सिन्धुलीमा लाखौं खर्चेर बनाइएका पदमार्ग प्रयोग विहीन

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 6 mins

सिन्धुली । सिन्धुलीमा लाखौं खर्चेर बनाइएका पदमार्ग प्रयोगमा छैनन् । यहाँका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरुको उचित व्यवस्थापन र विकास नहुँदा ओझेलमा छन् ।

हरिहरपुरगढी र सिन्धुलीगढी जोड्न निर्माण गरिएको पदमार्ग, कमलामाई नगरपालिका–२ चियाबारीदेखि ऐतिहासिकस्थल सिन्धुलीगढीसम्मको ‘क्याप्टेन किनलोक पदमार्ग’, फिक्कल गाउँपालिका–३ चनौटेमा निर्माण गरिएको पदमार्ग प्रयोग विहीन भएका हुन् ।

नेपाल एकीकरणका क्रममा तत्कालिन गोर्खाली सैनिकहरु हिडेको ऐतिहासिक स्थलहरुलाई पर्यटकीय पदमार्गले जोड्ने योजनाअनुसार तीन बर्षअघि हरिहरपुरगढीको घण्टेदेखि सिन्धुलीगढीसम्मको ७५ किलोमिटर लामो पदमार्ग निर्माण थालिएको थियो । घण्टेदेखि जितपुरसम्मको १५ किमि लामो पदमार्ग निर्माण भएपनि बाँकी निर्माण नहुँदा अलपत्र छ । उक्त पदमार्ग समृद्ध सिन्धुली अभियानको अगुवाईमा निर्वाचन क्षेत्र विकास कोषको ४० लाख सहयोगमा निर्माण गरिएकोे थियो ।

हरिहरपुरगढी गाउँपालिकाका निवर्तमान् अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाका अनुसार अहिले यो पदमार्ग सदुपयोगविहिन अवस्थामा छ । त्यतिबेला दुई गढीलाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले खनिएको थियो ।

नेपाल एकीकरणका क्रममा राष्ट्र निर्माता पृथ्वीनारायण साहकी पत्नी ईन्द्रकुमारीले घण्ट चढाएको हरिहरपुरगढी गाँउपालिका–३ घण्टेस्थित महादेवको मन्दिरबाट निर्माण सुरु गरिएको पदमार्ग ऐतिहासिक हरिहरपुरगढी किल्ला, जितपुरगढी हुँदै जितपुरसम्म पुगेको छ । बाँकी सिन्धुलीगढीसम्मको ६० किमि लामो पदमार्ग अलपत्र छ । घण्टेदेखि जितपुरसम्मको ठाँउ–ठाँउको बाटोमा चौतारा, प्रतिक्षालय निर्माण भएको छ । पदमार्गमा पर्ने खोरभञ्ज्याङमा काठको कलात्मक प्रतिक्षालय निर्माण गरिएको स्थानीय बताउँछन् ।

सिन्धुलीगढीकोभन्दा पुरानो ईतिहास बोकेको हरिहरपुरगढी किल्ला अझै संरक्षण विहीनजस्तै छ । बाराको सिम्रौनगढमा बंगाल मुसलमान भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालिन राजा हरिसिंह देव विं.सं. १३७८ मा सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए । त्यही किल्लाले राज्यको रुप लिएको थियो । यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भनेर भन्न थालियो भन्ने किवन्ती छ । सिन्धुलीगढीमा भारतमा शासन गरि रहेको तत्कालिन अंग्रेज सेनालाई काठमाडौतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनाराण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंगे्रजी फौजलाई बि.सं. १८२४ मा बीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए ।

पर्यटन प्रबद्र्धनका लागि फिक्कल गाउँपालिका–३ चनौटेमादेखि फिक्कल भ्युटावरसम्म जान पदमार्ग छ । बागमती प्रदेश सरकार उद्योग, वन तथा पर्यटन मन्त्रालयको २८ लाख लागतमा ढुंगाको सिंढी बनाएर पाँच सय मिटर लामो पदमार्ग निर्माण भएको थियो । त्यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सात सय मिटर लामो पदमार्ग निर्माण गरिएको थियो । भ्यूटावर र यहाँको पदमार्ग अहिलेसम्म उद्देश्यअनुसार चलायमान हुन नसकेको स्थानीय शोभा लुइटेलले बताउनुभयो ।

कमलामाई नगरपालिका–२ चियाबारीदेखि ऐतिहासिकस्थल सिन्धुलीगढीसम्मको ‘क्याप्टेन किनलोक पदमार्ग’ नेपाल एकिकरणको बेला वि.सं. १८२४ को सिन्धुलीगढी युद्धमा क्याप्टेन किनलोकको नेतृत्वमा आएको अंग्रेज फौज हिडेको पैदल बाटोलाई पदमार्गका रुपमा निर्माण गर्ने योजना कमलामाई नगरपालिकाले अघि सारेको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाखको लागतमा चियाबारी, फेदी, सिउरानी, ढुंग्रेभन्ज्याङ हुँदै सिन्धुलीगढीसम्म उक्त पदमार्ग निर्माण भएको थियो । बीपी राजमार्ग निर्माणअघि निकै चहलपहल रहेको यो पदमार्ग अहिले ठप्प जस्तै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?