नेकपाद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

महँगी र चर्को ब्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले महँगी र चर्को ब्याजदरविरुद्ध फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको हो । हालै कपिलवस्तुमा सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संघर्षका कार्यक्रमबारे जानकारी दिएको हो । पार्टीले आगामी दिनमा दुई क्षेत्रमा संघर्ष गर्ने निर्णय लिएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो राष्ट्रिय स्वाधीनता र दोस्रो जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका विषयमा देशव्यापी संघर्ष गर्ने भएको हो ।

लघुवित्त, बैंकहरू र सहकारीको ब्याजदर एक अंकभित्र झार्नुपर्ने नेकपाको माग छ । यसका लागि फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याज र लघुवित्तविरुद्ध र फागुन १५ गते चर्को महँगीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने उहाँले जानकारी दिनुभयो । राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्ने बताउँदै देशव्यापी विरोध प्रदर्शन गर्ने उहाँले बताउनुभयो । ‘राष्ट्रिय स्वाधीनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरिएको छ,’ प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘पार्टीले एमसिसी, एनसेल, एसपिपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणविरुद्ध संघर्ष गर्नेछ ।’ त्यस्तै, तत्कालीन सरकारसँग भएको तीन बुँदे सहमति पूर्ण कार्यान्वयन नभएको भन्दै यसविरुद्ध पनि संघर्ष गर्ने नेकपाले जनाएको छ । ४० जना नेता तथा कार्यकर्ता विभिन्न जेलमा रहेको उहाँले जानकारी दिनुभयो । राज्यले सहमति गरेअनुसार अविलम्ब बन्दीहरू मुक्त गर्न र मुद्दाहरू खारेज गर्न उहाँले माग गर्नुभयो ।

नेकपाले जनआधारित पार्टी र जनआधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरेको छ भने आर्थिक क्षेत्रमा महाधिवेशनले संश्लेषण गरेको एकीकृत स्वामित्व प्रणालीमा आधारित भएर आत्मनिर्भर उत्पादन र राष्ट्रिय उद्योगी व्यवसायीहरूसँगको सहकार्यलाई लागू गर्ने निर्णय गरेको छ । नेकपाले कम्युनिष्ट आन्दोलनका र नेपाली क्रान्तिका दिवस, शहीद तथा बेपत्ता दिवसहरू भव्य रूपले मनाउने जनाएको छ । बैठकले विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार क्रान्तिकारी कम्युनिष्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि एकता अभियान अघि बढाउन लागिएको उहाँले बताउनुभयोे । अहिले विश्वमा नै पुँजीवादी राजनीति असफल भइसकेको अवस्थामा वैज्ञानिक समाजवादको आवश्यकता महसुस हुँदै गएको उहाँको भनाइ छ ।

नेपालको अर्थतन्त्र मुठीभरका मानिसको हातमा जाँदै छ : विप्लव
महासचिव चन्दले विदेशीहरूको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गर्नुभएको छ । विदेशीहरूको निर्देशनमा नेपालको अर्थतन्त्र निर्माण हुने गरेको दाबी गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्र मुठीभरका मानिसको हातमा गइरहेको बताउनुभयो । देशभित्रै केही गर्छु भन्ने मध्यमवर्गीय उद्योग व्यवसायीहरू आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको उहाँको भनाइ छ । थोरै मानिसहरूले अर्थतन्त्र अधीनमा राखेर अधिकांश जनतालाई गरिबीतिर धकेल्ने विप्रेषण बढेको उहाँले बताउनुभयो । ‘नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जाँदै छ । बैंकहरूमा जम्मा दुई/तीन सय परिवारको स्वामित्व रहेको छ,’ उहाँले भन्नुभयो, ‘दुई सय परिवारको हातमा नेपालको आधा सम्पत्ति केन्द्रित हुँदै छ । ९० प्रतिशत जनता गरिबीको मारमा धकेलिरहेका छन् । लाखौँलाख युवाशक्ति विदेश लखेटिने वा पलायन हुने बेचिने अवस्थातिर गइरहेको छ । यो आर्थिक संकट मात्रै होइन, राजनीतिक संकट कारण पनि हो ।’

महासचिव चन्दले आफ्नो पार्टीले देशको जिम्मा लिने गरी अघि बढ्ने बताउनुभयो । महासचिव चन्दले नेकपा माओवादीले लडेर ल्याएको जनयुद्धको फल कांग्रेसले कुुर्सीमा उपरखुट्टी लगाएर खाइरहेको टिप्पणी गर्नुभयो । ‘व्यवस्थाविरुद्ध हामी लड्यौँ । जनयुद्धको फल कांग्रेसले उपरखुट्टी लगाएर खाइरहेको छ,’ उहाँले भन्नुभयो, ‘जेलमा रहेको कांग्रेसलाई हामीले सडकमा ल्याएको होइन ? माधव नेपाल र केपी ओलीहरू त्यतिबेला दुलाभित्र बसेका थिए ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?