया यही प्रणलीमा आधारित छ पाइन्छ । मानव सचेत प्राणी भएर नै विवाह विधिलाई विशेष बानउने गर्दछन् । संसारमा विवाह विधि भिन्न भिन्न प्रकृतिका पाइन्छन् । मूलतः स्त्री र पुरुषबीचको सहअस्तित्वको स्वीकार नै विवाहमा हुने गर्दछ । जसलाई कसिलो बनाउन अनेका विधि र प्रक्रिया अवलम्बन भएका पाइन्छन् ।

वेद सर्वप्राचीन ग्रन्थ भएकाले वैदिक पद्धतिलाई सर्वप्राचीन मानिन्छ । गृहस्थ आश्रम एवम् पारिवारिक संरचनाको आधार विवाह भएकाले वैवाहिक जीवन व्यक्तिको महत्वपूर्ण अध्याय हो । मनुले विवाहलाई स्त्री-पुरुषको सम्बन्धलाई मर्यादामा राख्ने लोक काल्याणकारी प्रथा मानेका छन् । उनका मतमा विवाहको परिभाषा यस्तो छ : ‘लोकयात्रा नित्यं स्त्रीपुंसयोः शुभा’ (मनु, ९।२५) । विवाह पारिवारिक स्थिरता, सांसारिक सुुख र पारलौकिक कल्याणका लागि आवश्यक मानिन्छ । विवाह सृष्टिको मूल कारण हो । सृष्टिकालदेखि निरन्तर चलिआएको स्त्री धारा र पुरुष धाराको संयोग हुनाले विवाह एउटा प्राकृतिक संस्कार पनि हो । जसको प्रक्रिया स्वभाविक रूपले सृष्टिको रूपमा फैलिएको छ ।

विवाहको मूल उद्देश्य स्त्रीधारालाई पुरुषधारामा मिलाएर सृष्टिको विस्तार गर्नु हो । दुवै धाराको सम्मेलन नै सृष्टि विस्तारको कारण हो । प्राकृतिक प्रेरणाबाट हुने यस किसिमको सम्मेलनको परिणाम आजको विश्व हो । विवाहको अर्थ विशेष किसिमले दायित्व वहन गर्नु हो ।

संसारमा सानोभन्दा सानो अणुदेखि परमाणुसम्म यसै प्रक्रियाद्वारा सृजित भएका हुन्छन् । मानव, पशु पक्षीमात्र नभई वनस्पति जगत्मा पनि स्त्री–पुरुष संयोगको आवश्यकता पर्ने कुरा आजको विज्ञानले पनि पुष्टि गरिसकेको छ । अझ जड पदार्थमा पनि दुई फरक वस्तुको सयोगबाट कार्य हुने गर्दछ । जस्तै बिजुली पनि धनात्मक र ऋणात्मक दुई तारको प्रवाहबाट बल्ने गर्दछ । यसैगरी चुम्बकीय आकर्षण र विकर्षण शक्ति पनि यसैका उदाहरण हुन् ।

स्त्रीत्व परमात्माको प्रकृति शक्ति हो भने पुरुष धारा पुरुष शक्ति हो । ‘प्रकृतिं पुरुषं चैव विद्वयनादी उभावपि’ भन्ने वचन अनुसार यी दुवै शक्ति अनादि र स्वतन्त्र छन् । जसरी राधा पनि स्वयं भगवान् श्रीकृष्ण हुनुहुन्छ र कृष्ण पनि स्वयं नै । सृष्टि गर्ने संकल्प गर्दा स्वयं परमात्मा दुई भागमा विभक्त भएका छन् : ‘द्विधा कृत्वात्मनो देहमद्र्धेन पुरुषोऽभवत् । अद्र्धेन नारी तस्यां सः विराजमसृजत् प्रभुः ।।’ अर्थात् स्वेच्छामय परमात्माको शरीर दुई भागमा विभक्त भई दायाँ अंश पुरुष र बायाँ अंशबाट स्त्री भएको कुरा देवी भागवतले स्पष्ट गरिदिएको छ : ‘स्वेच्छामयः स्वेच्छयाऽयं द्विधा रूपो वभूव ह । स्त्रीरूपो वामभागांशो दक्षिणांशः पुमान् स्मृः ।।’

स्वतन्त्र रूपमा रहेका प्रकृति र पुरुष दुई शक्तिको परस्पर सहयोगविना सृष्टिको कुनै कार्य सम्पन्न हुँदैन । परमात्मा पनि शक्तिविना निष्क्रिय बन्छन् । परात्माको सौन्दर्य, ऐश्वर्य एवं माधुर्य आफ्नै शक्ति प्रकृतिको कारण हो । प्रकृतिको शक्तिविना केही पनि गर्न नसक्ने कुराको पुष्टि भगवानकै वचन : ‘प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः । मयाध्यक्षेण प्रकृतिः सूयते स चराचरम् ।।’ अतः ईश्वरको ईश्वरता उनकै शक्तिमा आश्रित छ ।

