कालीगण्डकी क्षेत्रका जलचर र जैविक विविधता नाँसिदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । शालिग्राम शिला पाइने विश्वकै एकमात्र पवित्र नदी कालीगण्डकी क्षेत्रमा मानवीय लापर्वाही र जलवायु परिवर्तनका कारण जलचर र जैविक विविधता नासिँदै गएको छ ।

वर्षेनी आउने बाढी पहिरो र अनियन्त्रित रुपमा जथाभावि भैरहेको नदी दोहनका कारण म्याग्दीका नदी तथा खोलाहरुबाट जलचर प्राणी लोप हुँदै जान थालेका छन् भने जैविक विविधतामा समेत ह्रास आउँदै गैरहेको हो ।

प्राकृतिक र मानवीय कारणले जलसम्पदा नासिदै र प्रदुषित हुँदै जान थालेपछि जलचर प्राणीहरुको अस्तित्व नै खतरामा परेको पाइएको छ ।कालीगण्डकी नदीबाट शालिग्राम लोप हुँदै गएको छ भने यहाँ पाइने असला माछा, चेपागाँडा, भुरा, गंगटो आदि हराउँदै गएका छन् ।

जथाभावी भैरहेको नदी दोहन, फोहरमैला विर्सजन तथा बाढी पहिरोका कारण कालीगण्डकी, म्याग्दी नदी र रघुगंगा नदीबाट जलचर प्राणी नासिनुका साथै यस क्षेत्रको जैविक विविधता खल्बलिदै गएको वन तथा वातावरण क्षेत्रका जानकार चन्द्रमणी सापकोटाले बताउनुभयाे ।

विगत ५वर्षदेखि यी जलाधार क्षेत्रमा गएको पहिरो, बाढी र अत्यधिक मात्रामा भएको नदीहरुको दोहनका कारण यी नदीहरुमा रहेका जलचरहरु लोप हुँदै गएकाे उहाँको भनाइ छ ।

भगवान विष्णुको प्रतिक मानेर पुजिने बहुमूल्य शिला शालिग्राम र जलचर प्राणीको वासस्थान मानिएको कालीगण्डकी नदीको नारच्याङ क्षेत्रदेखि सदरमुकाम बेनी सम्मको क्षेत्रमा जलचर प्राणीको अस्तित्व लोप हुँदै गएको पाइएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधिन जलविद्युत आयोजनाका कारण पानीको प्राकृतिक गुणमा परिवर्तन भै वातावरणीय असन्तुलन हुन थालेपछि जलचरको अस्तित्व संकटमा परेको सरोकारवालाहरुले बताएका छन् ।

नारच्याङ जलचर र जंगली जनावरहरुको वासस्थानका लागि अत्यन्त अनुकुल स्थानहरु भएको ठाउँ भनेर चिनिन्छ । पछिल्लो समय यहाँका नदी तथा खोलाहरुबाट विद्युत आयोजनाहरु निर्माण गर्ने होडबाजी नै चलेकोले यहाँका जलचरहरु संकटमा परेका नारच्याङमा निर्माणाधिन मिस्त्री खोला जलविद्युत आयोजनाको वातावरण इकाईमा कार्यरत शिवपुर्जाले बताउनुभयाे ।

नारच्याङमा १५७ मेगावाटका ५ वटा जलविद्युतआयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् । निर्माणाधिन अवस्थामा रहेका ती जलविद्युत आयोजनाहरुका स्रोत भनेका यहाँ रहेका नदी तथा खोलाहरु नै हुन् ।

त्यसैगरी बाढी पहिरो र नदीजन्य वस्तुहरुको अप्राकृतिक उत्खनन् पनि जलचरहरु नासिनुका मुख्य कारणहरु रहेका वातावरण संरक्षणकर्मीहरुले बताएका छन् ।

म्याग्दी नदी, कालीगण्डकी र रघुगंगा क्षेत्रमा गएका पहिरो र पहिरोसंगै विभिन्न स्थानहरुबाट आएको बाढीले नदीको जलचक्र प्रणाली नै खल्वलाइ दिएकोले जलचरको वासस्थान नास हुँदा उनीहरु लोप हुने अवस्थामा पुगेका वातावरण संरक्षणकर्मी ईश्वरी सिग्देलले बताउनुभयाे ।

उहाँकाअनुसार नदीमा आउने बाढीले नदीलाई धमिल्याइ दिएर आहाराको अभाव गराइदिने मात्र होइन त्यसले जलचरको अनुकुलन अवस्थालाई पनि क्षति पुर्‍याइदिने भएकोले त्यस ठाउँमा रहन सक्ने अवस्था नभए पछि जलचरहरु तल तलतिर सर्दै जान्छन् ।

मानवीय अतिक्रमण र प्राकृतिक सम्पदाको दोहन पनि जलचर प्राणी नासिदै जानुको अर्को कारण हो । म्याग्दीका तीनवटै जलाधार क्षेत्रमा नदीजन्य वस्तुहरुको चोरी निकासी बढेर गएको छ । नदीमा डोजर र स्काभेटर जस्ता भारी साधनहरु प्रयोग गरेर जथाभावी नदीजन्य वस्तुहरु निकाल्दा त्यसको असर जलचर प्राणीहरुमा पनि परेको र उनीहरु नासिदै गएका वातावरण संरक्षणकर्मीहरुको भनाइ छ ।

त्यसैगरी बजार तथा ग्रामीण क्षेत्रको फोहोर विर्सजन गर्ने ठाउँ नदी तथा खोलाहरु नै बन्ने गरेका छन् । नदीमा फोहोर विर्सजन गर्दा रासायनिक तत्वहरुको प्रभावले जलचर प्राणीको अस्तित्व जोखिममा परेको वातावरणवीद्हरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?