नेपोलीलाई १३ अंकको अग्रता

Read Time = 4 mins

एजेन्सी । इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले १३ अंकको अग्रता लिएको छ । रोमालाई दुई-एकले पराजित गरेपछि नेपोलीले उपाधि होडलाई थप मजबुद बनाएको हो । घरेलु मैदानमा नेपोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी सिमिओनले गोल गर्नुभयो । रोमाका स्टेफन अल सारावेले एक गोल फर्काउनुभयो ।

डिएगो अर्मान्डो म्याराडोना रंगशालामा नेपोली खेलको १७औँ मिनेटमा भिक्टर ओसिमहेनको गोलबाट अग्रता लिन सफल भयो । ७५औँ मिनेटमा स्टेफन अल सारावेले बराबरी गोल फर्काउनुभयो । त्यसपछि ८६औँ मिनेटमा जियोभानी सिमिओनले गोल गर्दै नेपोलीको जित पक्का गर्नुभयो ।

यस जितसँगै नेपोलीको २० खेलबाट ५३ अंक पुगेको छ । दोस्रो स्थानको इन्टर मिलानको ४० अंक छ । पराजित रोमा ३७ अंक जोडेर छैटौँ स्थानमा छ ।

यस्तै, अर्को खेलमा एसी मिलानले सस्सुलोसँग पाँच-दुईको लज्जास्पद हार बेहोर्‍यो । सस्सुलोका ग्रेगोआएर डिफ्रिल, डाभिड फ्राटेसी, डोमिनिको बेरारडी, अर्मान्ड लोउरेइन्ट र म्याथिअस हेनरिकले एक-एक गोल गर्नुभयो । मिलानका ओलिभर जिरुड र डिभोक ओरिगीले गोल फर्काउनुभयो ।

खेलको आठौँ मिनेटमा नै मिलानले गोल गरेको थियो तर रेफ्रीले त्यसलाई अफसाइड घोषणा गर्दा मान्यता पाउन सकेन । १९औँ मिनेटमा ग्रेगोआएर डिफ्रिलले गोल गर्दै सस्सुलोलाई एक-शून्यको अग्रता दिलाउनुभयो । २२औँ मिनेटमा डाभिड फ्राटेसीले गोल गर्दै सस्सुलोको अग्रता दोब्बर पार्नुभयो ।

२४औँ मिनेटमा ओलिभर जिरुडले मिलानका लागि गोल गर्नुभयो । ३०औँ मिनेटमा डोमिनिको बेरारडीले सस्सुलोका लागि अर्को गोल गर्नुभयो । ४७औँ मिनेटमा अर्मान्डले पेनाल्टीमा गोल गरेपछि सस्सुलो अग्रता चार-एकले अघि बढ्यो । ५४औँ मिनेटमा मिलानका एन्टी रेविचले गरेको गोलले पनि अफसाइड भन्दै मान्यता पाएन ।

७९औँ मिनेटमा म्याथिअस हेनरिकले र ८१औँ मिनेटमा डिभोक ओरिगीले गोल गर्दै खेललाई पाँच-दुईको स्थितिमा ल्याउनुभयो । यस हारसँगै मिलान २० खेलबाट ३८ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ । मिलानलाई हराएको सस्सुलो २० अंक जोडेर १६औँ स्थानमा छ ।

अर्काे खेलमा युभेन्ट्स घरेलु मैदानमा मोन्जासँग २-० ले पराजित भयो । मोन्जाको जितमा प्याट्रिक र डोनी माटाले गोल गर्नुभयो । यस जितसँगै मोन्जा २० खेलबाट २५ अंक जोडेर ११औँ स्थानमा छ । पराजित युभेन्ट्स २३ अंक जोडेर १३औँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?