हिउँदे फलफूलका ६५ हजार बढी बिरुवा उत्पादन

जिल्लाबाहिरको समेत माग धान्दै सुक्खा फलफूल विकास केन्द्र सतबाँज

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । सुक्खा फलफूल विकास केन्द्र सतबाँज बैतडीले हिउँदे फलफूलका बिरुवाहरू उत्पादन गरी जिल्लाबाहिर निर्यात गर्ने गरेको छ । ओखर, स्याउ, नासपती, आरु, कागती, बदामलगायतका हिउँदे फलफूलका बिरुवाहरू आफ्नै नर्सरीबाट उत्पादन गरी जिल्लाबाहिर निर्यात गर्दै आएको हो । जिल्लाको मागलाई पूर्ति गर्दै बाहिरसमेत निर्यात गर्दै आएको छ । जिल्लाका स्थानीय तहहरूसँग समन्वय गरी किसानहरूलाई उपलब्ध गराउँदै आएको छ ।

हिउँदे फलफूलका बिरुवा सुदूरपश्चिमका सात पहाडी जिल्लासँगै काठमाडौंसम्म निर्यात भइरहेको सुक्खा फलफूल विकास केन्द्र सतबाँज बैतडीका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिनुभयो । यो वर्ष हिउँदे फलफूलका ६५ हजार ५२४ बिरुवा उत्पादन गरेको र त्यसमध्ये १६ हजार हिउँदे फलफूलका बिरुवा बिक्री भइसकेको उहाँले बताउनुभयो । ‘१६ हजार बिरुवाहरू बिक्री भइसकेका छन्, बाँकी बिरुवाहरूका लागि अर्डर आइसकेको छ,’ उहाँले भन्नुभयो, ‘यो वर्ष त उत्पादन भएका सबै बिरुवाहरू बिक्री हुन्छन् ।’

जलवायु परिवर्तनका कारण स्याउको उत्पादन हुन छाडेपछि सुक्खा फलफूल विकास केन्द्रले चार हेक्टर क्षेत्रफलमा हिउँदे तथा बर्खे फलफूलका बिरुवाहरू उत्पादन गर्दै आएको छ । बाँकी रहेको ठाउँमा फलफूल बगैंचा स्थापना गरिएको खड्काले जानकारी दिनुभयो । फलफूल बगैंचाभित्र अन्तरबाली खेतीअन्तर्गत विभिन्न तरकारी पनि उत्पादन गरिरहेको सुक्खा फलफूल विकास केन्द सतबाँज बैतडीले जनाएको छ ।

सुक्खा फलफूल विकास केन्द्रका अनुसार यो वर्ष दाँते ओखर (विजु ) का ३७ हजार ८८२, कलमी ओखरका दुई हजार ४४४, स्याउ तीन हजार ४९०, आरु चार हजार ४७६ बिरुवा उत्पादन गरेको हो । यस्तै, नासपती चार हजार ३७६, आरुबखडा पाँच हजार ३३७, खुरपानी चार हजार ४८४, कागजी बदाम एक हजार ७३०, कटुस २००, हिजलवट एक हजार बिरुवा गरी ६५ हजार ५२४, होचो जातको स्याउका १०५ बिरुवा उत्पादन गरेको जनाइएको छ । आगामी वर्ष ५० हजार बिरुवा उत्पादन गर्ने सुक्खा फलफूल विकास केन्द्र सतबाँज बैतडीले जनाएको छ ।

गत वर्ष उत्पादनअनुसारका सबै बिरुवाहरू बिक्री नहुँदा राजस्व संकलनमा पनि कमी आएको थियो । गत वर्ष उत्पादन गरिएका बिरुवामध्ये २४ हजार बिरुवा बिक्री नहुँदा राजस्व संकलनमा पनि कमी आएको सुक्खा फलफूल विकास केन्द्र बैतडीका प्रमुख डम्बर भाटले बताउनुभयो । गत वर्ष २४ हजार बिरुवा बिक्री नहुँदा राजस्व संकलनमा कमी आएको हो । यसपालि केही बिरुवा बिक्री भइसकेका छन् । बाँकीको पनि अर्डर आएको हुनाले राजस्व संकलनमा पनि वृद्धि हुने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?