पालिका केन्द्रको सेवा गाउँ-टोलमै

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाले गाउँ-टोलमै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले एकीकृत घुम्ती सेवामार्फत गाउँ-टोलमै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।

उसले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा-वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँबाट समाधान गर्ने प्रयास गरेको छ । पालिकाले बुधबारदेखि पालिकाभित्रका ७ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो ।

पालिकाबाट हुने सेवाहरु लिन केन्द्रमा पुग्न नागरिकलाई झन्झटिलो हुनुको साथै समय र खर्चिलो हुने हुँदा गाउँ-टोलमै पुगेर सबै सेवाहरु एकै ठाउँबाट प्रवाह गर्न थालिएको पालिएकाले जनाएको छ । शिविरबाट गाउँपालिकाले योजना सम्झौता, योजना फरफारक, आयोजना सम्बन्धित अभिमुखिकरण, जेष्ठ नागरिक सम्मान, गरिव घरपरिवार परिचय पत्र वितरण, अपाङ्गता परिचय पत्र वितरण, ब्यवसाय दर्ता, औषधी वितरण, स्वास्थ्य परामर्श लगायतका सेवा प्रदान गरिरहेको छ ।

पालिकाले गाउँटोलमै पुगेर सेवा प्रवाह गर्न थालेपछि नागरिकहरु पनि खुसी भएका छन् । यसरी वडाबाट नै सेवा पाउँदा अत्यन्तै खुसी लागेको वडा १ बाकामलाङका पुर्णसिंह सारुले बताउनुभयो । शारीरिक रुपमा अपाङ्ग रहनुभएका उहाँलाई घरमै पुगेर पालिकाका कर्मचारीको टोलीले अपाङ्गता परिचय पत्र दिएपछि उत्साहित हुनुभयो । उहाँले परिचय पत्र लिनका लागि समेत पालिका जान नसकेको अवस्थामा स्थानीय सरकार आफै आएर दिएकोमा खुसी व्यक्त गर्नुभयो । आर्थिक अवस्था कमजोर भएकी तर उमेरले ७० काटिसक्नुुभएकी सीता सारु पनि गरिब घर परिचय पत्र बनाउन पालिका जान सक्नुभएको थिएन् । तर यसपालिका पालिकाबाटै आएर परिचय पत्र दिएपछि भने उहाँ पनि खुसी हुनुहुन्छ । ‘पालिकाको केन्द्रमा जान सकेकी थिइन्’ उहाँले भन्नुभयो- ‘गाउँमा नै सेवा पाउँदा सजिलो भएको छ ।’

उहाँ जस्ता धेरैले गाउँबाटै सेवा पाएपछि उत्साहित भएका छन् । गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने सेवा लिन गाउँपालिकाको केन्द्रमा नै आउनुपर्ने बाध्यताको अन्त्य गर्न तथा नागरिकलाई सेवा प्रदानमा सहज बनाउन शिविर अभियान सञ्चालन गरी सेवा दिन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुर्व दयालले बताउनुभयो । उहाँले भन्नुभयो ‘गाउँपालिकामा आएर सेवा लिँदा सेवाग्राहीको समय र पैसा धेरै खर्च हुन्छ, त्यसलाई केही हदसम्म कम गर्न शिविर चलाएका हौं ।’ गाउँपालिकाको कार्यालयबाट खटिएर गएका कर्मचारी ७ वटै वडामा पुग्ने र गाउँपालिकाको कार्यालयमा पुगेर लिनुपर्ने विभिन्न सेवा शिविरबाटै उपलब्ध गराईरहेको उहाँले बताउनुभयो । वडा १ बाट सुरु भएको अभियान ४ वटा वडामा सकिएको छ । क्रमशः सबै वडामा पुग्ने पालिकाका प्रशासकिय सहायक नारायण तिमिल्सीनाले बताउनुभयो । उहाँका अनुसार शिविरको दोस्रो दिनसम्म ५० जनाले गरिब परिचय पत्र पाएका छन् । जसमा ३२ जना महिला र २८ जना पुुरुष रहेका छन् । यस्तै अपाङ्गता परिचय पत्र १७ जनाले पाएका छन् । जसमा ७ जना महिला र १० जना पुरुष रहेका छन् । शिविरमा ६ जनाले व्यवसायी दर्ता गराएका छन् ।

यस्तै आयुर्वेद सेवा ३४ जनाले लिएका छन् । अहिलेसम्म ३३ वटा योजना सम्झौता भइसकेको तिमिल्सीनाले बताउनुभयो । गाडीको यात्रा गरेर गाउँपालिकाको केन्द्रमा आउँदा नागरिकलाई सास्ती हुने भएकाले जनतालाई सहज होस् भनेर शिविर सञ्चालन गरिएको उहाँको भनाई छ । ‘गाउँपालिकाको केन्द्र नजिकै रहेका सेवाग्राहीलाई समस्या नहोला । सेवा लिनकै लागि दुर्गमबाट आउनुपर्ने अवस्थामा नागरिकलाई सास्ती हुन्छ । गाडीमा आउँदा खर्च हुने, उहाँहरुको पूरै दिन जाने अवस्था छ’, उहाँले भन्नुुभयो । ‘सबै प्रकारका सेवा दिने गरी कर्मचारी र जनप्रतिनिधिहरु शिविरमा भेला भएपछि एकै दिनमा सयौँ जनालाई सेवा दिन सकिन्छ । हाम्रो काम नै जनताको अवस्थामा सकेसम्म सजिलो पार्ने हो, उहाँहरुलाई सघाउने हो ।’ शिविरमा गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, गाउँपालिका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व दयाल सहित विभिन्न शाखाका प्रमुखहरु सेवा प्रवाहमा खटिनुभएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?