म्याग्दी । पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँट । फाँटै भरी पहेलै भएर फुलेको तोरी र गहुँबालीको हरियाली । फाँटको बीचभागमा कालेपत्रे गरिएको सडक । सडकबाट उत्तरतर्फ फर्केर हेर्दा दन्तलहर जस्तै देखिने धौलागिरि, निलगिरि लगाएतका हिमश्रृङ्खला । केही समयदेखि सामाजिक संजालमा निकै भाइरल बनेको रच्नेचौरको सुन्दरता यतिबेला विश्वभरी नै छताछुल्ल भएको छ ।
म्याग्दीको बेनीनगरपालिका वडा नं १ मा पर्ने रत्नेचौरको सुन्दरता अहिले सामाजिक संजालभरी भाइरल भएको छ । सौन्दर्यावलोकन र कृषि पर्यटनका लागि अत्यन्तै सम्भावनायुक्त यही ठाउँमा एउटा यस्तो ऐतिहाँसिक र प्राकृतिक सम्पदा पनि छ, जो वर्षौदेखि प्राकृतिक सुन्दरताका पारखीहरुलाई कुरेर बसेको छ । त्यो ठाउँ हो धौलागिरि हिमालको प्रतिविम्व देखिने ऐतिहाँसिक बूढो पोखरी ।
बूढो पोखरीको इतिहाँस तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहसंग जोडिएको छ । राजा गिर्वाणयुद्धका मिरसुब्बा रहेका रत्नचौरका वसन्त बोगटीले विसं १८६६ मा राजाको इच्छा मुताबिक सो पोखरी निर्माण गर्न लगाएकाे ऐतिहाँसिक प्रमाण रहेको छ । तत्कालिन समयमा रत्नेचौरमा पानीको हाहाकार भएपछि मानव वस्ती नै विस्थापित हुने अवस्था आएकोले ढोडेनीबाट पानी ल्याइ यो पोखरी निर्माण गरिएको थियो ।
धौलागिरी क्षेत्र भित्रप्रशस्तै प्राकृतिक पोखरी भएता पनि रत्नेचौरको बूढो पोखरी भन्दा ठूला मानव निर्मित पोखरी नभएकाले पनि यो पोखरी चर्चित छ । तत्कालिन समयमा खानेपानीको समस्याले आजित भएका स्थानीयले निकै मिहिनेत गरेर यो पोखरी बनाएका रच्नेचौरको विकासका लागि खटिरहनु भएका भानु माध्यमिक विद्यालयका प्राचार्य भरत खत्रीले बताउनुभयाे ।
रत्नेचौरमा पानीको अभाव भएको कुरा आफ्ना मिरसुब्बामार्फत् राजा गिर्वाणयुद्धले थाहा पाएपछि राजाको इच्छा अनुसार नै पोखरी निर्माण गरी ढोडेनी खोलासम्म नहर खनी पानी ल्याइएको इतिहाँस छ । ठूलो संख्यामा जनशक्ति प्रयोग गरी पोखरी निर्माण गरेपछि रत्नेचौरमा खेतीपाती गर्न थालिएको थियो ।
पोखरी आसपासको क्षेत्रमा बगैंचा विस्तार गर्न ७ रोपनी जग्गा रहेको छ । अहिले सोहीजग्गामा बगैंचालगाएतका केही पूर्वाधारहरु थपगर्न थालिएको छ । पोखरीको पनि अहिले नयाँ स्वरुपमा मर्मत सम्हार गरिएको छ ।
अहिले पोखरीमा पानी भरिएकाे छ । घाम लागेको बेलामा धौलागिरि हिमालको पूर्ण प्रतिविम्व यस पोखरीमा देखिने गर्छ । त्यतिबेला यहाँको सौन्दर्य अत्यन्तै चित्ताकर्षक हुने गरेको स्थानीय रमेश बोगटीले बताउनुभयाे ।
बेनी-बागलुङ सडक खण्डको छेउमै रहेकाले त्यस सडकबाट ओहोरदोहोर गर्ने यात्रीहरु पोखरीमा पुगेर तस्बीरसहितको दृश्य लिन, टिकटक बनाउने गरेता पनि पोखरीको ऐतिहाँसिकतालाई समेत समेटेर यसको प्रचुर प्रचार गर्न नसक्दा अपार पर्यटकीय सम्भावना रहेको बूढो पोखरी अहिले पनि ओझेलमा नै परेको र पर्यटकहरुको पर्खाइमा रहेको भानु माविका प्रअ खत्रीले बताउनुभयाे । उहाँकाअनुसार पोखरीको इतिहाँसलाई राखेर प्रचारप्रसार गर्न सकेमा थप पर्यटक भित्राउन सहज हुनेछ ।
‘घुम्न आउने पर्यटकलाई पोखरीले पनि आर्कषित गरेको छ, आसपासका क्षेत्रमा थप पूर्वाधार विस्तारको तयारीमा छौ’ बेनीनगरपालिका वडा नं १ रत्नेचौरका वडाअध्यक्षटेकबहादुर रावलले भन्नुभयाे । विगतमा पोखरी मर्मत तथा केहीपूर्वाधार थपिएको बताउँदै पर्यटकलाई घुम्ने, तस्वीर, भिडियो लिन मिल्ने गरी थप संरचनाहरुका लागि समेत बजेट माग गरिएको उहाँले जानकारी दिनुभयाे । रत्नेचौरमा घुम्न आउनेलाई पोखरीलाई स्विमिङ पुलसहितको थप संरचना बनाएर दिनभरी पोखरी तथा आसपासका क्षेत्रमा घुमेर विताउने गरी पूर्वाधार बनाइने अध्यक्ष रावलले बताउनुभयाे ।
‘पोखरीको इतिहासले समेत पर्यटकलाई आर्कषित गर्ने छ, पुरानो इतिहास देखाउँदै नयाँ संरचनामा बनाउन जुटेका छौ’ प्रअ खत्रीले भन्नुभयाे । पोखरीबाटै विश्वकै सातौ अग्लो धौलागिरीसहितको हिमश्रृंखलासहित तोरीबारी तथा आसपासका रमणीय दृष्य देखिन्छ ।
एक सय मिटर लम्वाइ, ७० मिटर चौडाइ र पाँच फिट गहिराइ भएको यो पोखरीलाई रत्नेचौरमा मानववस्ती विस्तारको आधार मान्ने गरिएको छ । यहीँ पोखरीका कारण नै यहाँ मानववस्ती विस्तार भएको र खेतीगर्न थालिएको स्थानीय ८७ वर्षिय टंकराज महतले बताउनुभयो । रत्नेचौरमा लामो झोलुङ्गे पुल, निर्माणधिन अवस्थामा रहेको छ भने क्षेत्रीयस्तरको खेलमैदान, कालोपत्रे सडक तथा अन्य पूर्वाधारहरुले घुम्न जाने पर्यटकलाई आर्कषित गर्ने गरेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच