सेवा विभागको अनुगमनमा स्वास्थ्यमन्त्री गिरी : खरिद प्रक्रियामा पारदर्शिता कायम नभए सैह्य हुँदैन

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।

जनतामा ठूलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने मन्त्री गिरीको भनाई थियो ।

बिहीबार काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा उहाँले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो विभिन्न समाचार माध्याममा आउने गरेको उल्लेख गर्दै त्यस्तो गरेको अव पनि पाइए सैह्य नहुने चेतावनी समेत दिनु भयो ।

मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहीत स्वार्थमा काम हुने गरेको पाइएको उल्लेख गर्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराउनु भयो । उहाँले अस्पतालहरुलाई पूर्ण रुपमा प्रविधिमैंत्री बनाउन पनि सम्बन्धित पक्ष लाग्नुपर्ने बताउनु भयो ।

मन्त्री गिरीले भन्नु भयो, ‘अहिले लगभग धेरैजसो मिडियाहरुमा यो खरिद प्रक्रियाको विषयलाई लिएर अनेक समाचारहरु बन्ने गरेका छन । खरिद प्रक्रियामा सत प्रतिशत पारदर्शीता कायम गर्नेगरी यहाँहरुले काम गर्नुहोला । भोली काँहीकतै यस्ता गुन्जायसहरु देखिए भने, रहे भने त्यतिबेला तपाईहरुलाई कसैले बोक्नेवाला छैन । साथ दिनेवाला छैन । यो धेरै संवेदनशील विषय छ । सबैको यसप्रति गम्भिर रुपले ध्यानाकर्षण भएको छ । यसमा तलमाथि भयो भने जनतामा ठूलो निराशा आउन सक्छ । त्यसकारण खरिद प्रक्रियामा हन्ड्रेड परसेन्ट शुद्धता कायम गरियोस् । त्यहाँ कुनै पनि किसिमको नीतिगत भ्रष्टाचारको वा स्वार्थ अनुकूलका काम गर्ने भएको छ भने त्यसलाई पूरा निरुत्साहित बनाउनु पर्दछ । यो कुरामा सम्बन्धितको ध्यान जाओस् । स्वास्थ्य संस्थाहरुलाई प्रविधिमैंत्री बनाउनु पर्दछ ।’

मन्त्री गिरीले जनताप्रति उत्तरदायी भएर सेवा प्रवाहको काम गर्न पनि स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण गराउनु भयो । उहाँले स्वास्थ्य उपकरणहरुको दूरुपयोग नगर्न पनि मातहतका निकायले सचेत भएर काम गर्नुपर्ने बताउनु भयो ।

मन्त्री गिरीले विभागले महंगोमा उपकरण खरिद गर्ने तर जनताले त्यसबाट सेवा नपाउने अवस्था आईरहेकाले त्यस्तो अवस्था आउन नदिनेगरी काम गर्नु पर्ने पनि स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘यो विभाग जतिधेरै प्रभावकारी ढंगले काम गर्छ । आफ्नो अर्गान्सहरुलाई जसरी यसले म्यासिभ्ली जनताप्रति जवाफदेही, उत्तरदायी भएर जति काम गर्छ । त्यतिनै जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्छ । त्यसकारणले यो विभाग बढि जिम्मेवार भएर लाग्नका लागि पनि मैले यहाँहरुलाई अनुरोध गर्न चाहन्छु । तपाईहरुले धेरै काम गर्नु भएको छ । यो विभागसँग लामो अनुभव पनि छ । यहाँ सम्वद्ध साथीहरुले धेरै मेहनत पनि गर्नु भएको छ । स्वास्थ्य क्षेत्रमा हामीले धेरै उपलब्धिहरु पनि हासिल गरेका छाैँ । त्यसका लागि म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु । आज तपाईहरुको चर्चा गर्ने समय भने होइन । हामीले कमी भएका ठाउँमा गर्नुपर्ने कुरामा ध्यान नपुग्न पनि सक्छ । त्यसकारणले हाम्रा कमी कहाँ कहाँ छन अव ? के –के कुरालाई सुदृढ बनाएर लैजाने हो ? भन्ने तर्फ हामी सबैको ध्यान केन्द्रित हुनु पर्दछ । मैले यसमा ध्यानाकर्षण गराउन चाहन्छु । म बुझ्दैछु– अहिले धेरै कुरा नगरौं । जुनजुन महाशाखाको जिम्मेवारी साथीहरुले लिनु भएको छ । जुनजुन शाखाको जिम्मेवारी लिनु भएको छ । आफ्नो शाखा, महाशाखा भित्रका परिभाषित जिम्मेवारीहरु निपुनताका साथ पूरा गर्ने त्यो अठोट, त्यो इच्छाशक्ति तपाईहरुमा हुनु पर्दछ । त्यसो भयो भने सिंगो विभाग र सिंगो मन्त्रालयले आफ्नो उद्देश्यहरु, आफ्ना लक्ष्यहरु समयमै पूरा गर्न सक्छ । यो कलेक्टिभली प्रयासबाट मात्रै सम्भव हुन्छ । त्यसकारणले यहाँहरुले पनि आफ्नो जिम्मेवारी र दायित्वलाई बहुत बुझेर त्यो ढंगले काम जुटिदिनोस् । यहाँहरुसँग मेरा अनुरोध रहेको छ । अव केही सन्दर्भहरु सुन्ने गरेको हुन्छु–हामीले यहाँबाट धेरै किसिमका उपकरणहरु विभिन्न ठाउँमा पठाएका छौं । तलबाट माग भएर आएका पनि हुन्छन । त्यो अनुसार तपाईहरुले खरिद पनि गर्नु भएको हुन्छ । ती उपकरणहरु सम्बन्धित ठाउँमा प्रयोग भएको छ कि छैन ? कुन अवस्थामा छ ? कि त्यो डम्पिङ भएर बसेको छ । र, अनि बिरामी जति बाहिर गईरहेका छन ? व्यापक जनताको गुनासो छ । किन यस्तो हुन्छ ? नेपाली जनताले आफ्नो रगत र पसिनाबाट दिएको राजस्वबाट हामी यति महंगोमा सामग्रीहरु खरिद गर्छौ । तर त्यसको सही सदुपयोग हामीले गर्न सकेनौं भन्ने त्यो बहुतै दुःखको कुरा हुन्छ । यस्तो कही पनि नहोस् । देशभरी सबै अस्पतालहरुमा तपाईहरुले अत्यन्तै सुक्ष्म ढंगले हेर्नूस । ती प्रयोगमा छन कि छैनन ? छैनन भने किन छैनन ? त्यो सन्दर्भमा के गर्नुपर्ने हो ? तत्काल तपाईहरुले योजना बनाएर आफ्नो काम गर्नुहोला । भोली जनताको गुनासो आएर अन्य ढंगले ती विषयहरु बुझेर फेरी हामीले यहाँहरुलाई थप भन्नुपर्ने परिस्थिति नबनोस् । यसतर्फ अत्यन्तै सजग रहेर कामका लागि म सम्बन्धित सबै साथीहरुलाई म आग्रह पनि गर्न चाहन्छु ।’

मन्त्री गिरीले जनताको गुनासोलाई सम्बोधन हुनेगरी आवश्यक योजना बनाएर काम गरे आफूले त्यसमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

त्यसक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले आफू मातहतका निकायले सम्पादन गरेका कामबारे मन्त्री गिरीलाई जानकारी गराउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?