बाँकेमा घरजग्गा रजिष्ट्रेसन शुल्क सुधारोन्मुख

हिमालय टाइम्स
Read Time = 4 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेमा घरजग्गा रजिष्ट्रेसन शुल्क सुधारोन्मुख अवस्थामा रहेको छ । गत आर्थिक वर्षहरूमा भन्दा चालु आर्थिक वर्ष २०७९/२०८० को पुस मसान्तसम्म उल्लेख्य मात्रामा रजिष्ट्रेसन शुल्क उठेको जनाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म अर्थात् पुस मसान्तसम्म १९ करोड ५२ लाख आठ हजार रजिष्ट्रेसन शुल्क उठेको छ ।

यो गत वर्षको वार्षिक असुलीको तुलनमा निकै कम हो । तरपनि मंसिरबाट फेरि जग्गाको कारोबार उकालो लागेको मालपोतको तथ्यांकले देखाएको छ । मंसिर महिनाअघि दुई करोड बढीमात्रै असुली भइरहेकोमा त्यसपछि पुनः रजिष्ट्रेसन शुल्क वृद्धि हुन थालेको मालपोतको लेखा शाखाले जनाएको छ ।

यस वर्ष सुरुका केही महिनामा कित्ताकाँट रोकिनुका साथै चुनाव लगायतका कारणले जग्गा कारोबार प्रभावित भएको बताइएको छ । यसका साथै स्थानीय तहले जमिनलाई कृषि र गैरकृषिमा वर्गीकरण गर्ने बेलामा बैंकहरूले घरजग्गामा लगानी गर्न नमानेपछि पनि कारोबार कम भएको व्यवसायीहरू बताउँछन् ।

टक्सार रियल स्टेट तथा बाँके बर्दिया घरजग्गा व्यवसायी समितिका अध्यक्ष ईश्वर पोखरेलले कोरोनापछि ओरालो झरेको घरजग्गाको कारोबार फेरि उकालो लाग्न थालेको बताउनुभयो । उहाँले अहिले पनि घरजग्गा कारोबार मन्दीबाट बाहिर आइनसकेको भए पनि उकालो लाग्ने क्रममा रहेको बताउनु भएको छ ।

उहाँले टक्सारले विभिन्न प्याकेजहरू बनाएर मन्दीको अवस्थामा पनि राम्रो कारोबार गरेको उल्लेख उल्लेख गर्नुभयो । पछिल्लो समय बैंक मर्जरपछि निश्चित कर्जाको निश्चित कोटा छुट्याउन थालेपछि कारोबार थप सुधार हुने अवस्थामा रहेको उहाँको भनाइ छ ।

बाँकेमा आर्थिक वर्ष २०७५/७६ मा ४४ करोड ८९ लाख ७० हजार ६९ रुपैयाँ रजिष्ट्रेसन शुल्क उठेको थियो । उक्त शुल्क असुली घटेर २०७६/७७ सालमा ३४ करोड एक लाख आठ हजार ३८५ रुपैयाँमा पुग्यो । सबैभन्दा खराब हालत २०७७/७८ मा रह्यो । उक्त वर्ष रजिष्ट्रेसन शुल्क अघिल्लो वर्षभन्दा झन्डै चार भाग घटेर मात्र आठ करोड ३९ हजारमा सीमित भयो । गत आर्थिक वर्षमा यो शुल्क बढेर ७६ करोड ८५ लाख चार हजारमा चढेको छ । रजिष्ट्रेसन शुल्कले जग्गाको कारोबारलाई इंगित गर्ने गर्दछ । रजिष्ट्रेसन शुल्क असुलीको प्रगतिले देखाउँछ । कोरोनाका कारण घरजग्गा कारोबार खुम्चिएकोमा गत वर्षबाट केही तंग्रिन थालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?