विवाहको मूल उद्देश्य स्त्रीधारालाई पुरुषधारामा मिलाएर सृष्टिको विस्तार गर्नु हो । दुवै धाराको सम्मेलन नै सृष्टि विस्तारको कारण हो । प्राकृतिक प्रेरणाबाट हुने यस किसिमको सम्मेलनको परिणाम आजको विश्व हो । विवाहको अर्थ विशेष किसिमले दायित्व वहन गर्नु हो । विवाहित स्त्री पुरुषका जीवनमा पारिवारिक, आर्थिक, धार्मिक, सााजिक आदि दायित्व हुन्छन् । यिनै दायित्वमा बाँधिने कार्य विशेष नै विवाह हो । मनुले आठ प्रकारका विवाहको चर्चा गरेका छन् । ‘ब्राहृमो दैवस्तथैवार्ष प्राजापत्यस्थासुरः । गान्धर्वौ राक्षसश्चैव पैशाचष्टमोऽधमः ।।’ (मनु ३।२१) अर्थात् ब्राहृम, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धर्व, राक्षस र पैशाच गरी आठ प्रकारका विवाह हुने गर्दछन् ।
कन्यालाई वस्त्र अलङ्कारले सिँगारेर विद्वान् शीलवान् वरलाई बोलाई कन्यादान गर्नु ब्राहृम विवाह हो । जसलाई विवाहको उत्कृष्ट पद्धति पनि मानिन्छ । यज्ञमा यज्ञकर्ता ऋत्विक्लाई अलंकार आदिले सजिसजाउ गरी कन्यादान गर्नु दैवविवाह हो । यो विवाह पद्धति पनि उपयुक्त मानिन्छ । यसैगरी यज्ञादि धर्म कार्यका लागि वरबाट एक अथवा एक जोडा गाई लिएर विधिपूर्वक कन्यादान गर्नु आर्ष विवाह हो । जुन ऋषि परम्परामा प्रचलित रहेको थियो । वरबधू मिलेर गृहस्थ धर्मको आचरण गर भनेर विधवत् वरको पूजा गरी कन्या दिनु प्राजापत्य विवाह हो । स्वेच्छाले कन्या वा कन्याका कुटुम्बलाई धन दिएर गरिने विवाह आसुर विवाह हो । यस्तो विवाहलाई निन्दनीय मानिएको छ ।

केटा र केटीको परस्पर प्रेम भएर हुने संयोग गान्धर्व विवाह हो । दुष्यन्त र शकुन्तलाको गान्धर्व विवाह भएको थियो । आजको लभ म्यारिज पनि यही गान्धर्व विवाहमा पर्छ । यस्तो विवाहलाई पनि शास्त्रले उचित मानेको छैन । कन्या पक्षालाई कुटपिट गरी लुटेर कन्यालाई रुवाउँदै बलपूर्वक हरण गरी गरिने विवाहलाई राक्षस विवाह भनिन्छ जुन निन्द्य छ । यसैगरी निदाएको अवस्थामा स्त्रीत्व हरण गरी विवाह गर्नु पैशाची विवाह हो जसलाई पनि अधम विवाहको कोटीमा राखिएको छ । मनुले बताएका आठ विवाह मध्यै सुरुका चारवटालाई राम्रा स्तुत्य विवाह मानिएको छ भने अन्य चार विवाहलाई निन्दनीय मानिएको छ ।

वैदिक विवाह पद्धति आफूमै व्यवस्थित र वैज्ञानिक रहेको छ । पाश्चात्य विवाह पद्धतिभन्दा पूर्वीय पद्धति विशष्टि र व्यवहार उपयोगी एवं जीवनोपयोगी सिद्ध भएको पाउन सकिन्छ । पाश्चात्य विवाह पद्धति छोटो छ । चर्चमा गएर सपथ लिई औँठी लगाएपछि विवाहको मूल विधि सकिन्छ । तर, वैदिक विवाह पद्धतिमा विवाहको मूल कार्यक्रम मात्र दिनभर लाग्छ । यसको पूर्वाङ्गदेखि उत्तराङ्गसम्मका दिन जोड्ने हो भने चार पाँच दिन लाग्ने गर्दछ । पाश्चात्य पद्धतिको तुलनामा पूर्वीय पद्धति थप विशेष र प्रक्रियाबद्ध रहेको छ । विशेषगरी कोरियन्, जापानी, चिनियाँ विवाह पद्धतिहरू केही विस्तृत पाइन्छन् । वैदिक पद्धति जस्ता प्रक्रियाबद्ध भने कमै पाइन्छन् । त्यसैले व्यवस्थित र प्रक्रियाबद्ध विधि भनेको वैदिक नै हो भन्न सकिन्छ ।

