क्यान मेलासँगै सूचना प्रविधिसम्बन्धी सेमिनार हुने

Read Time = 3 mins

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघको आयोजनामा माघ २४ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने २८औँ संस्करणको क्यान इन्फोटेक २०२३ को अवसरमा सोसँग सम्बन्धित सेमिनार र अन्तरक्रिया पनि आयोजना हुने भएको छ । क्यान महासंघले कोड फर चेन्जसँगको सहकार्यमा सेमिनार गर्ने भएको हो । माघ २५ देखि माघ २८ गतेसम्म हरेक दिन फरक–फरक विषयमा सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया हुने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार २५ गते प्रविधि उद्योग र एकेडेमियाबीच हरेक दिन दुई घण्टासम्म हुने सेमिनारमा नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक तथा सेन्टर फर साइबर सेक्युरिटी एण्ड रिसर्च इनोभेसनकी उपाध्यक्ष रोजाकिरण वासुकला, स्मार्ट च्वाइस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू, टेक्सास कलेजका प्रिन्सिपल भेषराज पोखरेल, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक नवराज पौडेल, नेपाल सरकारका आइटी निर्देशक सुवास ढकाल र र कोड फर चेन्जका अध्यक्ष निराजन क्षेत्री वक्ताका रूपमा रहनुहुनेछ । कार्यक्रममा वर्तमान शिक्षा प्रणाली, आइटी बजारको माग र आवश्यकता, उद्योग र शिक्षण संस्थाबीच देखिएको दूरी, राज्यका नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ ।

कार्यक्रम संयोजक निराजन क्षेत्रीले भन्नुभयो, ‘विद्यार्थीलाई शिक्षण संस्थाले गर्ने अभ्यासमा के छुटिरहेको छ भन्ने कुरा स्पष्ट पार्न कार्यक्रम उपयोगी हुने देखिएको छ, त्यस्तै प्रविधि कम्पनीमा काम गर्न के-के कुरा आवश्यक पर्छ भन्ने कुरा विद्यार्थीलाई देखाउन पनि छलफलले सहयोग गर्नेछ ।’ सेमिनारमा एक सय ५० बढीको सहभागिता रहने क्यानले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?