तातोपानी कुण्डमा बिरामीको भिड

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । प्राकृतिक चिकित्सालयको नामले चर्चित उत्तरी म्याग्दीको कालीगण्डकी नदी किनारमा रहेको पाउद्वार तातोपानी कुण्डमा पनि डुबेर उपचार गर्ने बिरामीहरूको भिड लाग्न थालेको छ । कालीगण्डकी नदी किनारमा रहेको सो तातोपानी कुण्डलाई बिरामी मैत्री बनाएपछि अहिले दैनिक सयौँ बिरामीहरू डुबेर उपचार लिनका लागि तातोपानी कुण्डमा आउने गरेका छन् ।

रघुगंगा गाउँपालिका-४, दग्नामकी ८० वर्षीया गौमती पाइजाको शरीर कमजोर भएपछि विगत एकसातादेखि कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा स्नान गरिरहनु भएको छ । पर्वतका रनबहादुर तिलिजा पनि कुण्डमा स्नान गरेपछि रोग निको हुने थाहा पाएपछि अहिले कुण्डमा पुग्नुभएको छ । पछिल्लो समय कुण्ड व्यवस्थित भएपछि स्नान गर्न आउने बिरामीको संख्या ह्वात्तै बढेको कुण्ड व्यवस्थापक कुमार तिलिजाले बताउनुभयो ।

‘दैनिक डेढ सय बिरामी आउँछन्, ‘विदेशबाट बिदामा आएकाले समेत लामो समय स्नान गरेर फर्किने गरेका छन्’ तिलिजाले भन्नुभयो । उहाँका अनुसार म्याग्दीका विभिन्न स्थानका साथै छिमेकी बागलुङ, पर्वत, पोखरालगायत विभिन्न जिल्लाबाट आउने सबै बिरामीलाई कुण्ड आसपासका क्षेत्रमा बस्न समस्या भएपछि भुरुङ तातोपानीमा रहेका होटलमा बस्ने गरेका छन् । कुण्ड सञ्चालकले गाउँपालिकालाई एकवर्षको १२ लाख बुझाउने गरी कुण्ड व्यवस्थापकको जिम्मा लिएको छ ।

बेनी-जोमसोम सडकखण्डअन्तर्गत पर्ने भएकाले पछिल्लो समय मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय धार्मिक पर्यटकले समेत स्नान गर्न थालेको उहाँले बताउनुभयो । कुण्डमा दिनभर डुबेको ५० रुपैयाँ तोकिएका छ । तीनवटा पोखरीमा बिरामीलाई सहज नुहाउन मिल्ने अन्नपूर्ण गाउँपालिका-३ का पूर्व-वडाध्यक्ष नरसिंह पुर्जाले बताउनुभयो ।

‘ढाडको समस्या थियो डुबेपछि निको भएको महसुस गरेको छु, ‘धेरै बिरामी उपचारपछि खुसी हुँदै फर्किएका छन्’ पुर्जाले भन्नुभयोे । कुण्डमा नुहाउने धारा, पुरुष र महिला स्नान गृह र शौचालयसमेत रहेको छ । कुण्डनजिकै पाखाभरी सेताम्मे नुन रहेको र जिल्लाका अन्य कुण्डको तुलनामा स्वादसमेत फरक रहेकाले उच्च रक्तचापका बिरामीले समेत स्नान गरेको पर्वत सालिजाका हर्कबहादुर पुनले बताउनुभयो । ‘प्रेसरको बिरामी भए पनि यहाँ स्नान गर्दा मलाई केही असर गरे पनि तौल पनि घट्यो, अर्कोपटक फेरि आउँछु’ उहाँले भन्नुभयो ।

ठूला तथा महँगो अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएपछि आजित भएर बर्सेनि १० हजारभन्दा बढी बिरामी स्नानका लागि आउने गरेका छन् । मुहानबाटै ५५ देखि ६७ डिग्री सेल्सियसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ ।

विगतमा विभिन्न निकायबाट नुनको मात्रा प्रशस्तै रहेको स्थानबाट निस्किने तातोपानीको गन्धक आफैँमा एक प्राकृतिक एन्टिबायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुनेसमेत बताइएको छ । कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुःख्ने, छाला, सुन्निएको, बजारिएको, मर्किएको, पेट दुःख्ने, खाना रुचि नहुने लगायतका स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । तातोपानी कुण्डमा वार्षिक ३० हजारभन्दा बढी बिरामीले स्नान गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?