भुवनलाई सूर्य नेपाल ओपनको उपाधि

Read Time = 3 mins

काठमाडौं । दिनेश प्रजापतीलाई नौ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पूर्व नम्बर एक गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल हुनुभएको छ । उहाँ चार अण्डर ६४ को स्कोरसहित समग्रमा १४ अण्डर दुई सय ५८ को नतिजासहित उपाधि जित्न सफल हुनुभएको हो । उपाधिसहित भुवनले एक लाख १६ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । खेल करिअरको यो उहाँको १०औँ उपाधि हो । छ अण्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापतीले पाँच अण्डर दुई सय ६७ सहित दोस्रो हुँदै ७८ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । इभन पार ६८ स्कोर जोड्ने शुक्रबहादुर राईले समग्रमा एक अण्डर दुई सय ७१ को नतिजामा तेस्रो स्थान हासिल गर्नुभयो । पहिलो दुई दिनका लिडर रवि खड्काले चार ओभर ७२ स्कोरमा खेल सकाउँदा समग्रमा तीन ओभर दुई सय ७५ मा चौथो स्थान प्राप्त गर्नुभयो । तेस्रो र चौथो हुनुभएका शुक्र र रविले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गर्नुभएको छ ।

समग्रमा पाँच ओभर दुई सय ७७ सहित रमेश अधिकारी पाँचौँ, छ ओभर दुई सय ७८ सहित कृष्णमान राजबाहक छैटौँ र सात ओभर दुई सय ७९ स्कोरसहित सूर्यप्रसाद शर्मा सातौँ हुनुभएको छ भने अन्तिम दिन रमेशले एक ओभर ६९, कृष्णमानले पाँच ओभर ७३ र सूर्यले तीन ओभर ७१ स्कोर बनाउनुभएको छ ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन(एनपिजिए) को आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र पाँच एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए । विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?