वैदिक विवाह पद्धतिअन्तर्गत सर्वप्रथम कन्या माग्ने कार्य हुन्छ । जसका लागि आफन्त मान्यजनसहित वर कन्याका घरमा जानु पर्दछ । गोत्र प्रवर, हाड नाता सवै केलाएर ज्योतिषीय दृष्टिले समेत उचित देखिएपछि वाग्दान विधि गरिन्छ । वाग्दान भनेको वचनले कन्या दिनु हो । यसरी वाग्दानपूर्व कन्याले स्वयं वर रोज्न पाउने विधान पनि रहेको छ । स्वयंवर भनेको कन्याले आफ्नो वर आफैँ चुन्नु हो । हाल आएर यो पद्धति वाग्दान पश्चात् गर्ने चलन रहेको छ । उक्त अवसरमा औँठी लगाइन्छ । पाश्चात्य पद्धतिमा यही स्वयंवर मात्र हुने गर्दछ । यसरी वाग्दान र स्वयंवरपछि उचित दिन जुराइन्छ र विवाहको मूल कार्यक्रम सुरु हुने गर्द्छ ।

विवाहको मूल कार्यक्रमअन्तर्गत जन्तीसहित वर कन्याको घरमा पुगेपछि वरणीको कार्यक्रम हुन्छ । वरणीमा कन्याका पिताले वरलाई विशेष विधानपूर्वक स्वागत गर्ने कार्य हुन्छ । यसरी स्वागत गरिसकेपछि पादप्रक्षलन गरिन्छ । पाद प्रक्षलन भनेको गोडाधुने कार्य हो । यसरी गोडा धोइसकेपछि विवाहको मूल विधि प्रारम्भ हुन्छ कन्यादानको । कान्यादान गर्ने पनि विशिष्ट विधान रहेको छ । यस अन्तर्गत वर र कन्या दुवै पक्षका तीन पुस्ते नाम उच्चारण गरिन्छ । कन्यादानलाई महादान पनि भनिन्छ ।

विवाहको मूल कार्यक्रमअन्तर्गत जन्तीसहित वर कन्याको घरमा पुगेपछि वरणीको कार्यक्रम हुन्छ । वरणीमा कन्याका पिताले वरलाई विशेष विधानपूर्वक स्वागत गर्ने कार्य हुन्छ । यसरी स्वागत गरिसकेपछि पादप्रक्षलन गरिन्छ । पाद प्रक्षलन भनेको गोडाधुने कार्य हो ।

यसरी कन्यादन गर्दा विशेष महासङ्कल्पको पनि उच्चारण गरिन्छ । कन्यादानलाई पाणीग्रहण पनि भनिन्छ । विधिपूर्वक कन्याको दाहिने हातको बुढी औला वरको हातमा सुम्पिने कार्य पाणीग्रहणको हो । यसरी वरले कन्यालाई स्वीकारेपछि लग्नग्रन्थी अर्थात् लगन गाँठो बाँधिन्छ । यसै साथ लगनको मंगल स्वरूप पोते लगाइदिने पद्धति पनि रहेको छ । यो विवाहको मुख्य कार्य हो । यसपछि वरबधूले सँगै बसी देवताको पूजा हवन आदि गर्नुपर्छ । शिलारोहण, सप्तपदि, अष्टदिक् पूजन, सिन्दुरार्पण, मधुपर्क प्राशन, शैलाजाहुति पश्चात् पूर्णपात्रादि कार्य गरिन्छ ।

यति सकेपछि उक्त दिनको विविाह कार्यक्रम सकिन्छ र बधूलाई लिएरु वरसहित जन्ती वरको घरमा फर्कने गर्दछन् । यसपछि चतुर्थी कर्म गरिन्छ । चतुर्थी पछि दुरान जाने र दुरान फकाईसकेपछि विवाहको मूल कार्य सम्पन्न हुने गर्दछ । यसपछि वर्ष दिनसम्म बधु माइत आवतजावत गरिरहने विधान पनि रहेको छ ।

विवाह जीवनचक्रलाई निरन्तरता दिने कार्य हो । जीवनका यावत् पक्ष अनुभूत गर्दै सृष्टिलाई निरन्तरता दिनु विवाहको मुख्य ध्येय हो । यही उद्देश्य परिपूर्ति गर्ने माध्यम विवाह विधि हो । विवाहको वैदिक विधि सर्वप्राचीन रहेको पाइन्छ । जसलाई व्यवस्थिति बनाउन, सृष्टिक्रमलाई सबल तुल्याउन हाड नातामा विवाहलाई निषेध गरिएको हो । आजको विज्ञानले पनि हाडनाता भित्रबाट जन्मने शिशु दुर्बल रहने पुष्टि गरिसकेको छ । यसैले सृष्टिको निरन्तरतालाई दीर्घकालसम्म सबल तुल्याउन वैदिक विधि विधान बनाइएको हुन् । जुन आजको विज्ञानका दृष्टिमा पनि उचित मानिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?