सहिद परिवारलाई जीवन निर्वाह भत्ता

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले सहिद परिवारलाई जीवन निर्वाह भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको आउन महिनादेखि जीवन निर्वाह भत्ता दिने निर्णय गरेको हो । आगामी फागुन १ गते सहिद दिवसका दिन पहिलो चरणको भत्ता दिने गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिनुभयो ।

उहाँले साउनदेखि नै भत्ता दिने व्यवस्था लागु भएको बताउनुभयो । गाउँपालिकाले सुरुवाति चरणमा मासिक एक हजारका दरले भत्ता दिने व्यवस्था गरेको भन्दै अध्यक्ष विकले यसलाई बिस्तारै बढाउँदै जाने बताउनुहुन्छ ।

“एक हजार रुपैयाँ थोरै हो, सहिदको सम्झना र परिवारलाई सम्मान सधैँ छ नै,” अध्यक्ष विकले भन्नुभयो- “भत्ता दिने निर्णय साउनमै भएको हो, तर अहिलेसम्म वितरण गर्न सकेका थिएनौँ, सहिद दिवसका दिन अहिलेसम्मको एकमुष्ठ रुपमा दिन्छौँ ।”

ताराखोला गाउँपालिकामा २७ जना सहिद परिवार रहेका छन् । गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदासमेत दिने भएको छ । गाउँकार्यपालिकाको बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माओवादीको १० वर्षे जनयुद्ध सुरु भएको दिनको सम्झनामा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय भएको अध्यक्ष विकले जानकारी दिनुभयो । जनयुद्ध दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएको उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?