विपन्न परिवारलाई सुधारिएको चुल्हो

विवेक खड्का दाङ, संवाददाता
Read Time = 5 mins

दाङ । दाङको गढवा गाउँपालिका-५ निवासी डिमबहादुर कुमालको घरमा सधैँ आगोमा भात पाक्छ । त्यसैले उहाँलाई हप्तामा एक दिन दाउरा खोज्न जंगल अनिवार्य जानुपर्छ । मुस्किलले ल्याएको दाउरा हप्ता दिनमा सकिन्छ । फेरि उही जंगलको यात्रा । धुवाँमा खाना पकाउँदा आँखा दुःख्ने, बेला-बेला टाउको दुख्ने समस्या बल्झिएकै छ ।

अब डिमबहादुरजस्तै दाउराको भरमा भातभान्सा चलाउनेहरूलाई सजिलो भएको छ । दाउराको परनिर्भरता घटाउन र धुवाँबाट जोगाउन सुधारिएको चुल्हो वितरण गरिएको छ । अब भात पकाउन पहिला जति दाउरा चाहिँदैन । धुवाँको सामना पनि गर्नुपर्दैन । ‘दाउराको भारी बोक्दा बोक्दै थाकिसकेँ । ग्याँसमा भातभान्सा गर्ने अवस्था छैन । दाउराको आगोमा पाक्छ,’ डिमबहादुरले भन्नुभयो, ‘अब दाउरा पनि थोरै चाहिन्छ भन्ने सुनेको छु । गरिब, दुखीलाई सजिलो होला ।’

आर्थिकरूपले पछाडि परेका गरिब, विपन्न तथा सीमान्तकृत समुदायका परिवारलाई लक्षित गरेर गढवा गाउँपालिकामा सुधारिएको चुल्हो वितरण गरिएको छ । नेपालमा वनको हस्क पावर चुल्हो पहिलो चरणमा १५० परिवारलाई निःशुल्क वितरण गरिएको हो । जोखिममा रहेका समुदायका लागि हरित प्रविधिमा आधारित तथा रोकथाम र नियन्त्रणमुखी भवन प्रणालीसम्बन्धी आपत्कालीन सहायता परियोजनामार्फत् चुल्हो वितरण गरिएको थियो । यो चुल्होको प्रयोगले वनमा भइरहेको परनिर्भरता घटाउँदै दाउरा खपतलाई घटाउने लक्ष्य राखिएको छ ।

जापान सरकार, युएन हृयाविटास नेपाल, सामुदायिक आत्मनिर्भर केन्द्र सिएस आरसीको सहयोगमा चुल्हो वितरण गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले सुधारिएको चुल्होले वनप्रतिको निर्भरता घटाउने विश्वास व्यक्त गर्नुभयो । ‘यो चुल्होले विपन्न परिवारलाई राहत दिनेछ । कम समय, कम दाउरा र कम धुवाँ आउनेछ । जसले परिवारलाई सजिलो बनाउनेछ ।’ गढवा गाउँपालिका वडा नं. ३, ४ र ५ का विपन्न नागरिकलाई चुल्हो वितरण गरिएको छ ।

जापानी राजदूतावासका डिपुटी चिफ अफ मिसनका तामुरा ताकाहिरोले चुल्हो हस्तान्तरण गर्नुभयो । कार्यक्रममा उहाँले नागरिकको स्वास्थ्य र आर्थिकस्थिति सुधार गर्न चुल्होले मद्दत गर्ने बताउनुभयो । ‘जापान र नेपाल दुई देशबीचको सम्बन्ध कायम भइरहनेछ । यो सहयोगले समुदायको उत्थानमा मद्दत पुग्ने विश्वास छ,’ उहाँले भन्नुभयो, ‘धुवाँले स्वास्थ्यमा पार्ने प्रभाव न्यून हुनेछ भने समयको बचत, खर्च थोरै हुने वातावरण बन्छ ।’ युएन हृयाविटाट नेपालका कार्यक्रम संयोजक राजाराम छतकुल्लीले खाना पकाउने सुधारिएको चुल्होले ६० प्रतिशतसम्म दाउराको खपत कम गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार यो चुल्होबाट खाना छिटो पाक्ने, ५० प्रतिशत समय र श्रम बचत हुने, एक ठाउँबाट अर्को ठाउँमा सजिलोसँग सार्न र खाना पकाउन सकिने, ८० प्रतिशतसम्म धुवाँ कम हुने, विषालु ग्याँस मनोअक्साइड उत्सर्जन कम हुने, खानाको स्वादलाई कायम राख्ने विशेषता रहेको छ ।

कार्यक्रममा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, वडा नं. ५ का अध्यक्ष लेखबहादुर थापा, वडा नं. ४ का अध्यक्ष हरिभगत चौधरी, युएन हृयाविटाट जापानका को-अडिनेटिङ अफिसर फुमीयासु इसिंगा, मिराकुल कम्पनी लिमिटेडका म्यानेजिङ डाइरेक्टर नोरीयुकी फुकाई, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजालगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण अभियान संयोजक कल्पना कार्कीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?