देउवालाई अस्थिरताको कारक नबन्न ओलीको आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरताबाट जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको बताउनु भएको छ ।

आइतबार प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रलाई अस्थिरतामा धकेल्न नहुने बताउनु भयो ।

आफूहरु प्रतिपक्षमा बस्ने मानसिकतामा रहेका बेला सरकार गठनको समय घर्किन लाग्दासमेत सरकार नबन्ने देखिएपछि राष्ट्रलाई अस्थिरतामा जानबाट रोक्दै र राजनीतिक निकास निकाल्दै प्रचण्ड नेतृत्वमा सरकार बनाएको उहाँको भनाइ छ ।

कांग्रेसको भूमिकाप्रति प्रश्न उठाउँदै उहाँले संसदमा कांग्रेसले खेलेको भूमिका बुझिनसक्नु रहेको बताउनु भयो ।

उहाँले कांग्रेसलाई जिम्मेवार प्रतिपक्ष भएर बस्न नसकेको बरु सत्तामा खेल्न थालेको बताउनु भयो । कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको उहाँले टिप्पणी गर्नु भयो । ओलीले कांग्रेसका केही नेताले हाक्काहाक्की रुपमा ढोक्सा थापेको भन्दै बताउने गरेको बताउनु भयो ।

नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । कांग्रेसका नेताहरूले सरकार नरहँदा विग्रह ल्याएर अल्पकालीन लाभ लिने गरेको आरोप लगाउनु भयो । 'सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ ।’ उहाँले भन्नुभयो ।

उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई अस्थिरताको कारक नबन्न आग्रह समेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?