आगलागी पीडितलाई चन्दननाथ नगरपालिकाद्वारा आर्थिक सहयोग

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । नगरपालिका बिपत शाखा प्रमुख लक्ष्मी चन्द्र न्यौपानेका अनुसार चन्दननाथ-१ ठिन्केका आगलागी पीडित लोगबहादुर भण्डारीलाई रु एक लाख पचाँस हजार राहत वितरण गरिएको छ ।

सोमबार राति आगलागीबाट उनकी १६ वर्षकी छोरी वन्दना भण्डारीको मृत्यु हुनुका साथै ३ तले घर समेत जलेर नष्ट भएको थियो । भण्डारीको घरमा अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र धनमाल नष्ट भएर बेसहारा बनेका ५ जना घरपरिवारलाई जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्य र कार्यवाहक नगर प्रमुख नवराज देवकोटाले राहत प्रदान गर्नुभएको नगरपालिका बिपत शाखाका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

नगरपालिकाले पीडित लोगबहादुर भण्डारीलाई रु १ लाख ५० हजार रुपैयाँको चेक उपलब्ध गराएको हो । त्यसका साथै केही भाडाकुडा र लता कपडा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । जिल्ला रेडक्रस सोसाईटीबाट भाडाकुडा तथा भकारी परियोजनाले गैरखाद्य सामग्री उपलब्ध गराएको छ । नगरपालिकाको निति अनुसार बिपतमा ज्यान गुमाएका व्यक्तिलाई रु एक लाख र घर जलेर नष्ट भएकालाई रु पचाँस हजार उपलब्ध गराउने निति अनुसार उपलब्ध गराईएको विपत शाखा प्रमुख न्यौपानेको भनाइ छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालयमा वसेको वैठकले पिडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन पहल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताउनुभयो । बिपतमा ज्यान गुमाएको परिवारलाई कागजात मिलेमा नेपाल सरकारबाट रु ४ लाख र कर्णाली प्रदेशले वीमा मार्फत रु २ लाख राहत प्राप्त हुने भएकाले पीडीतले समयमै पहल गर्न अनुरोध गरेको प्रशासनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?