दुवै म्यानचेस्टरको जित

Read Time = 2 mins

लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले जित हात पारेका छन् । युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडमाथि २-० को जित हात पार्‍यो ।

८०औँ मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई १-० को अग्रता दिलाउनुभयो । ८५औँ मिनेटमा परिवर्तित खेलाडी एलेहान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाउनुभयो ।

यस जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ४६ अंक पुगेको छ । युनाइटेड एक खेल कम खेलेको म्यानचेस्टर सिटीसँग दुई अंकले तथा दुई खेल कम खेलेको आर्सनलसँग पाँच अंकले पछि छ । पराजित लिड्स २२ खेलबाट १९ अंक जोडेर १७औँ स्थानमा छ ।

यता, म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि ३-१ को जित हात पारेको छ । सिटीको सहज जितमा रोड्री, इल्केए गुन्डोगान र रियाद महारेजले गोल गर्नुभयो । खेलको चौथो मिनेटमा रोड्रीले सिटीलाई अग्रता दिलाउनुभयो । ३९औँ मिनेटमा गुन्डोगानले एर्लिङ ब्राउट हालाण्डको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पार्नुभयो ।

इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा रियाद महारेजले पेनाल्टीमार्फत् तेस्रो गोल गर्नुभएको थियो । ६१औँ मिनेटमा ओली वाटकिन्सले गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याउनुभयो ।

यस जितसँगै दोस्रो स्थानमा रहेको सिटीको २२ खेलबाट ४८ अंक पुगेको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५१ अंक छ । पराजित भिल्ला २८ अंक जोडेर ११औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?