माघमै फुल्यो लालिगुँरास : अझै परेन पानी किसानहरु चिन्तित

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीका लेकाली जंगलहरुमा माघमै राताम्यै भएर लालीगुराँस फुलेको छ । फागुन चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको भकिम्लीका मनबहादुर पुनले बताउनु भयो ।

डिभिजन वन कार्यालय म्याग्दीले तापक्रम वृद्धि भएसँगै चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको जनाएको छ । लालीगुँरास राष्ट्रिय फूल भए पनि संरक्षणको अभावमा मासिदै गएको बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनु भयो । सम्बन्धित निकायले यसको उपयोगिता र महत्वका बारेमा जानकारी दिने र संरक्षणका लागि ठोस कार्ययोजना नबनाउँदा गुराँस लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि ५ हजार ६ सय मिटरको उचाइसम्ममा गुराँस पाइन्छ । म्याग्दीको वन क्षेत्रमा पर्ने समुन्द्र सतहको दुई हजारदेखि ५ हजार उच्चाइसम्म पर्ने वन क्षेत्रमा विभिन्न प्रजातिका लालीगुराँस पाइने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
रातो गाडा रंग भएको,सेतो अनि हल्का गुलाबी रंग देखिने गुराँस कालिकोटका वनहरूमा पाइने गरेको छ । पहिले नौ प्रकारका लागि गुराँस पाइन्थ्यो तर हाल त्यो गुराँस हराउँदै गएको छ । अहिले ग्रामीण क्षेत्रको वनमा लालीगुराँसले ढकमक्क बन्ने गरेका छन् ।

अझै भएन हिउँदै वर्षा, उच्च लेकाली क्षेत्रमा परेन हिउँ

माघ अन्तिम हुँनै लाग्दा पनि यस वर्ष समयमै हिउँ र पानी परेको छैन । हिउँदे वर्षा नहुँदा किसान चिन्तित छन् ।

विगतका वर्षमा मङ्सिर तेस्रो सातादेखि नै हिउँ पर्ने म्याग्दीका उच्च पहाडी क्षेत्र र मुस्ताङमा यस वर्ष माघ लागिसक्दा पनि हिउँ नपर्दा बालीनाली सुक्न थालेका छन् भने हिमालहरू कालो पत्थरमा परिणत हुँदै गएका छन् ।

यस वर्ष हिउँदमा पानी नपरेपछि किसानले लगाएको हिउँदे खेती सिंचाइको अभावमा खेत वारीमा नै सुक्दै गएको म्याग्दीका अगुवा किसान शोभित शर्माले बताउनु भयो ।

विगतमा यतिबेला उच्च लेकाली क्षेत्रका खेतबारी र डाँडापाखा हिउँले ढाकिन्थे । तर यसवर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी सुक्खा भएको धवलागिरि गाउँपालिका १ गुर्जाका छकबहादुर छन्त्यालले बताउनु भयो ।

म्याग्दी जिल्लाको माथिल्लो क्षेत्रमा गएको वर्ष पुस लाग्न नपाई हिउँ परेको थियो । यस वर्ष माघमा समेत हिउँ नपर्दा आलु, उवा, गहुँ जस्ता बाली बारीमै सुक्न थालेको किसानहरू बताउँछन् ।

पानी र हिउँ नपर्दा बारी सुक्खा बन्दै गएको छ भने लगाइएका बाली सुक्दै मालिका गाउँपालिका ५ देविस्थानका टेकबहादुर बूढाले बताउनु भयो । समयमा हिउँ र पानी नपरे पनि यो वर्ष गतवर्ष भन्दा धेरै चिसो महसूस भएको उच्च लेकाली क्षेत्रका वासिन्दाहरुको भनाइरहेको छ ।
हिउँ पर्ने समयमा हिउँ नपरेको र जलवायुको तापक्रम समेत बढ्दै गएकाले यहाँका बासिन्दा चिन्तित छन् । वनजंगलको तीव्र फँडानी, विभिन्न हानिकारक ग्यासको उत्सर्जन लगायत कारण जलवायुमा परेको असरले वातावरणमा यस्तो परिवर्तन देखापरेको वातावरणविद् चन्द्रमणि सापकोटाले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?