उपप्रधानमन्त्री पौडेल र युएसएआईडी प्रमुख सामन्थाबीच शिष्टाचार भेट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गर्नुभएको हो । भेटका क्रममा उहाँले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध बिस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिनुभएको छ ।

उहाँले यसअघि मंगलवार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गर्नुभएको थियो । दुई दिने नेपाल भ्रमणमा मंगलवार काठमाडौं आइपुग्नुभएकी उहाँ आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर आज नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

स्वदेश फर्किनुअघि आज साँझ ५ बजे उहाँले पत्रकार सम्मेलन गर्नुहुनेछ । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आउनुभएको थियो ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहनुभएकी उहाँ अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी समेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?